बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
राजनीति

रास्वपाले किन बनायो ‘विधानले नचिन्ने’ सङ्घीय नेतृत्व मञ्च ?

आइतबार, १४ मङ्सिर २०८२, १६ : ००
आइतबार, १४ मङ्सिर २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी एकतामा आएका व्यक्तिहरूलाई व्यवस्थापन गर्न संघीय नेतृत्व मञ्च बनाउने निर्णय गरेको छ।
  • सहमहामन्त्रीका अनुसार, यस मञ्चको हैसियत केन्द्रीय सदस्यसरह हुनेछ र महाधिवेशनअघि यसलाई अन्त्य गरिनेछ।
  • पार्टी प्रवक्ताका अनुसार, महाधिवेशनसम्मका लागि यो मञ्च गठन गरिनेछ, जसले एकता प्रक्रियामा आएका व्यक्तिहरूलाई व्यवस्थापन गर्नेछ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी एकतामा आएका व्यक्तिलाई व्यवस्थापन गर्नका लागि सङ्घीय नेतृत्व मञ्च (फेडरल लिडरशिप फोरम) बनाएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकको भर्चुअल बैठकले मञ्च बनाउने निर्णय गरेको हो । रास्वपाको विधानले भने यो मञ्चलाई चिन्दैन ।

समान विचार, सिद्धान्त भएका पार्टी तथा व्यक्तिलाई रास्वपामा जोड्ने उद्देश्यका साथ मञ्च बनाउने निर्णय भएको सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।

उनले भने- ‘सबै पार्टीलाई जोड्न खोजेका छौँ । एकता प्रक्रियामा जोडिन आएका व्यक्तिको प्रतिष्ठा, क्षमता, सक्रियता आधारमा पार्टीको जिम्मेवारी दिने उद्देश्यले संघीय नेतृत्व मञ्च बनाउने सचिवालय बैठकको निर्णय केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।’

यसको हैसियत केन्द्रीय सदस्यसरह हुने आचार्यले बताए । ‘विचार, सिद्धान्त सेतुको रूपमा यो मञ्च प्रयोग हुन्छ । महाधिवेशनअघि अन्त्य हुन्छ’, रातोपाटीसँग उनले भने ।

यस मञ्चमा कति जना रहने, कस्ता–कस्ता व्यक्ति रहने भन्ने विषय अब बस्ने सचिवालयले टुङ्ग्याउने उनले बताए ।

प्रवक्ता मनिष झाले पार्टीको महाधिवेशनसम्मका लागि मञ्च गठन गर्ने निर्णय भएको जानकारी दिए । महाधिवेशन अगाडि पार्टी एकतामा आएका सबैलाई जिम्मेवारी दिँदै जाँदा सांगठनिक र पदीय व्यवस्थापनमा समेत समस्या आउन सक्ने भएकाले यस्तो निर्णयमा पुगेको उनले स्पष्ट पारे ।

‘सङ्घीय नेतृत्व मञ्च महाधिवेशनसम्मका लागि गठन गर्ने निर्णय भएको हो । एकता प्रक्रियामा आएका सबैलाई केन्द्रीय समितिमा ल्याउँदा समस्या आउन सक्छ । अहिले झमेलामा फस्नुभन्दा मञ्चमा बसेर उसको क्षमता, योग्ता, दक्षता हेरेर केन्द्रीय समिति, विभाग वा अन्य जिम्मेवारी दिँदा राम्रो हुने निष्कर्षका साथ यो निर्णयमा पुगिएको हो’, प्रवक्ता झाले भने ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टीको महाधिवेशनसम्म एकता प्रक्रियामा आएका व्यक्तिलाई व्यवस्थापन गर्नका लागि अन्तरकालीन संयन्त्रको रूपमा यसलाई बुझ्न सकिने बताए ।

‘सङ्घीय नेतृत्व मञ्च बनाउने विषयमा सचिवालय बैठकमा व्यापक छलफल भएको थियो । एकता प्रक्रियामा आउने व्यक्तिलाई कुन जिम्मेवारी कसरी दिने भन्ने विषयमा छलफल पश्चात हामी एउटा साझा निष्कर्षमा पुग्यौँ’, उनले भने, ‘एकता प्रक्रियामा आएका व्यक्तिहरूको जिम्मेवारी, व्यवस्थापन गर्नका लागि बनाइएको संयन्त्र हो । यसलाई अन्तरकालीन संयन्त्र पनि भन्न सकिन्छ ।’

एकता प्रक्रियामा जोडिएका व्यक्तिहरूसँग आपसी सहमतिका आधारमा मञ्चमा रहने व्यक्ति र जिम्मेवारीको टुङ्गो लगाइने महामन्त्री बुर्लाकोटीले जानकारी दिए । यसबारे सचिवालय बैठकले निर्णय गरेपछि केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने र त्यसपछि कार्यान्वयनमा आउने उनले जानकारी दिए ।

अगामी फागुन २१ गते हुने निर्वाचनका लागि रास्वपाले नयाँ र वैकल्पिक पार्टीहरूसँग एकता र सहकार्यको पहल गरिरहेको छ । विभिन्न व्यक्ति र समूहलाई पार्टीमा प्रवेश गराउने नीति लिएको उसले आज विवेकशील साझा पार्टीसँग एकता घोषणा गर्दैछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप