शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

एमालेको बन्दसूची : ओलीले बराल अघि सारे, विष्ट–भट्टराईको फरक मत

आइतबार, १३ पुस २०८२, २० : ५१
आइतबार, १३ पुस २०८२

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको बन्दसुचीको एक नम्बरमा नेता गुरु बरालको नाम प्रस्ताव गरेका छन् । बराल पूर्व उपाध्यक्ष हुन् । 

आइतबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले बरालसहित ११० जनाको नाम पढेर सुनाएका थिए । ओलीले प्रस्ताव गरेको सुचीमा १९ सदस्यीय पदाधिकारीमध्ये सचिव पद्यमा अर्यालको नाम पनि समानुपातिकतर्फ समेटिएको छ । अध्यक्ष ओलीले प्रस्ताव गरेका नामहरू केही परिमार्जनसहित सोमबार आयोगमा बुझाउने एमालेको तयारी छ । 

तर, सचिवालय बैठकमा उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले ११औँ महाधिवेशनमा ओलीसँग अध्यक्ष पदमा पराजित नेता ईश्वर पोखरेलको नाम एक नम्बर सुचीमा राख्नुपर्नेमा जोड दिएका छन् ।

‘गोकर्ण विष्ट र योगेश भट्टराईले ईश्वर पोखरेलको नाम पनि बन्दसूचीमा समेट्नुपर्ने र त्यो नाम एक नम्बरमा राख्नुपर्छ भन्ने सुझाव दिनुभएको हो । त्यसो गर्दा पार्टी एकतालाई बलियो बनाउन सकिने उहाँहरूको तर्क थियो, एक सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘अब अध्यक्षले समेट्नुहुन्छ या हुँदैन उहाँकै अधिकारमा पुग्यो ।’

ओलीले प्रस्ताव गरेका अन्य नामहरूमा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष टुका हमाल, युवा सङ्घकी पूर्व अध्यक्ष निरु पाल, पूर्व समानुपातिक सांसद शान्ता चौधरी र पूर्वसहरी विकास मन्त्री मञ्जु चौधरीको नाम समेत छन् । जेनजी पुस्ताबाट नवनिर्वाचित केन्द्रीय सदस्य निता घतानीलाई पनि ओलीले बन्दसुचीमा राखेका छन् । 

यसैबिच एमाले सचिवालय बैठकले पुस २० गतेभित्र प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप