समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
टाेकियाे । उच्च प्रविधिमा प्रयोग हुने दुर्लभ पृथ्वी खनिजको आपूर्ति सुरक्षित गर्ने रणनीतिअन्तर्गत जापानले आगामी फेब्रुअरीमा प्रशान्त महासागरको करिब ६ हजार मिटर गहिराइमा पूर्णस्तरको समुद्री खनन परीक्षण गर्ने भएको छ । हालै समुद्री सतहबाट सफलतापूर्वक नमूना सङ्कलन भएपछि सरकारले यो योजना सार्वजनिक गरेको हो ।
जापानी प्रधानमन्त्री साने ताकाइचीले यस वर्षको सुरुमा मिनामी तोरिशिमा टापुनजिक गहिरो समुद्री ड्रिलिङ जहाजबाट ल्याइएका नमूनामा यट्रियम फेला परेको जानकारी दिएकी छन् । उनका अनुसार यट्रियम विश्वमै दुर्लभ मानिने खनिज हो ।
यसको प्रयोग अर्धचालक (सेमिकन्डक्टर) उत्पादन उपकरण, मोटर वाहन उद्योग तथा प्रदूषण नियन्त्रण प्रविधिमा व्यापक रूपमा हुने भएकाले जापानका लागि यसको रणनीतिक महत्त्व उच्च रहेको छ ।
प्रधानमन्त्री ताकाइचीले यही उपलब्धिका आधारमा अर्को वर्ष फेब्रुअरीमा पूर्णस्तरको समुद्री खनन परीक्षण गरिने बताइन् । साथै कुनै एक देशमा अत्यधिक निर्भरता घटाउन सरकार र निजी क्षेत्रको संयुक्त सहभागितामा दुर्लभ खनिजको आपूर्ति शृङ्खला थप सुदृढ बनाइने उलले उल्लेख गरिन् ।
जापान एजेन्सी फर मरीन–अर्थ साइन्स एन्ड टेक्नोलोजी (ज्यामस्टेक) का अनुसार समुद्री सतहबाट सङ्कलन गरिएको करिब ५० टन नमूनामा यट्रियमसँगै ग्याडोलिनियम र डिस्प्रोसियमजस्ता अन्य दुर्लभ पृथ्वी तत्त्व पनि भेटिएका छन् ।
जापान, संयुक्त राज्य अमेरिका तथा अन्य केही मुलुकले मिसाइल, अर्धचालक, विद्युतीय सवारीसाधन र पवन टर्बाइनजस्ता उच्च प्रविधिका उत्पादनमा आवश्यक पर्ने दुर्लभ खनिजका लागि चीनमाथिको निर्भरता कम गर्ने प्रयास गरिरहेका छन् ।
मार्चमा प्रधानमन्त्री ताकाइचीले मिनामी तोरिशिमा क्षेत्रको सम्भावित समुद्री खानी विकासका विषयमा संयुक्त राज्य अमेरिकासँग सहकार्यबारे छलफल भइरहेको जानकारी दिएकी थिइन् । टोकियोबाट करिब दुई हजार किलोमिटर टाढा रहेको उक्त प्रवाल टापु वरपरका समुद्री सतहमा लाखौँ टन दुर्लभ पृथ्वी खनिज रहेको र त्यसले केही खनिजको माग सयौँ वर्षसम्म धान्न सक्ने अघिल्ला अध्ययनहरूले देखाएका छन् ।
यद्यपि वातावरण संरक्षणका पक्षधरहरूले गहिरो समुद्री खननले समुद्री जैविक प्रणालीमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार विश्वको दुर्लभ पृथ्वी खनिज उत्पादनको करिब दुई तिहाइ तथा प्रशोधित उत्पादनको ९२ प्रतिशत हिस्सा चीनले ओगटेको छ ।
ताइवानसम्बन्धी प्रधानमन्त्री ताकाइचीको अभिव्यक्तिपछि बेइजिङसँग सम्बन्ध चिसिँदा चीनले जापानतर्फ हुने दुर्लभ खनिज आपूर्तिमा कडा प्रतिबन्ध लगाएको थियो ।
जापानी अधिकारीहरूले मिनामी तोरिशिमा क्षेत्रमा सम्भावित आणविक फोहोर व्यवस्थापनस्थलका रूपमा पनि प्रारम्भिक अध्ययन अघि बढाउने योजना रहेको बताएका छन् । उक्त टापुमा स्थायी बस्ती छैन र सर्वसाधारण तथा पर्यटकका लागि प्रवेश निषेध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण