शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेपाल जेनजी फ्रन्टले झापाबाट ‘जागरण सभा’को सुरुवात गर्दै

शुक्रबार, २६ मङ्सिर २०८२, १८ : ११
शुक्रबार, २६ मङ्सिर २०८२

काठमाडौँ । सरकार र जेनजी आन्दोलनकारीबिच भएको औपचारिक सम्झौतापछिको नयाँ चरणमा नेपाल जेनजी फ्रन्टले देशभर ‘जागरण सभा’ सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त अभियानअन्तर्गत पहिलो जागरणसभा झापा क्षेत्र नम्बर ५ बाट सुरु हुनेछ ।

आइतबारदेखि झापाको दमकमा आयोजना गरिने कार्यक्रममा नेपाल जेनजी फ्रन्ट (झापा) आयोजक र अग्रगामी झापा–५ समूह स्थानीय आयोजकका रूपमा रहने जनाइएको छ ।

कार्यक्रममा स्थानीय रूपमा जेनजी आन्दोलनमा सक्रिय जेनजी अगुवादेखि नागरिक समाजका प्रतिनिधिका साथै राष्ट्रियस्तरमा जेनजी आन्दोलनको नेतृत्वमा रहेर सक्रिय भूमिका निर्वाह गरेका युवाहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाल जेनजी फ्रन्टका प्रदेश समन्वय समितिका सदस्य आदित्य कर्णले जानकारी दिए ।

उहाँका अनुसार नेपाल जेनजी फ्रन्टका तर्फबाट संयोजक रक्षा बम, सदस्य यतिष ओझा, काउन्सिल अफ जेनजीका प्रदेश नं १ संयोजक उपार्जुन चाम्लिङलगायत जेनजी अगुवाहरू उक्त कार्यक्रमको वक्ताका रूपमा रहनेछन् । ओझा झापा क्षेत्र नम्बर ५ का स्थायी बासिन्दा र मतदातासमेत छन् ।

यस जागरणसभाको उद्देश्य जेनजी आन्दोलनका माग र मर्मलाई देशव्यापी रूपमा विस्तार गर्ने, नागरिकबीच संवाद गर्ने र सम्झौतापछिको कार्यान्वयनमा जनस्तरको निगरानी सुनिश्चित गर्ने रहेको कर्णले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप