शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

संकटमा डन ३ : रणवीर र ऋतिक दुवैले फिल्म खेल्न अस्वीकार गरेपछि अन्योल

बुधबार, १६ पुस २०८२, १४ : ०२
बुधबार, १६ पुस २०८२

मुम्बई । फरहान अख्तरको निर्देशनमा बन्न लागेको चर्चित ‘डन’ फ्रेन्चाइजको तेस्रो भाग (डन ३) विगत तीन वर्षदेखि अन्योलमा परेको छ। यसअघि डनको मुख्य भूमिकाका लागि अभिनेता रणवीर सिंहलाई छनोट गरिएको भए पनि उनले फिल्म छोडेका छन्।

रणवीर बाहिरिएपछि निर्माताले ऋतिक रोशनलाई प्रस्ताव गरेका थिए, तर ऋतिकले पनि यो फिल्म खेल्न अस्वीकार गरिदिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार ऋतिक रोशन अहिले ‘क्रिस ४’ बाट निर्देशनमा पाइला चाल्ने तयारीमा छन् ।

यसका साथै उनीसँग अन्य ठूला ‘प्यान इन्डिया’ फिल्महरू पनि छन्, जसका कारण आगामी केही वर्षका लागि उनको कार्यतालिका निकै व्यस्त छ। समय अभावकै कारण उनले डन ३ को प्रस्ताव अस्वीकार गरेको बताइएको छ।

यता रणवीर सिंहले फिल्म छोड्नुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन्। कतिपय रिपोर्टका अनुसार रणवीर सञ्जय लीला भन्साली, लोकेश कनगराज र एटली जस्ता निर्देशकहरूसँग काम गर्न चाहन्छन् ।

साथै, आफ्नो पछिल्लो फिल्म ‘धुरन्धर’ सफल भएपछि उनी लगातार ग्याङ्स्टर विधाका फिल्ममा मात्र देखिन नचाहेको बताइन्छ। अर्कोतर्फ, रणवीरले फिल्म छोडेको नभई निर्मातासँगको रचनात्मक मतभेद र पारिश्रमिकको मागका कारण उनलाई फिल्मबाट निकालिएको चर्चा पनि उत्तिकै छ।

यसअघि फिल्ममा रणवीरको अपोजिटमा कियारा आडवाणीलाई कास्ट गरिएको थियो। तर गर्भवती भएको घोषणा गरेपछि कियाराले पनि फिल्म छोडिसकेकी छिन्। उनको ठाउँमा कृति सेनन आउन सक्ने चर्चा छ।

मुख्य अभिनेताको खोजी अझै टुङ्गो नलाग्दा फरहान अख्तरको ड्रिम प्रोजेक्ट ‘डन ३’ कहिले सुरु हुन्छ भन्ने अझै निश्चित छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप