चौराहा–गोलपार्क सडक निर्माणको म्याद तेस्रो पटक थपियो
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको चौराहा–गोलपार्क सडक निर्माणको म्याद तेस्रो पटक थप गरिएको छ। असार मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले तोकिएको समयसीमाभित्र काम पूरा गर्न नसकेपछि म्याद थप गरिएको हो।
सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर नवराज बास्तोलाका अनुसार अब निर्माण सम्पन्न गर्न २०८३ असोज २० गतेसम्मको समय दिइएको छ ।
साढे तीन किलोमिटर सडक विस्तारका लागि २०७३ चैत १७ गते कञ्चनजंघा–बिरुवा जेभीसँग २०७६ सालसम्म निर्माण सम्पन्न गर्ने गरी ५३ करोड ९७ लाख ९९ हजार ४ सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
तर, आठ वर्षसम्म पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएपछि सडक डिभिजन कार्यालय बुटवलले २०८१ वैशाखमा उक्त ठेक्का रद्द गरेको थियो ।
ठेक्का रद्द भएपछि बावुल दर्शन–मालिका जेभी, भैरहवासँग २०८१ असोज १८ गते एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भ्याटसहित ३३ करोड रुपैयाँमा नयाँ ठेक्का सम्झौता गरिएको थियो ।
सम्झौताअनुसार २०८२ असोज १८ गतेसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि निर्माण पूरा नभएपछि पहिलो पटक म्याद थप गरी चैत १२ गतेसम्मको समय दिइएको थियो ।
उक्त समयसीमाभित्र पनि काम सम्पन्न नभएपछि दोस्रो पटक म्याद थप गरी असार मसान्तसम्मको समय दिइएको थियो । सो अवधिमा पनि निर्माण सम्पन्न नभएपछि पुनः तेस्रो पटक म्याद थप गरिएको हो ।
सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर बास्तोलाले निर्माण कम्पनीले माघसम्मको समय मागे पनि आफूले तीन महिनाका लागि मात्रै म्याद थप गरेको रातोपाटीलाई बताए ।
‘कम्पनीले माघसम्म समय मागेको थियो । तर, मैले तीन महिनाका लागि अर्थात् असोजसम्म मात्रै समय दिएको छु । अब उक्त अवधिमा काम सम्पन्न नभए सुखै छैन,’ उनले भने ।
हालसम्म सडक निर्माणको करिब ६० प्रतिशत काम सम्पन्न भएको छ । निर्माण व्यवसायीलाई १८ करोड ७७ लाख रुपैयाँ भुक्तानी भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
सर्भिस लेनतर्फ २.२ किलोमिटर र मुख्य सडक (क्यारिज वे) तर्फ ६ किलोमिटरमध्ये ३.९ किलोमिटरमा कालोपत्रे सम्पन्न भएको छ ।
त्यस्तै, सडकमा जडान गर्नुपर्ने २४० वटा स्ट्रीट लाइटमध्ये १८८ वटाको फाउन्डेसन निर्माण सम्पन्न भएको छ । फुटपाथतर्फ २.७ किलोमिटर तथा दुवैतर्फ गरी १.४ किलोमिटर रेलिङ जडानको काम सम्पन्न भएको कार्यालयले जनाएको छ ।
निर्माण व्यवसायीले तीव्र गतिमा काम गरे तोकिएको समयसीमाभित्रै सडक निर्माण सम्पन्न गर्न सकिने सडक डिभिजन कार्यालय बुटवलको भनाइ छ ।
निर्माण कम्पनी बावुल दर्शन–मालिका जेभीका सञ्चालक तथा रुपन्देही–५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तौफिक अहमद खानले तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता सडक डिभिजन कार्यालयसमक्ष जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण