शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेसको निर्णयानुसार यी नेताको कारबाही फुकुवा

आइतबार, १३ पुस २०८२, १७ : १८
आइतबार, १३ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसको कार्यसम्पादन समितिले पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ।
  • कारबाही फुकुवाबाट प्रदेश महामन्त्री, जिल्ला सभापति र पूर्वमन्त्री लगायत १७ नेता लाभान्वित हुनेछन्।
  • विगतको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा कारबाहीमा परेका नेताहरूको सदस्यतालाई निरन्तरता दिइने भएको छ।

नेपाली । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले कांग्रेस विगतको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेकालाई गरेको कारबाही फुकुवा गर्ने निर्णय गर्‍यो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि जारी विज्ञप्तिमा लेखिएको छ, ‘ विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्कासन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरिएको छ ।’

त्यस्तै बैठकले कारबाही माफी/मिनाहा भएका व्यक्तिहरूको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय पनि गरेको छ ।

बैठकको यो निर्णयको लाभ मुख्यगरी १७ नेतालाई भएको छ । कारबाही फुकुवा भएर लाभ लिनेमा पार्टीका प्रदेश महामन्त्री, जिल्ला सभापति तथा गण्डकी प्रदेशका पूर्वमन्त्रीसम्म छन् ।

पार्टीका केन्द्रीय सदस्य आनन्द ढुंगाना संयोजक रहेको अनुशासन समितिले गत असार २५ गते १८ नेतालाई अनुशासनको कारबाही गरेको थियो । त्यो कारबाहीको चर्को विरोध पनि भएको थियो ।

अहिले आएर त्यो कारबाही कार्यसम्पादन समितिले फुकुवा गरेको हो । कारबाही फुकुका भएका सबैभन्दा ठूला नेता हुन कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाल । त्यस्तै पार्टीका खोटाङ सभापति विष्णुकुमार राई र गण्डकी प्रदेशमा पूर्वमन्त्री तथा पार्टीका महासमिति सदस्य कुमार खड्का पनि कारबाही मुक्त भएका छन् । निर्णयानुसार उनीहरूको पार्टीको क्रियाशील सदस्यताले निरन्तरता पनि पाउने भएको छ ।

त्यसबेला कारबाही गर्दा अनुशासन समितिले लेखेको थियो, ‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८२ असार ९ – १७ गतेसम्म बसेको बैठकले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन – २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने गलत मनसायका साथ सामाजिक सञ्जाल, अडियो/भिडियो लगायत अनेकन हत्कण्डाहरु प्रयोग गरिएका प्रमाणहरूका आधारमा तपशील बमोजिमका पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निस्काशन/ निलम्बन गर्ने निर्णय गरिएको छ ।’

जसअनुसार कारबाहीमा परेर एक वर्ष पार्टी सदस्य निलम्बनमा पर्नेमा तेह्रथुम जिल्लाका महासमिति सदस्य तुलसी सुब्बा, कास्की जिल्लाका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री खनाल, खोटाङ जिल्लाका सभापति राई, र पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता थिए । उनीहरूलाई अनुशासन समितिबाट सोधिएको स्पष्टीकरणको  चित्तबुझ्दो नदेखिएकोले उपलब्ध प्रमाणहरूको आधारमा पार्टी विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) ( ख) (घ) अनुसार १ (एक) वर्ष कांग्रेसको सदस्यताबाट निष्कासन गर्ने निर्णय समितिले गरेको थियो ।  

समितिले धनुषा जिल्ला लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ (छ) महिनाको लागि सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो । ६ महिना नै सदस्यबाट निष्कासनमा पर्नेमा धनुषाको सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका–का रामवावु यादव, मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव कास्की जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठ, कैलाली जिल्ला धनगढी उपमहानगरपालिका २ का महाधिवेशन प्रतिनिधि  भिमबहादुर शाह, कैलालीकै निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहनगरपालिका १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका ५ का पूर्व महाधिवेशन प्रतिनिधि बब्लु कुमार चौधरी थिए । उनीहरूलाई पनि सोधिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएकाले कारबाही गरिएको समितिले उल्लेख गरेको थियो ।

त्यसै दिन पार्टीका कास्कीका निवर्तमान सभापति कृष्ण के.सी.लाई ३ (तीन) महिनाको लागि निलम्बन गर्ने निर्णय समितिले गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप