कांग्रेसले गर्यो कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्न परिपत्र
सारांश
- नेपाली कांग्रेसले बागी उम्मेदवार र असहयोग गर्ने नेता तथा कार्यकर्तामाथिको कारबाही फुकुवा गरेको छ।
- पार्टीले कारबाहीमा परेका व्यक्तिहरूलाई माफी दिने निर्णय गरेको छ, तर पद फिर्ता नहुने जनाएको छ।
- कांग्रेसले पार्टी छाडेर अन्यत्र गएकाहरूलाई पुनः पार्टीमा फर्किन आह्वान गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले विगतका विभिन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका र असहयोग गरेका नेता तथा कार्यकर्तामाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको जानकारी मातहतका सबै निकायलाई गराएको छ । कांग्रेसले परिपत्र पठाउँदै साे निर्णय गरेको जानकारी मातहतका सबै निकायलाई गराएको हाे ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले गरेको परिपत्रमा केन्द्रीय कार्यसम्पादन समितिको गत पुस १२ गते बसेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।
कार्यसम्पादन समितिले विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक तथा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाले कारबाहीमा परेकाहरूलाई माफी दिने निर्णय गरेको थियो ।
निर्णयमा कारबाही माफी पाएका व्यक्तिहरूको पार्टीमा पहिले बहाल रहेको पद तत्काल फिर्ता नहुने उल्लेख छ । माफी पाएकाहरूले आफ्नो ‘क्रियाशील सदस्यता’ नवीकरण गर्न पाउने निर्णय कार्यसम्पादन समितिले गरेको छ ।
बैठकले विगतमा पार्टी परित्याग गरी स्वतन्त्र बसेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकालाई पुनः कांग्रेसमै फर्कन हार्दिक आह्वान गरेको छ । फर्किनेलाई पार्टीले क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत गरेको थियो ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण