शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

सुष्मा रानाहँमाका तीन कविता

शनिबार, ०६ मङ्सिर २०८२, १४ : ००
शनिबार, ०६ मङ्सिर २०८२

खोटाङमा जन्मिएकी कवि सुष्मा रानाहँमा लामो समयदेखि दक्षिण कोरियामा कार्यरत छिन् । उनी मुख्यगरी उत्पीडित समुदाय, क्षेत्र र वर्गका पक्षमा कलम चलाउँछिन् भने वैदेशिक रोजगारी र महिला मुक्तिका आवाज पनि उनको लेखनमा उतिकै प्रखर छ । यसअघि रानाहँमाको ‘आमाको तासफोटो’ कविता सङ्ग्रह प्रकाशित छ ।

त्यसैगरी सुष्मा र उनका साथीहरूको समूहले दक्षिण कोरियाबाटै ‘इतर अभियान’ नामक साहित्यिक आन्दोलनसमेत हाँकिरहेका छन् भने ‘इतर कविता’ नामक संयुक्त सङ्ग्रह पनि उनीहरूले प्रकाशन गरेका छन् । दक्षिण कोरियामा रहेका कविहरूको संयुक्त कविता सङ्ग्रह ‘मेसिनको सहर’ पनि प्रकाशित छ । 

कोरियन भाषामा समेत अनुवाद भई प्रकाशित यो कृतिले दक्षिण कोरियामा ‘बेस्ट सेलर’को रेकर्ड बनाएको थियो । संग्रहको प्रकाशनपश्चात त्यहाँ रोजगारीमा रहेका नेपाली लेखकहरूलाई हेर्ने दृष्टिकोण नै बदलिएको थियो ।

१) बिरामी गणतन्त्र

एकातिर सुशासन अलमल्ल छ 

अर्कोतिर लोकतन्त्र पेवा छ 

बागमतीमा तैरिरहेछन् भ्रष्टाचारीहरू

कमरेड ! 

गणतन्त्र बिरामी छ ।

 

उनीहरू भन्छन्–

जनतासँग रेमिटेन्स साटिरहूँ

किसानलाई यसैगरी मारिरहूँ

पालैपालो कुर्सी ताकिरहूँ 

र सहिदहरूलाई अझै ढाँटिरहूँ 

कमरेड ! 

गणतन्त्र बिरामी छ ।

 

२) परदेशी पसिनाको नक्सा

बगाउँछन् पसिना परदेशको आकाशमुनि 

मालिकको सपना फुलाउँछन् 

ती मिश्रित पसिनाका सुगन्धहरू 

आफैँमा विभेदकारी हुँदै होइनन्  

हुन् त नियम मजबुरी ।

 

लाग्छ–दक्षिण कोरियाका गल्लीहरूमा

मजदुरहरूले हतारै हतारमा सास फेर्छन् 

तर, हराइरहेछन् वास्तविक नाम

कसैले खेतबारीमा माटो सम्हाल्दै छन्

कसैले फलामसँग हात चलाउँदै छन् 

अफसोस ! 

कहिलेकाहीँ प्रहरीको साइरनसँग 

काँपिरहेछन्, उनीहरूको हृदय ।

 

कानुन भन्छ– ‘अवैध’

फेरि उनीहरूको जीवनले भन्छ– ‘मजबुर’

सकिएको भिसा हो, सपना होइन  

बाँकी छ, उनीहरूका धेरै–धेरै जिम्मेवारीका चाङहरू

या सपनाका रङहरू 

बाँकी छ, बेहिसाब जिन्दगीको हिसाब ।

 

आवश्यक ठानिँदैन यहाँ–

विकास, निर्यात, कानुन र विदेशी श्रमिकका श्रम सन्तुलन मिल्न

बाध्यताको जन्जिरले बाँधिएका मजदुरलाई 

अपराधी झैँ हतकडी लगाउँछन्, उनीहरू

बल्की देशका असफल अवसरहरूको जीवित प्रमाण हुन्

कोरियाको हजारौँ कारखानाभित्र पसिनाको सुगन्ध छ

त्यो सुगन्धमा कुनै जात छैन, कुनै पासपोर्ट छैन

तर, शासकले त्यो सुगन्धलाई पनि कागजमा बाँध्न खोज्छ–

‘अवैध’, ‘अनधिकृत’ अथवा ‘विदेशी’ भनेर 

शब्दहरू कानुनी छन्

तर, आँसुहरू अन्तर्राष्ट्रिय हुँदैनन् ।

 

सोच्दछु–

‘कहिले सरकारले श्रमिकका हातहरू पढ्छन् होला ?

त्यो रेखाहरूमा घर फर्कने बाटो लेखिएको हुन्छ 

त्यही हातमा देशको आर्थिक नक्सा कोरिएको हुन्छ ।’

हाम्रा मान्छेहरू अझै पनि ‘नागरिक’ होइनन्

‘वर्क परमिट’ का नम्बर बनेर बाँचिरहेछन्

कहिले काहीँ परदेशको रातमा

मौन श्रमिकहरू सुत्नुअघि सास फेर्छन्–

‘हामी पैसाको पछि होइन

घर फर्कने अधिकारको पछि दौडिरहेछौँ ।’

 

त्यो वाक्य कानुनी पुस्तकमा छैन

तर, मानवीय इतिहासमा अमिट छ ।

 

परदेशीहरू अपराधी होइनन्

उनीहरू त बाँच्ने कला सिकेका कविहरू हुन्

जो पसिनाले कविता लेख्छन्

र आँसुले हस्ताक्षर गर्छन् ।

 

३) अविराम संयोग

अम्बलको तलतल जस्तो

आफैँमा केही छुटे जस्तो

घरी–घरी सास फेर्न भुले जस्तो

गुडिरहेको बसको स्डेरिङमा 

जीवनको परिभाषा घुमिरहे जस्तो

शरदमा ताङ्फुङ१का रंगीन पातहरू नाचिरहे जस्तो 

या फत्कोथ२को जवानी मस्त फक्रिए जस्तो

कसैको याद

खै कस्तो ? 

 

हरेक पटकको भेटपछि

छुटिनुअघि गर्छु, झुटो वादा 

‘उप्रान्त नभेटौँ’ भनेर

उसैगरी ‘हुन्छ’ भनिदिन्छ उसले

तर, मनमा चल्छ हिउँदको सुख्खा बतास !

 

दियोको नजिक रहेको नौनी झैँ

उसका हरेक शब्दहरूले पग्लिने म

कसरी बेखबर रहनु सक्छु र ?

उन्माद थपिदिएर बोतल रित्तिए जसरी

हाम्रा माया कहिल्यै रित्तिँदैन

र पो झन्–झन् घटिरहेछ प्रेमको दूरी ।

 

पिरतीको बायुपंखी घोडामा 

सँगै उड्न मन लागेको बताउन नसके पनि 

ओठबाट निस्किने धुवाँ आकार लिएर 

छिनमै कता उडिजान्छ ?

यस्तो लाग्छ–

उ पनि यसैगरी बेपत्ता भयो भने ?

 

अलिखित छन् 

नमेटिने सम्झनाका दस्ताबेजहरू

अदृश्य छन् 

नबिर्सिने क्षणहरूको साक्षी यो घायल हृदयभित्र

घरी लाग्छ–

संसारलाई प्रवाह नगरी टिपिदिऊँ 

कपासका फूलजस्तै बादलको थुंगकहरू, उसैलाई

घरी लाग्छ–

सुम्पिदिऊँ जम्मै–जम्मै 

मुस्कानका हरफहरू, उसैलाई ।

 

पहाडको खोला जस्तो निश्चल

अविराम एउटा संयोगको पर्यायवाची 

‘उ’बाट यति धेरै खुसी पाउनु रहेछ

यति बिघ्न माया पाउनु रहेछ

र पो अर्ध चेत नै सही 

मृत्युको सङ्घारदेखि फर्किएर आएछु ।

१. शरद ऋतुमा पहेँलो र रातो रङमा आकर्षक रूपले रङ्गिन रुखका सुन्दर पातहरू ।

२. पैयुँ प्रजातिको सुन्दर फूल ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुष्मा रानाहँमा
सुष्मा रानाहँमा
लेखकबाट थप