शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
अनुवाद

गान्धी र लेनिन

शुक्रबार, १८ पुस २०८२, ११ : ००
शुक्रबार, १८ पुस २०८२

सारांश

  • पुस्तक लेनिन र गान्धीको तुलनामा लेखिएको छ, जसमा उनीहरूको समानता र भिन्नतालाई उजागर गरिएको छ।
  • लेखकहरूले लेनिन र गान्धीका विचारहरूलाई विश्लेषण गर्दै, हिंसा र अहिंसाको माध्यमबाट समाज परिवर्तन गर्ने तरिकाहरू प्रस्तुत गरेका छन्।
  • लेखमा फिलिप स्प्राटको अनुभव र गान्धीवाद र लेनिनवाद बीचको मध्यमार्गी दृष्टिकोणको खोजीलाई समेटिएको छ।

भर्खरै मेरो हातमा चाखलाग्दो शीर्षकको एउटा पुस्तक आइपुग्यो । त्यो हो– लेनिन र गान्धी । पुस्तक अष्ट्रियाली लेखक रेने फुलोप–मिलरले लेखेका रहेछन् ।

सुरुमा फ्रान्सेली भाषामा लेखिएको पुस्तकको अंग्रेजीमा अनुवादित संस्करण मेरो हातमा परेको हो । त्यसको प्रकाशन सन् १९२७ मा भएको रहेछ ।

सन् १९२० को दशकमा गान्धी र लेनिनबारे तुलना गर्दै पुस्तक नै प्रकाशन गर्नु अलि विशेष नै हो । लेनिन र गान्धी करिब–करिब समकालीन नेता नै थिए । उनीहरूको जन्म पनि केवल ६ महिनाको फरकमा भएको थियो । दुवैको परिवार मध्यम वर्गीय थियो । साथै उनीहरू दुवै जना गरिब जनताको मुक्ति तथा अन्यायको अन्त्य गर्ने व्यग्र चाहनाले अघि बढेका थिए ।

उनीहरू बिचमा आधारभूत भिन्नता पनि पक्कै छन् । लेनिन आफ्नो लेखाइमा आलोचनात्मक तथा आक्रमक छन्, तर गान्धी भने निजी तथा सार्वजनिक दुवै जीवनमा विनम्र शैलीमा प्रस्तुत हुन्थे । अर्को महत्त्वपूर्ण अन्तर भनेको लेनिनलाई हिंसा प्रयोगका लागि चर्चित मानिन्छ भने गान्धी अहिंसाको अभ्यासमा प्रतिबद्ध अभियन्ताका रूपमा चिनिन्छ ।

मैले थाहा पाएसम्म गान्धी र लेनिनलाई तुलना गरेर लेख्ने पहिलो व्यक्ति श्रीपाद अमृत डाँगे थिए । सन् १९२१ मा डाँगेले ६० पृष्ठको पुस्तिका निकाले, जसको शीर्षक थियो– गान्धी भर्सेज लेनिन ।

डाँगे गान्धीवादको तुलनामा लेनिनवाद ठिक मान्थे । गान्धीलाई सशरीर अवलोकन गर्न पाएकैले होला सायद गान्धीप्रति डाँगेको केही सम्मान र सहानुभूति भने प्रस्ट देखिन्छ ।

गान्धी र लेनिनका सिद्धान्तबारे उनले लेखेका छन्, ‘यी दुवै सिद्धान्तलाई वास्तविक जीवनमा पूर्ण रूपमा लागु गर्न असम्भव छ । गान्धीवादको मानवीय स्वभाव प्राकृतिक रूपमै पूरै असल हुन्छ भन्नेबारे अनावश्यक स्तरमा विश्वास गर्छ । उता, वोल्सेविकवादले मानवीय रुचि तथा भावनालाई बेवास्ता गर्छ ।’

प्रेमको दर्शन

डाँगेले प्रकाशन गरेको ४ वर्षपछि ह्यारी वार्ड नामका अमेरिकी पादरीले ‘लेनिन र गान्धी’ शीर्षकमा लेख लेखे । उनको लेख ‘द वर्ल्ड टुमरो’ नामको जर्नलको सन् १९२५को अंकमा प्रकाशित भयो । वार्डले पनि लेनिन र गान्धी दुवै जना मध्यम वर्गबाट आएका तथा आम मानिसहरूको जस्तै ‘सरल जीवन’ मा आफूलाई रुपान्तरण गरेको अवलोकन गरेका थिए । 

वार्डले उनीहरूबिचको अन्तर पनि लेखेका छन् । ‘लेनिनको दर्शन भनेको शक्तिको दर्शन हो । उनको कार्यक्रम, बलको कार्यक्रम हो । गान्धीको दर्शन प्रेमको दर्शन हो र, उनको कार्यक्रम, अहिंसाको कार्यक्रम हो । ...लेनिन शासकको तागतलाई त्योभन्दा बेसी तर उही प्रकारको शक्ति सिर्जना गरेर हराउने कुरा गर्छन्, तर गान्धी भने शासकहरूको भन्दा फरक खालको शक्तिले विजय हासिल गर्ने कुरा गर्छन्,’ उनले लेखेका छन् ।

ह्यारी वार्डले लेनिन र गान्धीलाई ‘वर्तमान समयका सबैभन्दा प्रभावशाली व्यक्ति’ भनेका थिए । उनी लेख्छन्, ‘लेनिन र गान्धीले अनुसरण गरेका विचार र आदर्शको द्वन्द्वमै मान्छेको भविष्यको दिशा निर्धारित हुन्छ । समाजको पिँधमा रहेका मानिसहरू जीवनको बृहत्तर फलकमा आउनैपर्छ । उनीहरू कसरी आउँछन् त ? अवसर एवं विशेषाधिकार पाइरहेका व्यक्तिहरूसँग क्रमैसँग बाँडफाँट गर्दै तथा सञ्चय गर्दै आउँछन् वा उनीहरू सभ्यताको आधारभूत तत्व नै ध्वस्त पार्नेगरी शक्तिको संघर्ष गर्न बाध्य हुन्छन् ?’

सन् १९२७मा गान्धी र लेनिनबारे प्रकाशन गर्दैगर्दा रेने फुलोप–मिलरलाई आफूभन्दा पहिले नै डाँगे र वार्डले पनि त्यही विषयमा लेखिसकेको थाहा थिएनजस्तो देखिन्छ । उनीहरू जस्तै मिलर पनि गान्धी र लेनिनले आफ्नो देश रुपान्तरण गरेको ठान्छन् । साथै आफ्नो व्यक्तित्वको शक्तिमा इतिहासको बाटो तय गरेको स्विकार्छन् ।

दुवै नेता आफ्नो मान्यता र त्यसको जगमा खडा भएको साहसले चलेका छन् । आफ्ना अगुवा तथा साथीहरूले छोडेको अवस्थामा समेत एक्लै भए पनि संघर्ष गर्न तम्तयार देखिन्छन् । समाजका विविध तप्कालाई एक ठाउँमा ल्याएर रचनात्मक एकता हासिल गर्न मरिमेटेर लागेका छन् । लेनिनले रुसमा मजदुर र किसानलाई एक ठाउँमा ल्याए । गान्धी भारतमा हिन्दु र मुसलमान मिलाउन लागे ।

केही तरिकामा मिलरको विश्लेषण उनका पूर्ववर्ती लेखकहरूसँग नजिक–नजिक देखिन्छ, तर लेनिन र गान्धीका राजनीतिक अभ्यासमा रहेको नैतिक दुरीको विषयमा उनी कम द्विविधापूर्ण छन् । त्यसैले उनी लेख्छन्, ‘लेनिनले रोजेको तत्व घृणा थियो ...उनले आफ्ना राजनीतिक विपक्षीसँग व्यवहार गर्नलाई हिंसा बाहेक अर्को बाटो देखेनन् । ...त्यसैले उनले ध्वस्त बनाउने आह्वान गरे ।’

दमन र हिंसा नभएको वर्गविहीन समाज खोज्ने लेनिनले ‘आफ्नो लक्ष्य हासिल गर्नका लागि क्रुर बल प्रयोग बाहेक कुनै बाटो देखेनन् । यही नै उनको विशेष नियतिको सबैभन्दा दुःखद् सन्दर्भ थियो ।’

मिलर अर्कोतर्फ लेख्छन्, ‘अहिंसाको सार्वभौम सत्यमा अटल विश्वासका कारण गान्धीले आफ्ना व्यक्तिगत एवं राजनीतिक विपक्षीसँग केवल प्रेमको सहारामा लड्न रोजे’ साथै ‘गान्धीको क्रान्ति सदगुण र अहिंसाको क्रान्तिका रुपमा इतिहासमा मौलिक छ । आफ्नो शत्रुलाई पनि माया गर भनेर पढाउने व्यक्तिको नेतृत्वमा भएको क्रान्ति सबैका सामु छ ।’

घृणा मोचन

सन् १९२६ मा हेनरी वार्डको पुस्तक प्रकाशित भइसकेपछि तथा रेने फुलोप–मिलरको पुस्तक आउनु अघि एक जना बेलायती कम्युनिस्ट भारत आए । उनको नाम पिलिप स्प्राट थियो । उनी भारतमा साम्यवादी क्रान्ति गराउन आएका थिए । माथि उल्लेखित अष्ट्रियाली वा अमेरिकीहरू भन्दा फरक उनी लेखक नभएर राजनीतिक कार्यकर्ता थिए ।

उनलाई सबै बिचारमा समभाव राख्नुपर्ने कुनै कारण वा समय दुवै थिएन । उनले लेनिनको बाटो रोजे । केही वर्ष उनी भारतीय उपमहाद्वीप घुमे । भारतका क्रान्तिकारीहरूसँग सम्पर्क गरे । क्रान्तिको सम्भावना आकलन गर्न लागे । राजनीतिक गतिविधिमा संलग्न भए, र सन् १९२९ मा उनी पक्राउ परे । उनलाई पनि उनका भारतीय कमरेडहरूसँगै ‘मेरुत षडयन्त्र काण्ड’ मा संलग्न भएको अभियोगमा मुद्दा लगाइयो ।

स्प्राट करिब एक दशक जेलमा बसे । जेलजीवनमा उनले भारतीय इतिहास तथा दर्शनबारे व्यापक रूपमा पढ्ने मौका पाए । त्यसबारे उनलाई पहिले न्यूनमात्रै ज्ञान थियो । पढ्दै जाँदा उनमा आफूले विश्वास गर्ने गरेका लेनिनभन्दा गान्धीप्रति सहानुभूति बढ्दै गयो । जेलबाट छुट्नासाथ उनी गान्धीलाई भेट्न सेवाग्राम गए । गान्धीसँगको भेटमा भएका कुराकानीलाई समेत आधार बनाएर उनले ती प्रभावशाली भारतीयबारे एउटा पुस्तक नै लेखे ।

पुस्तकमा स्प्राटले आफूले श्रद्धा गर्ने गरेका लेनिन तथा पछि गएर प्रशंसा गर्न थालेका गान्धी दुवैलाई मिलाउन हिम्मत गरेका छन् । ‘गान्धीज्मः एन एनालाइसिस’ नामक पुस्तकमा उनी लेख्छन्, ‘करोडौँ मानिसलाई भारतीय गाउँको अहिलेकै अवस्थामा एक दिन पनि छोड्नु भनेको पक्कै पनि अपराध हो । यस्तै अवस्थामा रहेका रुसीहरूले भने हतार गर्नुपर्ने थियो । धेरै अभाव झेल्नुपरेको थियो । त्यसैले जबरजस्त उपायहरू अपनाउनु प¥यो । उनीहरूको मुलुकमा विदेशी हस्तक्षेपको जोखिम धेरै भएकाले पनि उनीहरू त्यस्तो बाटो अपनाउन बाध्य भए । तथापि, समाजवादबाट हामीले त्यस्ता असामान्य कदमहरू हटाउन सक्ने हो भने ...समाजवादले सम्भवतः भारतलाई साँच्चिकै बस्न योग्य देश बनाउन सक्छ । आधा शताब्दीभित्रै शिक्षित नागरिकसहितको सुखी र समृद्ध भारत बनाउन सक्छ । गान्धीको तरिकाबाट जाँदा धेरै समय लाग्न सक्छ । यद्यपि अझै राम्रो भने हुन सक्छ । किनभने यसले अहिंसाको प्रयोग गर्ने, मानव जीवनबाट घृणा हटाउने तथा सत्यप्रतिको प्रतिबद्धता कायम गर्ने लक्ष्य राखेको छ । गान्धीका मूल्यहरू ज्यादै महत्त्वपूर्ण छन् । त्यसैले केही समयको विलम्ब पनि स्वाभाविक मान्नुपर्ने हुन्छ ।’

उनको लेखाइमा हामी अचेतन रूपमा ह्यारी वार्डको प्रतिध्वनि पाउछौँ । स्प्राटका अनुसार लेनिनको विधि प्रभावकारी त हुन सक्छ, तर गान्धीको तरिका निश्चित रूपमा मानवीय छ ।

स्प्राट एउटा प्रतिबद्ध मार्क्सवादीका रूपमा जेल गएका थिए, तर निस्किँदा किंकर्तव्यविमुढ अवस्थामा बाहिर आए । गान्धीवाद र लेनिनवादको मध्यमार्ग खोज्न लागेका उनी एम.एन रोयसँग जोडिन पुगे । लेनिनका साथी तथा गान्धीका आलोचक रोयले सन् १९३०को दशकको उत्तरार्द्धतिर नयाँ पार्टी खोले । त्यसको नाम ‘रेडिकल डेमोक्र्याटिक पार्टी’ थियो । जसले ‘इन्डिपेन्डेन्ट इन्डिया’ नामको अखबार पनि चलाउन थाल्यो । त्यसमा प्रकाशन हुने सामाग्रीहरू रोय आफैँले हेर्ने गर्थे ।

सन् १९४१को डिसेम्बरमा स्प्राटले भारतीय महिलासँग विवाह गरेर बैंगलोरमा बस्न थाले । उनले त्यहाँबाट एम.एन रोयलाई उनको अखबारमा छाप्नेगरी एउटा लेख पठाए । रोयले लेख छाप्न अस्विकार गरे । लेखमा गान्धीप्रति अत्यधिक सहानुभूति राखेको भन्दै उनले खारेज गरेका थिए । दुर्भाग्यवश त्यसको पाण्डुलिपि उपलब्ध हुन सकेको छैन, तर स्प्राटले पछि रोयलाई लेखेको चिठीमा उक्त लेखको स्वरुपबारे उल्लेख गरेका थिए । त्योचाहिँ उपलब्ध छ ।

पत्रमा स्प्राटको तर्क छ– गान्धीवादले ‘आत्मनिर्भरता, इमानदारिता, सार्वजनिक मामलामा चासो, आपसमा सहयोगको क्षमता तथा सम्प्रदायवादबाट मुक्ति’ जस्ता गुणको प्रवर्द्धन गरेको छ । त्यसैले उनी के विश्वास गर्छन् भने ‘गान्धीवाद भारतलाई स्वतन्त्र हुन तयार बनाउने प्रमुख शक्ति बन्न सक्छ ।’

स्प्राटले लेनिनको बाटोमा रहेका केही ‘त्रुटि’ पनि औँल्याएका छन् । उनका अनुसार ‘लेनिनले बुर्जुवा लोकतन्त्र पूरै ठगी भएको ठाने । क्रान्तिकारी उद्देश्यका लागि उपयोग गर्नबाहेक यसको कुनै काम नभएको माने । आफैँमा यसको कुनै अर्थ छैन भने, तर खासमा लोकतन्त्र आफैँमा मूल्यवान उपलब्धि हो । राजनीतिक लोकतन्त्र, नागरिक स्वतन्त्रता, विचारको स्वतन्त्रताजस्ता त्यसका विशेषताहरू जोगाउन सकिएन भने समाजवादले पनि केही हासिल गर्न सक्ने छैन ।’

फिलिप स्प्राटले लोकतन्त्रको पक्षमा खुलेर लेखेको ८० वर्षपछि आज संसारभर लोकतान्त्रिक व्यवस्थाहरू आक्रमणमा परिरहेका छन् । ट्रम्पको अमेरिका, ओर्बानको हंगेरी, नेतान्याहुको इजरायल, एर्दोगानको टर्की तथा मोदीको भारत लगायत मुलुकहरूमा दक्षिणपन्थी अधिनायकवादीहरू सार्वजनिक संस्थाको स्वायत्तता खोसिरहेका छन् । साथै तत–तत देशमा सत्तामा रहेको आफ्नो पार्टीको पकडलाई झन्–झन् बलियो बनाउन प्रयत्नरत छन् ।

लोकतन्त्रमा देखिएको यस्तो क्षयीकरण तथा प्रतिगमनको जबाफ पक्कै पनि लेनिनवादी शैलीको रक्तपातपूर्ण क्रान्ति होइन । त्यसको नतिजा अधिनायकवाद एवं एकल पार्टी राज्य हुन जान्छ । बरु, आज पनि हामीलाई साँच्चिकै निष्पक्ष निर्वाचन, स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र निजामती सेवा तथा ‘बुर्जुवा लोकतन्त्र’लाई मानवजातिको ‘सबैभन्दा मूल्यवान उपलब्धि’ बनाउन मद्दत गर्ने संस्थाहरूको जीवन्तता एवं प्रतिबद्धताको नवीकरण चाहिएको छ ।

(द टेलिग्राफबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामचन्द्र गुहा
रामचन्द्र गुहा

भारतीय इतिहासकार तथा टिप्पणीकार हुन् । 

लेखकबाट थप