सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको खानेपानी समस्या समाधानार्थ बहुचर्चित भेरी पम्पिङ आयोजनाको काम यतिबेला धमाधम भइरहेको छ । सन् २०५० सम्म वीरेन्द्रनगरमा वृद्धि हुनसक्ने जनसंख्यालाई मध्यनजर गरेर अघि बढेको आयोजना अन्तर्गत पहिलो चरणको काम भइरहेको हो । आयोजना अन्तर्गत भेरी नदीको पानी पम्पिङ प्रविधिबाट राजधानी वीरेन्द्रनगरमा ल्याइनेछ ।
_owwU8Jf88U.jpg)
सोमबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले संयुक्त रूपमा आयोजनाको अनुगमन गरे । त्यस क्रममा कँडेल र नगरप्रमुख ढकालले आयोजना लक्ष्य अनुसार तीव्र गतिमा अघि बढेको र यसलाई निरन्तरता दिनुपर्ने बताए । यो आयोजना तीनै तहका सरकारको संयुक्त लागतमा निर्माण भइरहेको छ । आयोजनामा संघीय सरकारको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र नगरपालिकाको ७ प्रतिशत लगानी छ । आयोजनाको निर्माण चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसनले गत वर्षदेखि गरिरहेको छ ।
_C3QKKlU0AL.jpg)
आयोजनाका कन्सल्टेन्ट प्रमुख रमेश अधिकारीका अनुसार, अहिलेसम्म आयोजनाको भौतिक प्रगति करिब १४ प्रतिशत रहेको छ । पहिलो प्याकेज अन्तर्गत ३ अर्ब ५ करोड ८ लाख १५ हजार २८०.६१ रुपैयाँ लागतमा काम भइरहेको आयोजना अन्तर्गत यतिबेला नदीदेखि ७ किलोमिटर दुरीमा रहेको वीरेन्द्रनगर नगरपालिका–११ को अमृतडाँडामा मुख्य रिजर्भ ट्याङ्की निर्माणको काम भइरहेको छ । त्यहाँ तीनवटा ठुला ट्याङ्कीहरू बन्दैछन् । साथै पहिलो प्याकेजको पाइप बिछ्याउने काम १६ किलोमिटर सकिएको कन्सल्टेन्ट प्रमुख अधिकारीले बताए ।
_tcDAVD5oyd.jpg)
बजार क्षेत्रमा ३५ किलोमिटर पाइप बिछ्याइनेछ । उनका बुझाइमा यही लक्ष्यका साथ काम भए समयसीमामै आयोजना सम्पन्न हुनेछ । आयोजना सन् २०२७ मा सम्पन्न गर्ने समयसीमा छ । यो आयोजना मेलम्चीपछिको दोस्रो ठुलो र पम्पिङका हिसाबले नेपालकै सबैभन्दा ठुलो खानेपानी आयोजना भएको अधिकारी बताउँछन् । यो आयोजना कार्यान्वयनका लागि खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत वीरेन्द्रनगर आयोजना कार्यान्वयन इकाईको कार्यालय नै स्थापना गरिएको छ ।
_P9XkjQSdEE.jpg)
अनुगमन पश्चात् मुख्यमन्त्री यामलाल कँडेलले भने, ‘विगतमा निर्माण प्रक्रियाका कतिपय चरणहरू पूरा नगरी कार्यान्वयनमा जाँदा केही अलमल देखिएको थियो । अहिले प्रभावकारी रूपमा काम भइरहेको पाइयो ।’ उनले भनेजस्तै आयोजनाको चर्चा ७० को दशकको सुरुवातदेखि नै चलेको थियो । तर, विभिन्न कारणले अघि बढ्न सकेन । गत वर्षदेखि मात्रै औपचारिक रूपमा कार्यान्वयनमा गएको हो ।
_rSp2gl1LSL.jpg)
‘छिटो योजना आओस् भन्ने चाहना र मनोविज्ञानका कारण विगतमा केही समस्या भए पनि अब प्रदेश सरकार र नगरपालिकाबीच कुनै अन्योल छैन,’ कँडेलले भने, ‘बजेटकै कारण आयोजना प्रभावित हुने अवस्था पनि छैन ।’ कँडेलले ठेकेदार कम्पनीलाई अहिले जुन गतिमा काम भइरहेको छ, सोही अनुसार निरन्तरता दिन निर्देशन दिए । कँडेलका बुझाइमा यो आयोजना वीरेन्द्रनगरबासीका लागि मात्र नभई सिङ्गो प्रदेश राजधानीको गौरव र भरोसाको आयोजना हो ।
_m62XOD4JbI.jpg)
नगरप्रमुख मोहनमाया ढकालले भेरी पम्पिङ खानेपानी आयोजना वीरेन्द्रनगरको नगर गौरवको आयोजना मात्र नभएर प्रदेशले नै गौरव गर्ने आयोजना भएको बताइन् । उनका अनुसार, संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको साझा लगानीमा र नगरपालिकाको नेतृत्वमा भएको यो आयोजना बजेटको हिसाबले पनि ७५३ पालिकामै सबैभन्दा ठूलो हो ।
_or6Vvm8KeV.jpg)
‘पम्पिङ प्रविधिबाट नेपालमै पहिलो परियोजना र वीरेन्द्रनगरबासीलाई सन् २०५० सम्म खानेपानी पुग्ने अनुमानसहित सुरु गरिएको योजना हो यो,’ उनले भनिन्, ‘यसमा सबै अग्रसर भएर लाग्नुभएको छ । जंगल क्षेत्रको रुख कटानको समस्या समाधान भइसक्यो ।’ त्यो सबैको सहयोगका कारण मात्रै सम्भव भएको उनी बताउँछिन् । उनले थपिन्, ‘जुन गतिमा अहिले काम भइरहेको छ, यही गतिमा एकमत भएर अगाडि बढ्न सक्यौँ भने निर्धारित समयमै यो काम सम्पन्न हुन्छ भन्ने हाम्रो विश्वास छ ।’
उनका अनुसार, दोस्रो प्याकेजको कामका लागि पनि टेन्डर खुलिसकेको छ । पहिलो प्याकेजको काम निर्धारित समयमा सम्पन्न भइसकेपछि दोस्रो चरणमा आम नागरिकको घरघरमा वितरण प्रणालीका काम अघि बढ्ने उनले बताइन् । ‘त्यो दुई वर्षमा सबै कामहरू सम्पन्न हुनेछ,’ उनले भनिन् ।
(तस्बिरहरू : रातोपाटी)
प्रतिक्रिया