बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भेनेजुएलामा अमेरिकाले कहाँ-कहाँ आक्रमण गर्‍यो ?

शनिबार, १९ पुस २०८२, १५ : ४६
शनिबार, १९ पुस २०८२

सारांश

  • कोलम्बियाले भेनेजुएलामा भएको आक्रमण र अमेरिकासँगको तनावबारे संयुक्त राष्ट्रसंघ र ओएएसलाई हस्तक्षेप गर्न आग्रह गरेको छ।
  • कोलम्बियाले आप्रवासीलाई सहयोग गर्न र विद्रोही समूहबाट हुन सक्ने आक्रमण रोक्न एकीकृत कमान्ड पोस्ट सक्रिय पारेको छ।
  • राष्ट्रपति गुस्ताभो पेट्रोले भेनेजुएलामा बमबारीका विवरण सार्वजनिक गरे, तर स्वतन्त्र पुष्टि हुन बाँकी छ।

बोगोटा । भेनेजुएलामा भएका शृंखलाबद्ध आक्रमण र अमेरिकासँगको बढ्दो तनावका बिच छिमेकी मुलुक कोलम्बियाले संयुक्त राष्ट्रसंघ र अमेरिकी राज्यहरूको संगठन (ओएएस) लाई हस्तक्षेप गर्न आग्रह गरेको छ। कोलम्बियाको बोगोटाबाट अल जजिराका संवाददाताले जनाएअनुसार यो घटना कोलम्बियाका लागि निकै संवेदनशील बनेको छ।

लामो र खुला सीमा जोडिएको कोलम्बियामा पहिले नै करिब ३० लाख भेनेजुएलाली आप्रवासीहरू आश्रित छन्। सीमा क्षेत्रमा नेसनल लिबरेसन आर्मी (ईएलएन) जस्ता विद्रोही समूहहरू वर्षौँदेखि सक्रिय रहेकाले सुरक्षा चुनौती थपिएको छ। 

यसैलाई मध्यनजर गर्दै कोलम्बियाको रक्षा मन्त्रालयले भेनेजुएलासँग जोडिएको मुख्य सहर कुकुटामा मानवीय सहायताका लागि एकीकृत कमान्ड पोस्ट सक्रिय बनाएको छ। यो योजना आप्रवासीहरूलाई आवश्यक सहयोग प्रदान गर्न र ईएलएनलगायतका अवैध समूहहरूबाट हुन सक्ने सम्भावित आक्रमण रोक्न सुरक्षा फौजलाई उच्च सतर्कतामा राख्नका लागि लागू गरिएको हो।

कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको सरकारले निकोलस मादुरोको सरकारलाई मान्यता नदिए पनि उनी अमेरिकी सैन्य हस्तक्षेपको भने विपक्षमा उभिएका छन्। यस क्षेत्रमा क्युबा भेनेजुएलाको पक्षमा छ भने अर्जेन्टिना, पराग्वे र इक्वेडरजस्ता दक्षिणपन्थी सरकारहरू मादुरोको विपक्षमा छन्।

यसैबिच, राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै भेनेजुएलामा रातभर बमबारी भएका स्थानहरूको विवरण सार्वजनिक गरेका छन्। यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ। 

पेट्रोले ला कार्लोटा एयर बेस, काटियास्थित क्वार्टेल डे ला मोन्टाना, काराकसस्थित संघीय व्यवस्थापिका भवन र मुख्य सैन्य कम्प्लेक्स फोर्ट टिउनामा बमबारी भएको उल्लेख गरेका छन्।

त्यस्तै, एल हाटिलोस्थित एक विमानस्थल, बार्किसिमेटोस्थित एफ–१६ बेस नम्बर ३ र काराकस नजिकैको चारालाभस्थित एक निजी विमानस्थलमा पनि आक्रमण भएको जनाइएको छ। राष्ट्रपति भवन मिराफ्लोरेसमा रक्षा योजना लागू गरिएको र काराकसका सान्ता मोनिका, लस टेक्स, २३ डे एनेरो लगायतका ठुला क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको पेट्रोले उल्लेख गरेका छन्। मध्य काराकसमा आक्रमणका घटनाहरू रिपोर्ट गरिएको र हिगुएरोटस्थित सैन्य हेलिकप्टर बेस ध्वस्त पारिएको बताइए पनि भेनेजुएलाका अधिकारीहरूले यसको तत्काल पुष्टि गरेका छैनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप