‘पटक–पटक अपमानित भएँ, पार्टीभित्रको निरङ्कुशता सहेरै बसियो’
सुर्खेत । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा रुकुम पश्चिममा भएको चुनावमा कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्ल पराजित भएकी छन् ।
लोकतान्त्रिक पद्धतिबाट भएको चुनावमा महिलातर्फ दुई प्रतिनिधि छनोट गर्नुपर्नेमा चार जना प्रतिस्पर्धामा उत्रिएका थिए । जसमा २०४ मतसहित कौशिला केसी र २०३ मतसहित हिमकुमारी केसी निर्वाचित भए । तर, प्रदेश सांसद मल्लले १११ र डण्डी कार्कीले ११६ मत मात्र प्राप्त गरे ।
पार्टीको जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ रुकुम पश्चिमकी अध्यक्षसमेत रहेकी सांसद मल्लले प्रतिस्पर्धीहरूमध्ये सबैभन्दा कम मत प्राप्त गरिन् ।
शनिबार बेलुका भएको निर्वाचनमा खुलातर्फ नन्दराम देवकोटा (२८१) र दिनेश चन्द (२५४) निर्वाचित भएका छन् । यस्तै दलिततर्फ शशिराम नेपाली र युवातर्फ प्रकाश खड्का निर्वाचित भए ।
चुनाव हारेपछि सांसदले पोखिन् सामाजिक सञ्जालमा पीडा
सांसद मल्ल आफूलाई केपी शर्मा ओलीको विश्वासपात्रका रूपमा चिनाउने गर्छिन् । प्रदेश सभामा समानुपातिक सांसद बनेपछि उनले भनेकी थिइन्–‘मलाई सांसद बनाइदिएकोमा धन्यवाद केपी बा !’ तर, उनलाई जिल्लामै कार्यकर्ताले नपत्याएको नेताहरू बताउँछन् ।
प्रतिनिधि छनोटमा पराजित भएपछि उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेकी छिन् । जसमा उनले प्रतिनिधि छनोटको मापदण्ड पार्टी केन्द्रको निर्देशन अनुसार रुकुम पश्चिममा लागू नभएको गुनासो गरेकी छन् ।
उनले लेखेकी छिन्, ‘नेताहरू धेरै भएका जिल्लाहरूमा प्रतिनिधि सर्वसहमतिबाट चयन भएका छन् । पार्टी सानो र नेताहरू थोरै भएको हाम्रो जिल्लामा एउटा क्लस्टर नमिलेको नाममा, अरू मिलाउन मिल्ने क्लस्टरमा जो नेता हुनुहुन्छ वा नेता हुने लाइनमा हुनुहुन्छ, उहाँहरूले जन्मेदेखिको बल लगाएर निर्वाचन गराउनुभयो ।’
उनले अगाडि लेखेकी छिन्, ‘हाम्रो पार्टीको यो आन्तरिक निर्वाचनले पक्कै पनि हाम्रा वडा, पालिका, प्रदेश र संघको अरू पार्टीसँग हुने निर्वाचनमा पनि विजय प्राप्त गर्नुहुन्छ भन्नेमा म ढुक्क छु ।’
उनको स्टाटस जस्ताको त्यस्तैः
हाम्रो पार्टी नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट रुकुम पश्चिमको निर्वाचन मार्फत सम्पन्न भएको छ । प्रतिनिधि छनौटको मापदण्ड पार्टी केन्द्रले तोकेर पठाएको भए पनि रुकुमको सन्दर्भमा यी मापदण्ड लागु भएनन् । पार्टी बलियो र नेताहरू धेरै भएका जिल्लाहरूमा प्रतिनिधि सर्वसहमतिबाट चयन भएका छन्, तर पार्टी सानो र नेताहरू थोरै भएको हाम्रो जिल्लामा ‘क्लस्टर’ नमिलेको नाममा अन्यत्र मिलाउन मिल्ने ठाउँमा पनि निर्वाचन गराइयो । जन्मेदेखिको बल लगाएर निर्वाचन गराउनुहुने र नेता हुने लाइनमा रहनुभएका तपाइँहरूलाई धन्यवाद !
हाम्रो पार्टीको यो आन्तरिक निर्वाचनमा देखिएको कलाले हाम्रा वडा, पालिका, प्रदेश र संघको निर्वाचनमा पनि अरु पार्टीसँग विजय प्राप्त गर्नुहुन्छ भन्नेमा म ढुक्क छु । किनकि २०६४ को संविधान सभाको निर्वाचनमा भर्खर जनयुद्धबाट आएको माओवादी केन्द्रले मरेका र विदेश गएकाहरूको नाममा २० पटकभन्दा बढी मतदान गरेर पहिलो पार्टी बनेको थियो । त्यसपछिका निर्वाचनमा अलि कम भए पनि रुकुममा पुरानै शैली प्रयोग भएको अवस्था छ । २०७९ को संघ र प्रदेशको निर्वाचनमा पनि मेरो गाउँपालिका र वडामा अमेरिका तथा बाहिर गएकाहरूको करिब १२ वटा कार्ड थुतेर निर्वाचनमा खटिएका कर्मचारीहरूलाई जिम्मा लगाइएको थियो । ती कार्डहरू गत वर्षसम्म पनि आफन्तले माग्दै हुनुहुन्थ्यो । निर्वाचन जसरी पनि जित्नुपर्छ, कसरी जितियो भनेर मापन हुँदैनस जित्नेले जित्यो, यो हामीलाई थाहा छ ।
हिजोको हाम्रो पार्टीको आन्तरिक निर्वाचनमा बाँफिकोट, मुसिकोट र चौरजहारीका केही कमरेडहरूले ५ पटक, ७ पटक र कसैले २र४ पटक उपस्थित नभएका व्यक्तिहरूको मत हाल्नुभयो । यो कला र सीप अब आउने २०८४ को स्थानीय, संघ र प्रदेशका निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी बनाउन प्रयोग गर्नुहोला र अवश्य विजय प्राप्त गर्नुहुनेछ भन्नेमा हिजोको तपाइँहरूको कला देखेर म विश्वस्त छु ।
मेरो परिवार नेकपा एमाले भएकै कारण र मेरा पूजनीय बुवाको मार्गदर्शनले २०५७ सालमा कक्षा ५ मा पढ्दादेखि नै अनेरास्ववियुको प्राक कमिटीबाट राजनीति सुरु गरें । व्यक्तिगत निर्णय र सबै त्यागेर राजनीतिलाई निरन्तरता दिएर म जहाँ छु, यो मेरो कर्मको फल हो । राजनीतिक यात्रामा मैले सधैं ‘सबै ठाउँमा म अगाडि जानुपर्छ, मबाहेक कोही छैन’ भन्ने भावना राखिनँ । बरु सधैं अपमानित भएर पनि पार्टीमा निरन्तर लागिरहें । आफू योग्य हुँदाहुँदै पनि रुकुममा खुम्चिएको पार्टी अलि फुकोस्, ठुलो होस् भनेर सहेर बसें । अनेमसंघको केन्द्रीय सदस्य हुँदा होस्, पार्टीको प्रदेश अधिवेशनको प्रतिनिधि छनौट हुँदा होस् या अरु निर्णय हुँदा होस्, पार्टीभित्रको निरङ्कुशता सहेरै बसियो ।
म प्रदेश सभाको समानुपातिकमा सिफारिस हुँदा पनि तलबाट मिलेर गएको मेरो नाम हटाउन र आफ्ना आसेपासे नातेदारलाई बनाउन नेताले नै मेरो नाम हटाउनुभयो । २ दिनसम्म मेरै नामका लागि छलफल गरेर अन्य नेताहरूले दबाब दिएपछि, अघिल्लो साँझ लेखेको माइन्युट टालेर अर्को माइन्युट उठाई मेरो नाम अन्तिममा पठाइयो । बन्दसूचीमा नाम आउँदा केही मान्छे बिरामी परेर बर्बराएको पनि देखियो । प्रदेश माननीयमा निर्वाचन आयोगले नाम सार्वजनिक गरी दुनियाँले बधाई दिने बेला, रुकुमका केही ‘ठुटे नेताहरू’ ले मलाई सूर्यमुखी झोला बोकी अर्काको प्रचार गरें भन्ने मनगढन्ते आरोप लगाएर स्पष्टीकरण सोधी कारबाहीको माग गरेका थिए । मैले उतिबेलै चुनौती दिएकी थिएँ– ‘प्रमाणित गर’, पछि उनीहरू आफैं हिस्स परे ।
२०७९ पुस ११ गते प्रदेश सभा सदस्यको सपथ खाएलगत्तै हाम्रो पार्टी केन्द्रले ‘मिसन ग्रासरुट’ अभियान ल्यायो । फागुन ११ गते हाम्रो जिल्लाको बहुमुखी क्याम्पस हलमा भएको कार्यक्रममा पार्टी सचिव योगेश भट्टराई लगायतका नेताहरूको उपस्थितिमा मलाई केवल जिल्ला कमिटी सदस्य भनेर अपमानित गरियो । यस्ता अपमानका घुट्का मैले कैयौं पटक पिएकी छु । काँधमा राखेर बोक्न त नातावाद चाहिने रहेछ । सित्तैमा कहिलेकाहीँ मुख देखाए पनि ५र७ वटा पद पाइने रहेछ । म भगवानसँग कामना गर्छु– बोक्नेले बोकिरहनु परोस्, बोकिमाग्नेले बोकिमागिरहनु परोस् ।
हिजो प्रतिनिधि बोक्ने र बोकाउने प्रवृत्ति झन् डरलाग्दो रूपमा देखा परेको छ । लोकतन्त्र र गणतन्त्रको सुन्दर पक्ष भनेको स्वच्छ प्रतिस्पर्धा हो, जसको म सम्मान गर्छु । तर मिल्ने विषयलाई नमिलाएर पार्टीमा मतभेद गराउने वातावरणले रुकुमको पार्टी उकालो लाग्ने अवस्था देखिँदैन । यसको जल्दोबल्दो उदाहरण पालिका अधिवेशनमा मिल्छौँ भन्ने ठाउँमा चुनाव गराएको र चुनाव गर्नुपर्छ भन्ने ठाउँमा जबरजस्ती ढोका लगाएर घोषणा गरेको ताजा छ । यही प्रवृत्ति फेरि प्रतिनिधि छनौटमा देखा पर्यो । खैर, मैले सहमतिका लागि आफ्नो दाबी छोडिदिएँ । सहमतिको प्रयास गर्ने मेरो आदरणीय दिदी रचना मल्ललाई हृदयदेखि धन्यवाद, म सधैं ऋणी हुनेछु ।
हाम्रो जिल्लाको २०६४ पार्टी सदस्यमध्ये जम्मा ३५४ मत खस्यो, जसमा १११ मत मेरा मुटुभित्रका हुन् । निष्पक्ष र शुद्ध मतको आधारमा म आफूलाई विजयी सम्झिरहेकी छु । किनकि ३५४ मत सम्बन्धित संगठित सदस्यहरूले उपस्थित भएर हालेका मत नै होइनन्, यो ती ५र७ पटक मत हाल्नेहरूलाई प्रष्ट थाहा छ । यी १११ मत मेरो लागि सत्यको बाटोमा हिँडाउने मार्गदर्शक बनेका छन् ।
राजनीति एक दिनको लागि होइन । सबै समय एकैनासको हुँदैन । अहिले प्रिय लाग्ने मान्छे सधैं प्रिय रहँदैनन् र सधैं छलकपटमा भविष्य हुन्छ भन्ने पनि छैन । मैले कुनै मतदातालाई फोन गरेर, गाडी रिजर्भ गरेर वा पैसा खर्च गरेर बोलाइनँ । निर्वाचनमा कसैले कसैको मत हाल्न पाउने, परिचय खुल्ने प्रमाण नचाहिने जस्ता अनौठा दृश्य देखेर म अचम्मित छु । भूगोलको नैतिकताका आधारमा मैले यी सबै कुरा अनदेखा गरेँ, तर भूगोल महसुस नगर्नेहरूलाई यी कुरा वाहियात लाग्न सक्छन् ।
मैले जति अपमान सहे पनि कहिल्यै प्रकट गरिनँ, तर बारम्बारका व्यवहारले यी कुरा प्रष्ट पार्न बाध्य बनायो । पार्टी ठुलो छ भनेर बाहिर भाषण दिन्छौँ, तर भित्र ढाँट र ठगी कुरा गर्छौं । यही पाराले हिँड्ने हो भने ८४ को निर्वाचनमा पार्टीको हालत के होला रु निस्तेजको राजनीतिले अर्कालाई मात्र होइन सिङ्गो पार्टीलाई असर गर्छ भन्ने हेक्का नेतृत्वमा बसेकाले राख्नुपर्छ । अरु पार्टीबाट आएकालाई निस्तेज र अपमान गर्ने क्रम जारी छ । हामी त जति अपमानित भए पनि पार्टी र संगठनको लागि सहेर बसेका छौँ, तर यो शक्ति सबैमा हुँदैन ।
अन्तमा, जस्तोसुकै अवस्थामा पनि पार्टी संगठनका लागि मेरो लगानी र अनुभव निरन्तर रहनेछ । निर्वाचनबाट निर्वाचित महाधिवेशन प्रतिनिधि कमरेडहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ काे नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्यो छानबिन समिति
-
एन्फाले राखेपसँग निहुँ खोज्यो, फिफाले राखेप देखाएर निलम्बन गरिदियो
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
-
११ विद्यार्थी सङ्गठनले भने : १२ को त्रुटिपूर्ण नतिजाका विषयमा शिक्षा मन्त्रालय गम्भीर बनोस्
-
रास्वपा महाधिवेशन : प्रवासको मतदान नसकिँदा नतिजामा ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण