बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग : खुशी, प्रतिभा र सोयालाई स्वर्ण
काठमाडौँ । बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा ललितपुरकी खुशी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले स्वर्ण पदक जितेका छन्। कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा शनिबार सम्पन्न फाइनल भिडन्तमा उनीहरूले आ–आफ्नो तौल समूहमा सफलता हात पारेका हुन्।
थलीस्थित नगरपालिकाको हातामा भएको सिनियर महिला ४९–५३ केजी तौल समूहको फाइनलमा खुशीले भक्तपुरकी सविना तामाङलाई पराजित गरिन्। त्यस्तै, ५३–५७ केजीमा चितवनकी प्रतिभाले काठमाडौंकी अनुरा श्रेष्ठलाई र ५७–६१ केजीमा भक्तपुरकी सोयाले काभ्रेकी एलिना बन्मालीलाई हराउँदै स्वर्ण जिते। जुनियरतर्फ पुरुष ४१–४४ केजीमा काठमाडौंका राहुल हाङ लिम्बू र महिला ३१–३४ केजीमा काठमाडौंकै सुप्रिया जोशी पहिलो भए। जुनियर पुरुष ४४–४७ केजीमा नुवाकोटका सुदिप तामाङ र जुनियर महिला ३४–३७ केजीमा काठमाडौंकी जोबियानी तामाङले स्वर्ण पदक जितेका छन्।
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले उद्घाटन गरेको यस प्रतियोगितामा २ सय २७ खेलाडीले सहभागिता जनाएका छन्। सिनियर र जुनियर गरी जम्मा २० वटा स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। यो लिगको दोस्रो संस्करणको पहिलो खेल हो। लिग प्रणालीअन्तर्गत हरेक तीन महिनाको अन्तरालमा वर्षभरि चारवटा प्रतियोगिता आयोजना गरिने प्रावधान रहेको छ।
खेलाडीहरूको प्रदर्शनलाई प्रोत्साहन गर्न विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ। हरेक तौल समूहमा पहिलो हुनेलाई १०, दोस्रोलाई ७ र तेस्रोलाई ३ अंक प्रदान गरिनेछ। चारवटै लिग सकिएपछि प्राप्त अंकका आधारमा उत्कृष्ट घोषित हुने एक पुरुष र एक महिला खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ। मोटरसाइकल र खेलाडीको अन्य सुविधाको व्यवस्थापन जिल्ला समन्वय समिति काठमाडौंले गर्नेछ।
प्रतियोगिताको अन्तिम लिगको समाप्तिमा हरेक तौल समूहका शीर्ष तीन खेलाडीले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार समेत पाउनेछन्। उपत्यका बाहिरबाट आएर शीर्ष तीनमा पर्न सफल खेलाडीलाई आगामी लिगहरूमा खाना, बस्न र यातायातको सुविधा समेत दिने गरी खेलाडीमैत्री योजना अघि सारिएको बागमती प्रदेश तेक्वान्दो संघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्यालस रंगशालामा जापान र स्विडेनको भिडन्त, पहिलो हाफ गोलरहित बराबरी
-
ट्युनिसियाविरुद्ध नेदरल्याण्ड्सको सानदार सुरुवात, पहिलो हाफमै २–० को अग्रता
-
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
-
नदीजन्य पदार्थ उत्खनन रोक
-
एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण