शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

प्रतिनिधिसभा निर्वाचनमा ३ चरणमा सेना परिचालन

सुरक्षा चुनौती र आगामी योजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
शुक्रबार, १२ मङ्सिर २०८२, १५ : ५०
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनका लागि सेना परिचालनको स्वीकृति दिएका छन्।
  • प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सुरक्षा संवेदनशीलताका आधारमा काम गर्न निर्देशन दिइन्।
  • निर्वाचन सुरक्षाका लागि तीन चरणमा सेना परिचालन गरिनेछ, जसमा तीन महिना अगाडिदेखि नै गस्ती सुरु हुनेछ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ । 

सेना परिचालनको स्वीकृतिसँगै तीन चरणमा सेनालाई परिचालन गर्न लागिएको छ । मन्त्रिपरिषद्ले मंसिर ८ मा गरेको निर्णय, सिफारिसको आधारमा बिहीबार राष्ट्रपति पौडेलले सेना परिचालन गर्ने स्वीकृति दिएका थिए । 

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जङ्गी अड्डाको निरीक्षण गर्दै चुनावमा एक थोपा पनि रगत नबग्ने गरी परिचालित हुन निर्देशन दिएकी छन् । 

जङ्गी अड्डामा पुगेर कार्कीले भनिन्, ‘सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरेर त्रुटिरहित ढङ्गले काम गर्न निर्देशन दिन्छु ।’

Untitled-1

सेनाले सुरक्षा चुनौती र आगामी योजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेको छ । निर्वाचन सुरक्षामा सेना परिचालनको ढाँचाबारे पनि प्रस्तुतीकरण गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णय सिफारिसको आधारमा तिन चरणमा सेना परिचालन गरिँदै छ । तीन चरणमा सेना परिचालन हुने सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले रातोपाटीलाई बताए । उनले भने, ‘कुन मितिबाट परिचालित हुने भन्नेबारे चाहिँ मैले पनि बुझ्नुपर्छ ।’

जङ्गी अड्डा स्रोतका अनुसार पहिलो चरणमा ३ महिना आगाडिदेखि नै सेनाले निर्वाचन केन्द्रित पट्रोलिङ्ग गर्नुपर्ने निर्णय गरिएको छ । त्यसपछि दोस्रो चरणमा थप फौज सहित १ महिना अगाडी सेना फिल्डमा परिचालित हुनेछ । तेस्रो चरणमा निर्वाचन सकिएर नतिजा नआउन्जेल सेना परिचालन गरिने छ ।

यसअघिको निर्वाचनमा १ महिनाअघि मात्र सेना परिचालन गरिन्थ्यो । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसको आधारमा यसपटक निर्वाचनको वातावरण बनाउन तीन महिना अगाडिदेखि सेना परिचालन गर्न लागिएको एक जना उच्च सुरक्षा अधिकृतले रातोपाटीलाई बताए । कार्तिक ३० मा केन्द्रीय सुरक्षा समितिको बैठकले जेनजी प्रदर्शनपछि देखिएको सुरक्षा चुनौतीका कारण ३ महिनाअघिदेखि नै सेनाले निर्वाचन केन्द्रित पट्रोलिङ्ग गर्नुपर्ने निर्णय गरेको थियो । 

यसपटकको निर्वाचनमा निर्वाचनमा चार वटा सुरक्षा निकायका ३ लाख १५ हजार सुरक्षाकर्मी परिचालन गरिँदै छ । एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार ७९ हजार सेना खटिँदै छन् ।

प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति दिन प्रहरी कारबाहीलाई पनि सहजीकरण र सहयोग गर्न सेनालाई निर्देशन दिएकी छन् । जङ्गी अड्डा निरीक्षण भ्रमणमा उनले भनिन्, ‘सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई विना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्य योजना सहित अघि बढ्न म निर्देशन दिन्छु ।’ 

जेनजी आन्दोलनमा लुटिएका र हराएका हतियार नियन्त्रणमा लिन पनि प्रहरी र सशस्त्रसँग सहकार्य गर्न प्रधानमन्त्रीले सेनालाई निर्देशन दिएकी छन्न । उनले भनिन्, ‘फरार अपराधी पक्राउ गर्न प्रहरीलाई सहयोग गर्ने कुरामा कुनै कसर बाँकी नराखी खट्नुहोस् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप