आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

२६औँ पोखरा सडक महोत्सवमा सहभागी हुन कोशीका नागरिकलाई निम्तो

महोत्सवको प्रचार–प्रसार तथा निम्तो बाँड्न देश दौडाहामा निस्किएको टोली विराटनगरमा
आइतबार, २८ मङ्सिर २०८२, १८ : ०२
आइतबार, २८ मङ्सिर २०८२

विराटनगर । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको ‘पोखरा सडक महोत्सव’ यस वर्ष पनि भव्यताका साथ आयोजना हुने भएको छ ।

रेस्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा आगामी पुस १३ देखि १७ गतेसम्म (डिसेम्बर अन्तिम साता) फेवा ताल किनारमा महोत्सव हुनेछ ।

महोत्सवको प्रचार–प्रसार तथा निम्तो बाँड्न देश दौडाहामा निस्केको आयोजक टोलीले आज विराटनगरमा पत्रकार सम्मेलन गरी कोशी प्रदेशका नागरिकलाई पोखरा आउन निमन्त्रणा दिएको छ ।

पोखराको लेकसाइडस्थित करिब साढे ३ किलोमिटर क्षेत्रमा सञ्चालन हुने यस महोत्सवको मूल नारा ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने रहेको छ । 

पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका संयोजक तथा रेवान पोखराका प्रथम उपाध्यक्ष बसन्त गौतमले पोखराको पर्यटनलाई विश्वभर चिनाउन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महोत्सव कोसेढुङ्गा साबित हुने बताए ।

विगतमा अंग्रेजी नयाँ वर्ष मनाउन भारतको गोवा वा थाइल्याण्ड जाने परम्परालाई तोड्दै यो महोत्सवले पोखरालाई नै ‘न्यू इयर डेस्टिनेसन’ का रूपमा स्थापित गरेको आयोजकको दाबी छ ।

पाँच दिनसम्म चल्ने महोत्सवमा विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको छ । जसमा लोपोन्मुख सांस्कृतिक झाँकी, मौलिक भेषभुषा र परम्परागत नृत्यहरूको प्रदर्शन,  सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारहरूको प्रत्यक्ष स्वाद लिन पाइने, नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको ‘लाइभ कन्सर्ट’ तथा लोक दोहोरी प्रस्तुति, फेवा तालमा बोट रेस, वेटर रेस, रस्सा कस्सी लगायत पर्यटक लक्षित खेलहरू हुने, पोखराको पर्यटनबारे ‘टक शो’, वृत्तचित्र प्रदर्शन र फोटो प्रदर्शनी लगायत छन् । 

पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ सडक महोत्सवले भ्रमण वर्षलाई सफल बनाउन रणनीतिक भूमिका खेल्ने विश्वास लिइएको छ ।

महोत्सवले पोखरालाई बाह्रै महिना पर्यटकीय गन्तव्यका रूपमा चिनाउने र ‘खुला संग्रहालय’ को अवधारणालाई मूर्तरूप दिने बताइएको छ ।

साथै, स्थानीय कृषि उपज, हस्तकला र घरेलु सामग्रीको प्रदर्शनले ग्रामीण अर्थतन्त्रलाई टेवा पुग्ने र विदेशी पर्यटक मार्फत विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुग्ने आयोजकले जनाएको छ ।

भूकम्प, कोरोना महामारी र आर्थिक मन्दी जस्ता सङ्कटपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न यो महोत्सवले सञ्जीवनीको काम गर्ने अपेक्षा गरिएको छ ।

महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.लि. रहेको छ भने प्रवर्द्धकमा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिका रहेका छन् ।

आयोजकले इटहरी, विराटनगर, जनकपुर र चितवनलगायतका सहरका बासिन्दालाई महोत्सवमा सहभागी भई पोखराको आतिथ्यता ग्रहण गर्न आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप