शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह

शुक्रबार, ०८ साउन २०८३, १६ : १०
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • पूर्वमन्त्री प्रभु साहले धान रोपाइँको मुख्य समयमा किसानलाई पर्याप्त मल उपलब्ध गराउन नसकेको भन्दै कृषि मन्त्री गीता चौधरीको राजीनामा मागेका छन्।
  • साहले दुईतिहाइ बहुमतको सरकार भए पनि किसानले सरकार भएको अनुभूति गर्न नसकेको र सरकार किसानका समस्या समाधान गर्न असफल भएको दाबी गरे।
  • उनले सरकारले किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन नसकेको र छिमेकी मुलुकबाट ल्याएको मलसमेत खोस्ने काम स्वीकार्य नहुने बताए।

बारा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रासायनिक मलको अभाव समाधान गर्न नसकेको भन्दै कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको राजीनामा माग गरेका छन्।

आम किसान मोर्चाले शुक्रबार बाराको कलैयामा आयोजना गरेको ‘मलखादको हाहाकार : आपूर्तिमा असफल सरकार’ कार्यक्रममा बोल्दै उनले धान रोपाइँको मुख्य समयमा पनि किसानले पर्याप्त मल नपाउनु सरकारको असफलता भएको बताए ।

'कृषिप्रधान देशमा धान रोपाइँको समयमा किसानले मल पाएका छैनन्। किसानलाई मल उपलब्ध गराउन नसक्ने मन्त्रीलाई पदमा बस्ने नैतिक अधिकार छैन। असफल कृषि मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ,' साहले भने।

उनले दुईतिहाइ बहुमतको सरकार भए पनि किसानले सरकार भएको अनुभूति गर्न नसकेको दाबी गरे । किसानका समस्या समाधान गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले सरकार असफल हुन नपाउने बताए ।

साहले सरकारले किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन नसकेको आरोप लगाए । भारतबाट मल ल्याउन खोज्ने किसानलाई समेत दुःख दिने काम स्वीकार्य नहुने उनको भनाइ थियो।

तराई–मधेससहित देशभरका किसान समस्यामा रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले किसानलाई राहत दिन नसकेको आरोप लगाए। 'किसानलाई मल दिन नसक्ने, तर छिमेकी मुलुकबाट ल्याएको मलसमेत खोस्ने अधिकार सरकारलाई कसले दियो?' भन्दै उनले प्रश्न गरे ।

चुनावका बेला ठूला प्रतिबद्धता गर्ने तर सरकारमा पुगेपछि युवा, विद्यार्थी र किसानका समस्या समाधान गर्नुको सट्टा सरकार रमिते बनेको उनको टिप्पणी थियो ।

आम किसान मोर्चा बाराका अध्यक्ष मदन साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपा नेता अशोक लामा, संविधानसभा सदस्य तथा आजपा नेता आत्माराम साहलगायतको सहभागिता रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप