शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

रवि लामिछाने आज नछुट्ने, रुपन्देही गएर कागज गर्नुपर्ने

बिहीबार, ०३ पुस २०८२, १९ : १८
बिहीबार, ०३ पुस २०८२

सारांश

  • रास्वपा सभापति रवि लामिछानेलाई रिहा गर्न अदालतले तीन वटा शर्तसहित आदेश दिएको छ।
  • रुपन्देही जिल्ला अदालतमा उपस्थित भएर कागज गरेपछि मात्र लामिछानेलाई रिहा गरिनेछ।
  • लामिछानेले सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा १ करोड धरौटी राख्नुपर्नेछ।

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने आज नछुट्ने भएका छन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधिशद्ववय बासुदेव आचार्य र तेजनारायण पौडेलले उनलाई ३ वटा शर्त पूरा गरेर छाड्न आदेश गरेका थिए । 

आदेशको अन्तिम बुँदामा रविलाई कागज गराउने विषय उल्लेख छ । उच्च अदालतको आदेश अनुसार लामिछाने कागज गर्न आफैँ रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनुपर्ने छ । उच्चको आदेशमा भनिएको छ, ‘फैसला हुँदा बिगोको हकमा थप दायित्व सिर्जना गरेमा तिर्न बुझाउन मञ्जुर भए, सोको कागज गरी प्रस्तुत मुद्दाको रोहबाट थुनामुक्त गर्नु ।’ 

आदेश अनुसार लामिछानेलाई कागज गराएर मात्र रिहा गरिने रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँलाई उपस्थित गराएर कागज गरेपछि मात्र थुनामुक्त गर्न सकिन्छ ।’

लामिछाने अहिले ललितपुर स्थित नख्खु कारागारमा थुनामा छन् ।बुटवल स्थित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न कसुरमा लामिछानेले यसअघि २०८१ माघमा राखेको १ करोड धरौटी उनले पुनः राख्नुपर्ने भएको छ ।

यसअघिको धरौटी रकम फुकुवा भैसकेको तहसिलदार पौडेलले बताए । उनले भने, ‘धरौटी फुकुवा भैसकेको छ, त्यसबारे हामीले उहाँको कानुन व्यवसायीलाई जानकारी गराएका छौँ ।’

लामिछानेले बिगोको हकमा दामासाहीले हुने रकम सुनिश्चितता गर्ने भन्दै बैंक जमानत सहित उच्च अदालतमा निवेदन दिएका थिए । सो जमान उच्च अदालतले शर्त सहित स्विकार्न आदेश गरेको छ ।

निवेदन साथ पेस गरेको बैक जमानत २ करोड ७४ लाख ८४ हजार रकम प्रमाणीकरण गरेर सनाखत गरिने तहसिलदार पौडेलले बताए । उनले भने, ‘उच्च अदालतको पत्र प्राप्त भएपछि बैंक जमानतको प्रमाणीकरण र सनाखत गर्छौँ ।’

उच्च अदालतको पत्र अनुसार रुपन्देही जिल्ला अदालतबाट पत्र प्राप्त भएपछि लामिछानेलाई रुपन्देही लैजाने तयारी गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक लीला प्रसाद शर्माले अदालतको आदेश अनुसारको प्रक्रिया पुरा भएपछि उहाँलाई थुनामुक्त गरिने बताए । उनले भने, ‘हामीकहाँ अदालतबाट पत्र आएपछि रिहा गर्छौँ ।’

उच्च अदालतले रविलाई विदेश यात्रा गर्नु परेमा अदालतलाई पूर्व जानकारी दिनुपर्ने आदेश गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप