शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वैशाखमा महाधिवेशन गर्ने निर्णय कार्यान्वयन गर्ने जिम्मा महामन्त्रीहरुकै हो: एनपी साउद

मङ्गलबार, २२ पुस २०८२, १७ : ४१
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • नारायणप्रकाश साउदले आगामी वैशाखमा पार्टीको महाधिवेशन गर्ने निर्णय कार्यान्वयनको जिम्मेवारी महामन्त्रीद्वयलाई दिए।
  • उनले विशेष महाधिवेशनको मागको औचित्य नभएको र निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए।
  • साउदले कार्य सम्पादन समितिको निर्णयअनुसार महाधिवेशन गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ । नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले आगामी वैशाखमा पार्टीको १५ औँ नियमित महाधिवेशन सम्पन्न गर्ने निर्णय कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संस्थापन पक्षको अडान स्पष्ट पारेका हुन्।

महामन्त्रीद्वय थापा र शर्माले पछिल्लो समय विशेष महाधिवेशनको माग गर्दै गतिविधि तीव्र बनाएपछि नेता साउदले यस्तो टिप्पणी गरेका हुन्। उनले केन्द्रीय कार्य सम्पादन समितिले आगामी वैशाखमा महाधिवेशन गर्ने गरी कार्यतालिका परिमार्जन गरिसकेकाले सोही निर्णयको पालना हुनुपर्नेमा जोड दिए। कार्य सम्पादन समितिको निर्णय कार्यान्वयन गर्ने दायित्वबाट महामन्त्रीहरू पछि हट्न नमिल्ने उनको दाबी छ।

नेता साउदले अहिलेको परिस्थितिमा विशेष महाधिवेशनको कुनै औचित्य नरहेको समेत दोहोर्‍याए। पार्टीले निर्वाचनको तयारीमा जुट्नुपर्ने बेला भएकाले विशेष महाधिवेशनमा अल्झिनुको कुनै अर्थ नहुने उनको तर्क छ। केन्द्रीय कार्य सम्पादन समितिले विशेष अधिवेशन आवश्यक छैन भनी निर्णय गरिसकेको अवस्थामा महामन्त्रीहरूले आफ्नो जिम्मेवारी अनुकूल सोही निर्णयलाई कार्यान्वयन गर्ने कार्यभार पूरा गर्ने विश्वास उनले व्यक्त गरे।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप