शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
ढिलासुस्ती

निर्वाचनपछि पनि सभा सञ्चालनका लागि तयार नहुने भयो नयाँ संसद् भवन

१२ प्रतिशतले अड्कायो, निर्माण व्यवसायीले मागे अझै ९ महिना म्याद
मङ्गलबार, २२ पुस २०८२, १६ : ००
मङ्गलबार, २२ पुस २०८२

काठमाडौँ । आगामी निर्वाचनपछि प्रतिनिधिसभा सञ्चालनका लागि सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद् भवन तयार नहुने निश्चित भएको छ । निर्माण कार्यको जिम्मा लिएका व्यवसायीले भवन सम्पन्न गर्न थप ९ महिना माग्दै निवेदन दिएका छन् । 

सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक तथा विशेष भवन निर्माण आयोजना समन्वय कार्यलय आयोजना निर्देशक सुनिलकुमार ठाकुरले भने,‘त्यो म्याद थपको निवेदन परामर्शदाताकहाँ पठाएका छौँ । कसरी म्याद थपेर अघि बढ्ने यो विषय छलफलको चरणमा छ । के कति म्याद थप्ने छलफल गर्दै छौँ ।’ 

पाँचौँ म्याद सकिँदासम्म निर्माण सम्पन्न हुन नसकेको यो भवन निर्माणमा अब छैटौँ पटक म्याद थप गर्ने तयारी भइरहेको हो । 

गत कात्तिक ८ गते निर्माणाधीन सांसद भवनको निरीक्षण गर्दै सहरी विकास मन्त्री कुलमान घिसिङले निर्माण कार्यलाई तिव्रता दिन निर्देशन दिएका थिए । उनले तत्काल राष्ट्रियसभा र फागुन २१ गते हुने चुनावपछि प्रतिनिधिसभा सञ्चालनका लागि भवन आवश्यक भएको भन्दै म्यादभित्र निर्माण सम्पन्न गर्न ठेकेदारलाई अल्टिमेटमसमेत दिएका थिए । त्यतिबेला यसकाे भौतिक प्रगति ८७  प्रतिशत थियो । त्यसयता करिब साढे दुई महिना बित्दा पनि १ प्रतिशतजति पनि काम भएको छैन । 

अब १२ प्रतिशत काम बाँकी 

भवनको मुख्य अर्थात् सिभिलका कामहरू धेरै सकिए पनि प्राविधिक र फिनिसिङका केही कामहरू बाँकी छन् । विशेष भवन निर्माण आयोजना समन्वय कार्यलयका सूचना अधिकारी रञ्जनकुमार दासका अनुसार विशेष गरी एचभीएसी, हिटिङ, भेन्टिलेसन र एयर कन्डिसनिङ र एमइपी (मेकानिकल, इलेक्ट्रिकल र प्लम्बिङ) तर्फका कामहरू बाँकी छन् । ‘म्याद थप्यो भने ठेकेदारले सकाउँछ, थोरै काम बाँकी छ,' उनले भने, ‘एचभीएसी र एमईपीका कामहरू अलिअलि बाँकी छन्, धेरै बाँकी होइन ।’ 

८८ प्रतिशत काम सकिएको भनिए पनि बाँकी सक्न ठेकेदारलाई ९ महिना लाग्ने देखिएको उनको भनाइ थियो । यसको इन्टेरियरको काम सम्पन्न हुन नसक्दा निर्माणमा ढिलाइ भइरहेको आयोजनाले जनाएको छ । 

२०७६ असोज १ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको यो भवन इन्टेरियरको कामका लागि करिब २ अर्ब ३४ करोड ५४ लाख (भ्याटसहित) ठेक्का दिइएको थियो । ०८० असार १७ गते केसी श्यामसुन्दर बानियाँ जेभीसँग ०८१ असार १६ गते इन्टेरियरको काम सम्पन्न गर्ने गरी सम्झौता थियो र तर सो अवधिमा नसकिएपछि म्याद थपिएको थियो । उक्त म्यादमा पनि नसकिएपछि फेरि दोस्रो पटक ०८२ पुस १६ गते सम्मका लागि म्याद थपिएको थियो, तर अझै काम सकिएको छैन । 

६ वर्षमा ६ पटक म्याद थप  

तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने संसद् भवन निर्माण सुरु भएको ६ वर्ष नाघिसकेको छ । यो अवधिमा पाँचौँ म्याद सकिसकेको र छैटौँ म्याद थप्ने तयारी भइरहेको छ । २०७६ असोज १६ गते सम्झौता गरिएको यो भवन बहुवर्षीय (आईसीबी) ठेक्काअनुसार ५ अर्ब ६७ करोड २७ लाख रुपैयाँ (भ्याट सहित) मा टुन्डी–सेक जेभीलाई निर्माणको जिम्मा दिइएको थियो ।

यो आयोजना सम्झौताअनुसार ०७९ असोज १६  गते सम्पन्न गर्नुपर्ने हो । तर उक्त अवधिमा निर्माण सम्पन्न हुन सकेन । पछि यसको लागत ६ अर्ब २९ करोड भ्याट र भेरिएसनसहित पुगेको छ । 

पहिलो सम्झौताअनुसार ०७९ असोज १६ गते निर्माण सम्पन्न  गर्नेगरी सम्झौता भएको थियो । उक्त अवधिमा निर्माण सम्पन्न हुन सकेन । कोरोना महामारीका कारण ढिलाइ भएको देखाइ ०८० वैशाख १४ गतेसम्मका लागि म्याद थप गरिएको थियो । यसपछि म्याद थपेर ०८० साल असोज १६ गते पुर्‍याइएको थियो । 

तर उक्त अवधिमा पनि निर्माणले गति लिन सकेन र फेरि तेस्रो पटक ०८० असोज २० गतेदेखि सोही वर्षको चैत १९ गतेसम्म म्याद थपियो ।

चौथो पटक थपिएको म्यादअनुसार ०८१ चैत १८ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर सो अवधिमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि पाँचौँ पटक ०८२ पुस १६ गतेसम्मका लागि म्याद थप गरिएको थियो । तर यो अवधिमा अझै १२ प्रतिशत काम बाँकी छ । उक्त काम सम्पन्न गर्न पुनः म्याद थप्न निर्माण व्यवसायीले निवेदन दिएपछि म्याद थपको तयारी भइरहेको आयोजनाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप