शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सडकमा कष्टपूर्ण जीवन बिताउनेहरूको व्यवस्थापनका लागि मानव सेवा आश्रमसँग सम्झौता

बुधबार, १७ मङ्सिर २०८२, १८ : ४७
बुधबार, १७ मङ्सिर २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहयोगको अपेक्षामा रहेका सडक मानव व्यवस्थापन गर्न मानव सेवा आश्रमसँग सम्झौता गरेको छ । 

मानव सेवा आश्रमका लागि प्रयोग हुने घर भाडा, मानव व्यवस्थापन तथा स्क्रिनिङ कार्यका लागि सम्झौता भएको हो । उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहबरमा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र आश्रमका सहकोषाध्यक्ष सुमिरा लामाबिच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता अवसरमा उपप्रमुख डंगोलले, सडकमा सहयोगको अपेक्षा गरेर बस्ने मानिसहरूलाई मानवोचित वासस्थान र स्याहारको आवश्यकता भएकोले यो आवश्यकता पूरा गर्न आश्रमसँग सहकार्य गरिएको बताइन् । 

सबै नागरिक सुरक्षा प्रदान गर्ने, आवश्यकताका आधारमा संरक्षण तथा हेरचाह प्रदान गर्नु पर्ने स्थानीय सरकारको दायित्व रहेको बताउँदै उनले, पारिवारिक पुनः स्थापनालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताइन् । 

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले सडकमा भएका व्यक्तिहरूको वास्तविक जीवन र आवश्यकताका आधारमा वर्गीकरण गरेर आवश्यकताले देखाएको सहयोग उपलब्ध गराइने बताए । 

विभिन्न कारणले घरबारविहिन भएर सडक किनारा, सार्वजनिक स्थल तथा खुला आकाशमुनि अति कष्टपूर्ण जीवनयापन गर्न बाध्य सडक आश्रित मानवलाई उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलन गराउन र अव्यवस्थित सडक मानवहरूको व्यवस्थापन एवं मानवता प्रवर्धनको विस्तार गर्न तथा प्रभावकारी बनाउन महानगरपालिकाले आश्रमलाई १ करोड रुपियाँ उपलब्ध गराउनेछ । यसरी उपलब्ध गराएको रकममा आश्रमले ३० प्रतिशत रकम थप गरेर काम गर्नेछ । 

यो रकम सहयोगापेक्षी मानव उद्धार र व्यवस्थापनका लागि मात्र खर्च हुनेछ । यसबाट आश्रमले महानगरपालिका क्षेत्रका सडकपेटी तथा खुल्ला क्षेत्रमा रहेका, भेटिएका सबै उमेर समूहका र सबै प्रकृतिका सहयोगापेक्षी मानवहरूको उद्धार गरेर खानपान, औषधी उपचार र बसोबासको व्यवस्थापन गर्नुपर्नेछ । 

मानव बसोबासका लागि प्रयोग गरिने घरको बहाल रकम सम्झौताबमोजिम हुनेछ । हप्तामा एक पटक राती ८ बजेदेखि १० बजेसम्म महानगर प्रहरी र मानवसेवा आश्रमका अभियन्ता सहित हप्ताको उद्धार कार्य हुनेछ । यसमा महानगरपालिकाले नगर प्रहरी बलबाट जनशक्ति र सवारी साधन उपलब्ध गराउनेछ । 

उद्धार गरिएका व्यक्तिहरूको फोटोसहितको विवरण महानगरपालिका र नजिकको प्रहरीमा बुझाउनु पर्नेछ । उद्धारबाट ल्याइएका व्यक्तिहरूलाई उमेर समूह अनुसार नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको क्यालोरीमा आधारित पोषण प्याकेज उपलब्ध गराउनु पर्नेछ । 

आश्रमले उपचार र पालनपोषण गरेका सहयोगापेक्षीको परिवारसँग पुनर्मिलन गराउँदा महानगरपालिका, स्थानीय, सुरक्षाकर्मीको रोहबरमा बुझाउनु पर्नेछ । 

सम्झौताको अवधि २०८३ असार मसान्तसम्मका लागि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप