सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेस महाधिवेशन नभए गगन र विश्वप्रकाश प्रतिनिधिसभा निर्वाचन नलड्ने

शुक्रबार, ०५ मङ्सिर २०८२, १४ : ४५
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनअघि पार्टीको १५औँ महाधिवेशन हुनुपर्ने बताएका छन्।
  • निर्वाचनअघि महाधिवेशन नभए निर्वाचन नलड्ने महामन्त्रीद्वयको भनाइ छ।
  • संस्थापन समूहका २५ केन्द्रीय सदस्यसँगको भेटमा महामन्त्रीद्वयले यस्तो बताएका हुन्।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले फागुन २१ गतेका लागि तोकेको प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन नभए निर्वाचन नलड्ने बताएका छन् ।

शुक्रबार बिहान संस्थापन समूहका २५ केन्द्रीय सदस्यहरूसँगको भेटमा महामन्त्रीद्वय थापा र शर्माले निर्वाचन अगाडि महाधिवेशन आफूहरूको बटमलाइन भएको बताएका हुन् ।

भेटमा सहभागी केन्द्रीय सदस्य आङगेलु शेर्पाले निर्वाचन अगाडि महाधिवेशन नभए गगन र विश्वप्रकाशले निर्वाचनमा आफूहरू उम्मेदवार नहुने बताएको जानकारी दिए । ‘हाम्रो मुख्य ध्यय नयाँ कांग्रेस बनाएर निर्वाचनमा जाने भन्ने हो । महाधिवेशनबिना नयाँ कांग्रेस बन्न सक्दैन,’ भेटमा महामन्त्रीद्वयको भनाइ उद्धृत गर्दै शेर्पाले रातोपाटीसँग भने, ‘महाधिवेशन नभई निर्वाचनमा जाने अवस्था भयो भने हामी निर्वाचनमा उम्मेदवार बन्दैनौँ ।’

संस्थापन समूहका २५ सदस्यले केही दिन अघि पार्टी केन्द्रीय कार्यालयमा ७ बुँदे माग दर्ता गराएका थिए । ती माग पूरा गर्न दबाब दिन पार्टी सभापतिदेखि पदाधिकारीसम्मलाई भेटिरहेका उनीहरूले बिहान महामन्त्रीद्वय थापा र शर्मालाई भेटेका थिए ।

बिहीबार सभापति शेरबहादुर देउवा र आज बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेका उनीहरूले त्यसपछि थापा र शर्मालाई भेटेका थिए ।

२५ केन्द्रीय सदस्यको माग पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया मंसिरमा सुरु गर्ने र सकभर पुसको मसान्तसम्म महाधिवेशन गर्ने छ । त्यो मागमा आफूहरू सकारात्मक रहेको महामन्त्रीहरूले बताएको शेर्पाले जानकारी दिए ।

कांग्रेसमा महाधिवेशन निर्वाचन अगाडि गर्ने कि पछाडि भन्ने विवाद छ । त्यही विवादले गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठक अनिर्णीत बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप