तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
सारांश
- बुटवल कृषि उपज थोक बजार केन्द्रमा एक वर्षमा ३१ सयभन्दा बढी तरकारी तथा फलफूलका नमुना परीक्षण गरिएको छ, जसमा ९ प्रकारका तरकारी नष्ट गरिएका छन् ।
- विषादीको अवशेष देखिएका तरकारीलाई ११ पटक क्वारेन्टाइनमा राखिएको छ र अवस्था हेरेर तीनदेखि चार दिनसम्म प्राविधिकको निगरानीमा राखिएको छ ।
- विषादीको मात्रा बढी देखिएमा पहिलो पटक मौखिक, दोस्रो पटक लिखित सचेत गराउने र तेस्रो पटक जरिबाना गर्ने व्यवस्था छ, तर हालसम्म कसैलाई जरिबाना गरिएको छैन ।
बुटवल । बुटवल कृषि उपज थोक बजार केन्द्रमा एक वर्षको अवधिमा ३१ सयभन्दा बढी तरकारी तथा फलफूलका नमुना परीक्षण गरिएको छ । परीक्षणका क्रममा विषादीको मात्रा बढी देखिएका विभिन्न ९ प्रकारका तरकारी नष्ट गरिएको छ ।
यो अवधिमा विषादीको अवशेष देखिएका तरकारीलाई ११ पटक क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका तरकारीलाई अवस्था हेरेर तीनदेखि चार दिनसम्म प्राविधिकको निगरानीमा राख्ने गरिएको छ ।
बुटवल उपमहानगरपालिका–६ मा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्रमा २०८२ साउन १ गतेदेखि २०८३ को असार ३२ गतेसम्म ३ हजार एक वटा तरकारीका नमुना र ९९ वटा फलफूलका नमुना परीक्षण गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला बुटवलले जनाएको छ ।
प्रयोगशालाका अनुसार परीक्षण गरिएका नमुनामध्ये २ हजार ९६१ वटा नियमित नमुना र १३९ वटा शङ्कास्पद नमुना छन् । तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षणका लागि दैनिकजसो बिहानै नमुना सङ्कलन गरी परीक्षण गर्ने गरिएको छ ।
प्रयोगशालाका नायब प्राविधिक सहायक राजीव भण्डारीका अनुसार एक वर्षको अवधिमा दैनिक नमुना सङ्कलन तथा परीक्षण गर्ने क्रममा नौ पटक तरकारी खान अयोग्य देखिएपछि नष्ट गरिएको छ । यस्तै ११ पटक गरी २२ सय किलोग्राम तरकारीलाई क्वारेन्टाइनमा राखिएको उनले रातोपाटीलाई बताए ।
‘सामान्यतया विषादी प्रयोग भएको आशङ्का वा परीक्षणबाट त्यस्तो अवस्था देखिएमा तरकारीको अवस्थाअनुसार तीनदेखि चार दिनसम्म क्वारेन्टाइनमा राख्ने गरिन्छ,’ भण्डारीले भने ।
बुटवल कृषि उपज थोक बजार केन्द्रमा नेपालका विभिन्न जिल्लाका साथै भारत र केही मात्रामा चीनबाट समेत तरकारी तथा फलफूल आउने गरेको छ । यहाँबाट थोक व्यापारीले चितवन, स्याङ्जा, बागलुङ, दाङ, रोल्पा, रुकुम, सुर्खेत तथा धनगढीसम्म तरकारी तथा फलफूल लैजाने गरेका छन् ।
कुन–कुन तरकारीमा विषादी भेटियो ?
प्रयोगशालाका प्राविधिक राजीव भण्डारीका अनुसार विषादी भेटिएपछि रुपन्देहीको मर्चवारमा उत्पादित काउली र ब्रोकाउली चार पटक नष्ट गरिएको छ । त्यस्तै रुपन्देहीको मनपकडीमा उत्पादित रायोको साग दुई पटक नष्ट गरिएको छ ।
चितवनबाट ल्याइएको काँक्रो र तनेबोडी, मकवानपुरबाट ल्याइएको काउली तथा कपिलवस्तुबाट ल्याइएको तरकारीसमेत परीक्षणपछि खान अयोग्य देखिएपछि नष्ट गरिएको भण्डारीले बताए । यस अवधिमा भारत र चीनबाट आउने फलफूल तथा तरकारीसहित नेपालका २७ जिल्लाबाट ल्याइएका कृषि उपजको नमुना परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा रुपन्देहीमा उत्पादित तरकारी ६ पटक नष्ट गरिएको छ । त्यस्तै चितवनबाट ल्याइएका तरकारी दुई पटक र मकवानपुर तथा कपिलवस्तुबाट ल्याइएका तरकारी एक–एक पटक नष्ट गरिएको छ । भारतबाट ल्याइएको काँक्रासमेत एकपटक क्वारेन्टाइनमा राखिएको थियो ।
यस्तै, विषादीको अवशेष देखिएका कारण तत्काल खान नमिल्ने तरकारी तथा फलफूललाई तीनदेखि चार दिनसम्म प्राविधिकको निगरानीमा राख्ने गरिएको छ । पछिल्लो एक वर्षमा किसानबाट ल्याइएका कृषि उपज ११ पटक क्वारेन्टाइनमा राखिएको छ ।
क्वारेन्टाइनमा राखिएका कृषि उपजमा रुपन्देही, चितवन, धादिङ, सल्यान र बारा जिल्लाबाट आएका तरकारी तथा भारतबाट ल्याइएको केरासमेत छन् । यस क्रममा खुर्सानी, काँक्रा, करेला, काउली, घिरौँला र रायोको सागलाई क्वारेन्टाइनमा राखिएको प्रयोगशालाले जनाएको छ ।
क्वारेन्टाइनमा राखिएका कृषि उपजको कुल मात्रा करिब २२ सय किलोग्राम रहेको प्राविधिक भण्डारीले बताए । जिल्लागत रूपमा हेर्दा रुपन्देहीबाट ल्याइएका तरकारी चार पटक क्वारेन्टाइनमा राखिएका छन् । चितवनबाट ल्याइएका तरकारी दुई पटक, धादिङबाट आएका तरकारी दुई पटक तथा सल्यानबाट ल्याइएको तरकारी एकपटक क्वारेन्टाइनमा राखिएको छ ।
बजारमा आउने तरकारी तथा फलफूलको नमुना परीक्षण गरी विषादीको मात्रा उच्च देखिएमा नष्ट गर्ने र तत्काल खान नमिल्ने तर केही समयपछि खान योग्य हुने देखिएमा क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गर्ने गरिएको प्रयोगशालाले जनाएको छ ।
कारबाही के हुन्छ ?

बुटवल कृषि उपज थोक बजार केन्द्रमा आउने तरकारी तथा फलफूलमा विषादीको अवशेष भेटिएमा विषादी अवशेष द्रुत विश्लेषणसम्बन्धी निर्देशिकाअनुसार कारबाही गरिने गरिएको छ ।
परीक्षणका क्रममा विषादीको मात्रा बढी देखिएमा पहिलो पटक किसान वा व्यापारीलाई मौखिक रूपमा सचेत गराउने गरिएको छ । खान अयोग्य देखिएको कृषि उपज नष्ट गरिन्छ भने निश्चित अवधि क्वारेन्टाइनमा राखेपछि खान योग्य हुने देखिएमा पुनः प्रयोग गर्न दिइन्छ ।
दोस्रो पटक सोही किसान वा व्यापारीको कृषि उपजमा विषादीको मात्रा बढी भेटिएमा लिखित रूपमा सचेत गराउने गरिएको छ । तेस्रो पटक पनि त्यस्तै अवस्था दोहोरिएमा दण्ड तथा जरिबाना गर्ने व्यवस्था रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाका नायब प्राविधिक सहायक राजीव भण्डारीले बताए ।
तर, पछिल्लो एक वर्षको अवधिमा एउटै किसान वा व्यापारीको कृषि उपजमा तेस्रो पटक विषादी भेटिएको अवस्था नरहेको उनले बताए । त्यसैले यस अवधिमा कसैलाई दण्ड तथा जरिबाना गरिएको छैन ।
बुटवल कृषि उपज थोक बजार केन्द्रमा दैनिक ठुलो मात्रामा तरकारी तथा फलफूल आउने गरेका छन् । ती कृषि उपजमध्येबाट नियमित रूपमा नमुना सङ्कलन गरी परीक्षण गर्ने गरिएको प्रयोगशालाले जनाएको छ ।
उत्पादनस्थलमै परीक्षण गर्न व्यवसायीको माग
लुम्बिनी फलफूल तथा तरकारी व्यवसायी सङ्घका पूर्वअध्यक्ष भोजित शाहले तरकारी तथा फलफूलको विषादी परीक्षण बिक्री केन्द्रमा नभई उत्पादनस्थलमै गर्नुपर्ने माग गरेका छन् ।
उनले भारतबाट आउने तरकारी तथा फलफूल बुटवल आइपुग्दासम्म विषादीको प्रभाव धेरै हदसम्म कम भइसकेको हुन सक्ने बताए । सामान्यतया विषादी प्रयोग गरेको केही दिनपछि कृषि उपज खान योग्य हुने भएकाले भारतबाट आउने तरकारी तथा फलफूलमा बुटवलमा परीक्षण गर्दा विषादी नदेखिने गरेको उनको दाबी छ ।
‘पाल्पा, सल्यानलगायतका जिल्लाबाट तरकारी बुटवल ल्याएर परीक्षण गर्नुभन्दा सम्बन्धित स्थानीय तहले उत्पादनस्थलमै परीक्षण गरेर पठाउने व्यवस्था गर्नुपर्छ,’ शाहले भने ।
उनका अनुसार बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिहान नमुना सङ्कलन गरी परीक्षणको रिपोर्ट आउँदासम्म १०–११ बज्ने गरेको छ । त्यतिबेलासम्म बजारमा आएका केही तरकारी उपभोक्ताले खरिद गरी खाइसक्ने भएकाले परीक्षण प्रणालीलाई उत्पादनस्थलमै प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण