शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
स्थलगत रिपोर्टिङ

आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा

केन्द्र सरकारलाई गुहार्दासमेत केही लागेन : नगरप्रमुख यादव
शुक्रबार, ०८ साउन २०८३, १७ : ००
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • रौतहटको राजदेवी नगरपालिका, ब्रह्मपुरी गाउँका बासिन्दा वर्षायाम सुरु भएसँगै बागमती नदीको बाढीले घर डुबानमा पार्ने डरले त्रसित छन् ।
  • स्थानीयका अनुसार तीन दशकअघि निर्माण गरिएको बाँध मर्मतसम्भारको अभावमा जीर्ण बनेको छ र ठूलो पानी परेमा भत्किने जोखिममा छ ।
  • सरकारले बाढी प्रभावित क्षेत्रका जनताको सुरक्षामा वास्ता नगरेको र भारतीय क्षेत्रमा बलियो तटबन्ध निर्माण भएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

जनकपुरधाम । उमेरले साढे ६ दशक पार गरेकी जगमती देवी बैठा रौतहटको राजदेवी नगरपालिका, ब्रह्मपुरी गाउँस्थित बागमती नदी किनारको बाँध भएको स्थानमा टोलाएर बसेकी छन् । पटक–पटक बाढीले घर डुबानमा पार्ने गरेकाले उनी वर्षायाम सुरु भएसँगै त्रसित छिन् ।

बागमतीमा पानीको सतह बढेको देखाउँदै उनले भनिन्, ‘यहाँ जति पानी बढ्छ, हामी त्यत्तिकै त्रसित हुन्छौँ । ३ वर्ष पहिला आएको बाढीले गाउँ नै बेहालमा पारिदिएको थियो । खेतबारीमा लगाएको धानको बालीसँगै घरमा भएको अन्नपात र सामान बगाएर लगेको थियो ।’

rauthat-duban-bramhpuri2

जेनतेन आफू र परिवार जोगिए पनि ३ वर्ष अघिको नियति फेरि नदोहोरिएला भन्ने अवस्था नरहेको बैठाले बताइन् । ‘वर्षायाम सुरु भएको छ । घरविहीन हुनुपर्ने हो कि भन्ने डर लागिरहन्छ,’ उनले भनिन् । ०५० सालमा आएको विनाशकारी बाढीमा आफूले रातभरि छानोमाथि बसेर ज्यान जोगाएको अनुभव उनले सुनाइन् ।

rauthat-duban-bramhpuri3

उनीमात्रै हैन, सोही ठाउँका रामदत्त दासको पनि यस्तै चिन्ता छ । पेसाले कार्यालय सहयोगी उनी ०५० सालमा आएको बाढीले गाउँका ३ जनाको मृत्यु भएको बताउँछन् । उनले भने, ‘त्योबेला कैयौँ परिवार घरविहीन हुनुपरेको थियो । अहिले सरकारले कमसल भए पनि बाँध त बनाइदिएको छ, तर यसको पनि के भर ?’

वर्षायाम सुरु भएसँगै मनमा एक किसिमको त्रास थपिएको दासले बताए । उनले भने, ‘फेरि बाढीले धनजन, खेतीबालीको नोक्सानी नहोस् भनेर भगवानसंँग दिनहुँ प्रार्थना गर्ने गरेको छु ।’ ०५० सालको बाडीमा आफूले रातभरि रुखमा बसेर ज्यान जोगाएको उनले सुनाए ।

२०५० सालमा सरकारले यो बाँध निर्माण गरे पनि मर्मतसम्भारको अभावमा धेरै अहिले स्थानमा कटान भएको छ । पुनर्निर्माणमा ध्यान नदिँदा बाँध नजिकै रहेका गाउँ बाढी र डुबानको जोखिममा परेका छन् । दासले भने, ‘बाँध भएको स्थान अनुगमन गर्नुस्, धेरै ठाउँमा चिरा परेको छ । ठुलो पानी प¥यो भने बाँध भत्काएर नदीको पानी गाउँ प्रवेश गर्न सक्छ ।’

यो बाँधको केही हिस्सा चीन सरकारको सहयोग र केही भारत सरकारको सहयोगमा निर्माण भएको हो । स्थानीयका अनुसार ३ दशक अघि निर्माण गरिएको बाँधमा गिट्टी, ढुंगा नभई बालुवामात्र थुपारेको स्थानीयको गुनासो छ ।

Jagmati devi baitha-bramhapuri, rauthat

त्यसपछि नदीले कटान गरेका कैयौँ स्थानमा ढुंगागिट्टी सहितको तारजाली लगाएर भरिएको छ । तारजाली लगाइएको स्थान केही सुरक्षित भए पनि मुख्य बाँधको संरचना कमजोर भएकाले खतरा निम्तिन सक्ने स्थानीय रामनरेश सिंहले बताए ।

उनले भने, ‘देशमा राजनीतिक परिवर्तनले ठुलो फड्को मारेको छ । संघ, प्रदेशदेखि स्थानीय तहसम्मका सरकार छन् । बाढीको प्रभावित क्षेत्र आसपास भएका जनताको सुरक्षाका लागि भने कुनै सरकारले वास्ता गरेका छैनन् ।’

rauthat-duban-bramhpuri4

ठुलो पानी परेसँगै राजेदवी नगरपालिकाको ब्रह्मपुरी, चण्डिहासबतपुर, पताही, माठकटरवन, सेढवा, मोहनपुर, बलरा लगायतका स्थान प्रभावित बन्ने गरका छन् । वर्षायाममा आकाशमा कालो बाँदल मडारिना साथ यहाँका बासिन्दा बाढीको त्रासमा बस्न बाध्य हुन्छन् ।

उमेरले ७ दशक पार गरेका जगदीस दासले भने, ‘पानी पर्न थाल्यो भने हामी रातभरि सुत्न सक्दैनौँ ।’

rauthat-duban-bramhpuri6

बाढीको जोखिममा रहेको भारतीय क्षेत्रमा त्यहाँको सरकारले बलियो तटबन्ध निर्माण गरिदिएको भन्दै उनले नेपाल सरकारले आफ्ना नागरिकको सुरक्षामा त्यसरी ध्यान दिन नसकेको गुनासो गरे । भारत सरकारले प्रत्येक वर्ष बाँधको पुनर्निर्माणमा ध्यान दिदा बाँधको उचाइ नेपालतिरको तुलनामा धेरै अग्लो भइसकेको उनले सुनाए ।

rauthat-duban-bramhpuri8

राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारीराय यादवले बागमती नदी किनारका बाँध धेरै पुरानो भएको बताए । उनले रातोपाटीसँग भने, ‘बाँधकै कारण नगरभित्र कुनै अप्रिय घटना नहोस् भनेर केन्द्रदेखि प्रमुख जिल्ला अधिकारीसम्मलाई पत्र पठाएका छौँ तर कुनै सुनुवाइ भएन ।’

rauthat-duban-bramhpuri5

बाँध भएर मोटरसाइकल, जीप तथा साइकल गुड्ने गर्छन् । बाँधमा कुनै अप्रिय घटना नहोस् भनेर नगरपालिकाले बोराभित्र बालुवा हालेर भर्ने, पानी पन्छाउने तथा केही भइहाले परिचालनका लागि जेसीबी तयारी अवस्थामा राखेको नगर प्रमुख यादवले जनाए ।

rauthat-duban-bramhpuri9

स्थानीयले जीर्ण भइसकेको बाँधको उचाइ बढाउनुपर्ने, बाँधको तल तारजाली हालेर तटबन्ध निर्माण गर्नुपर्ने, पानीको बहाव परिवर्तन हुने स्थानमा विशेष निगरानी बढाउनुपर्ने, भारततिर निर्माण गरिएजस्तै बाँध निर्माणमा सरकार र अधिकारीहरूको विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

rauthat-duban-bramhpuri11

नदीमा पानीको सतह बढेर गाउँमा पानी छिर्ने अवस्था आएमा पूर्वसूचना दिने कुनै संयन्त्रको व्यवस्था छैन् । एक दशक अघि राज्यबाट गाउँबासीलाई पूर्वसूचना दिन माईक, टर्च, त्रिपाल लगायतका सामग्री प्रदान गरिए पनि अहिले त्यस्तो व्यवस्था केही नरहेको स्थानीय बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप