शरीरमा गोली, मनमा क्रान्ति : राष्ट्रिय सभा छिर्ने तरखरमा पूर्वलडाकु
सारांश
- बाँकेका सर्जन विक नेकपाबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेका छन्, उनी माओवादीको जनमुक्ति सेनामा घाइते भएका थिए।
- विकलाई अपाङ्ग कोटाबाट उम्मेदवार बनाइएको हो, उनले बुटवल आक्रमणमा कम्मरमुनिको भाग गुमाएका थिए।
- राष्ट्रिय सभा सदस्य निर्वाचनमा विकको प्रतिस्पर्धा वासुदेव घिमिरेसँग हुनेछ, जसमा अन्य उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्।
बुटवल । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ का सर्जन विक तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाका तर्फबाट २०६१ सालमा बुटवलमा भएको आक्रमणमा घाइते भएमध्येका एक हुन् ।
बुटवल आक्रमणका क्रममा नेपाली सेना तथा प्रहरी र तत्कालीन माओवादीका जनमुक्ति सेना कतिको मृत्यु भयो, कति घाइते भए यकिन विवरण त छैन, तर जनमुक्ति सेनाबाट लडेका विक अहिले लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाका उम्मेदवार हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उनलाई अपाङ्ग कोटाबाट उम्मेदवार बनाएको हो ।
नेकपाले लुम्बिनी प्रदेशका तीन कोटाका लागि तीन वटै सदस्यमा मनोनयन दर्ता गराएको छ । महिला कोटाबाट बराङ्दी गाउँपालिका–१, पाल्पाकी दुर्गाकुमारी भण्डारी, अन्य कोटामा बर्दघाट नगरपालिका–१४, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का बृहस्पति अधिकारीले उम्मेदवारी दिएका छन् । विक जनक्रान्ति घाइते तथा अपाङ्ग सङ्घका केन्द्रीय सदस्य पनि हुन् र तत्कालीन माओवादी, बाँकेका जिल्ला सदस्य पनि ।
कसरी घाइते भए विक ?
कालिकोटको रास्कोट नगरपालिका वडा ८ मा जन्मिएका विक स्थानीय जनजागृति माविमा पढ्दै गर्दा देशभर तत्कालीन माओवादी पार्टीको हुइँया (लहर) चल्यो । २०५४ सालमा कक्षा ८ मा पढ्दै गरेका उनी पनि सुरुमा विद्यार्थी मोर्चाबाट पार्टी प्रवेश गरेका थिए । उनका दाइ पनि सोही पार्टीमा लागेर तत्कालीन छापामार बनेका थिए । सुरुमा विद्यार्थी मोर्चा सम्हालेका विक एक वर्षपछि जनमुक्ति सेनामा सामेल भएका थिए ।
त्यसपछि उनले जनमुक्ति सेनाको कम्पनी कमान्डसम्म नेतृत्व गरे । जनयुद्धमा पार्टीभित्रका अन्य विभिन्न विभागहरूमा पनि उनले काम गरे । उनी जुम्ला, म्याग्दी आक्रमण, बर्दियाको रमापुर, कैलालीको आपखोयाजस्ता ठाउँहरूमा भएका लडाइँहरूमा समेत सामान्य घाइते भएका थिए । उनी थुप्रै जिल्लाहरूमा भएका आक्रमणहरूमा पुगेका छन् । थुप्रै जिल्लामा लडेको र केहीमा सामान्य घाइते भएको तर बुटवलमा भएको लडाइँले भने कम्मरमुनिको भाग चल्न छोडेको रातोपाटीसँगको कुराकानीमा उनले बताए । बुटवल आक्रमणपछि भारत तथा नेपालका विभिन्न ठाउँमा उपचार गराए पनि उनको शरीरको कम्मरमुनिको भाग अहिलेसम्म चल्न सकेन । बुटवल आक्रमणका क्रममा बमका छर्राहरू लागेपछि उनी गम्भीर घाइते भएका थिए । त्यही आक्रमणमा लागेको गोली उनको साँप्रोमा अहिले पनि छ । ह्विलचेयरको सहारामा हिँडडुल गर्छन् । घाइते उनी अझै पनि नियमित रूपमा औषधि सेवन गर्छन् ।
उनको परिवार नै जनयुद्धमा होमिएको थियो, दाइ पनि जनमुक्ति सेनामा लामो समय रहे । विक श्रीमती र छोरीसहित हाल बाँकेमा बस्ने गर्छन् । उनीहरू कालिकोटबाट बसाइँ सरेको १५ वर्षभन्दा धेरै भइसक्यो ।
- ‘पार्टीले टिकट दिनु नै सम्पूर्ण घाइते तथा अपाङ्गको सम्मान हो’
माओवादीसहित विभिन्न दल मिलेर नेकपा बनेको छ । नेकपाको अझै प्रदेशस्तरीय सङ्गठन निर्माण भइसकेको छैन । अहिले नेकपाबाट राष्ट्रिय सभा उम्मेदवारी दर्ता गराएका मध्ये दुई जना तत्कालीन एकीकृत समाजवादीका र विकचाहिँ तत्कालीन माओवादीका हुन्, उनलाई सिफारिस गर्न माओवादीले नै निकै जोडबल गरेको थियो ।
तत्कालीन माओवादी, लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार जनयुद्धमा पार्टीका लागि महत्त्वपूर्ण योगदान दिएको व्यक्ति हुनुका साथै अहिले पनि जिल्लास्तरका नेता भए पनि विकले अन्य अवसर पाएका थिएनन् । र, उनलाई उम्मेदवार बनाएर राष्ट्रिय सभामा लैजाने पार्टीको योजनाअनुसार काम गरिएको बराले सुनाए । प्रदेशमा अन्य धेरै साथीहरू इच्छुक भए पनि विकको पार्टी जिम्मेवारीसँगै भविष्यमा राष्ट्रिय सभामा पुगेर थप काम गर्न सक्ने क्षमता र योग्यता भएकाले उनलाई रोजिएको बराल तर्क गर्छन् ।
यता विक पनि राष्ट्रिय सभाको उम्मेदवार बनाएर पार्टीले आफू र आफूजस्तै जनक्रान्तिका घाइते तथा अपाङ्गहरूलाई सम्मान गरेको बताउँछन् । आफ्नो उम्मेदवारीपछि पार्टीभित्र रहेका अन्य साथीहरूमा पनि उत्साह थपिएको उनी बताउँछन् । साँप्रोमा गोलीको छर्रा बोकेरै भए पनि सबै जिल्लामा स्थानीय तहका प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरूसँग मत माग्न पुग्ने उनले बताए । अन्य उम्मेदवारहरूसँग समन्वय गरेर मतदाता भेटघाटमा जाने तयारी रहेको उनले खुलाए ।
- विक र घिमिरेबिच हुनेछ प्रतिस्पर्धा
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट आठ जना उम्मेदवार छन् । दाङको घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस–एमाले गठबन्धनका तीन, नेपाल कम्युनिस्ट पार्टीका तीन र राष्ट्रिय जनमोर्चाका दुई जनाको उम्मेदवारी दर्ता भएको छ, जसमा अपाङ्ग कोटामा कांग्रेसबाट लमही नगरपालिका–३, दाङका वासुदेव घिमिरे र नेकपाबाट उनै विकबिच प्रतिस्पर्धा हुनेछ । अन्य ६ जनाले महिला र अन्य कोटाबाट प्रतिस्पर्धा गर्नेछन् । महिला कोटामा कांग्रेस–एमाले गठबन्धनबाट मदाने गाउँपालिका–४, गुल्मीकी रामकुमारी झाँक्री, नेकपाबाट बराङ्दी गाउँपालिका–१, पाल्पाकी दुर्गाकुमारी भण्डारी र राष्ट्रिय जनमोर्चाकी प्युठान नगरपालिका–८, प्युठानकी पद्मा पण्डितबिच प्रतिस्पर्धा हुनेछ ।
यस्तै अन्य कोटामा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ । अन्य कोटामा कांग्रेस–एमाले गठबन्धनबाट रेसुङ्गा नगरपालिका–३, गुल्मीका चन्द्रबहादुर केसी, नेकपाबाट बर्दघाट नगरपालिका–१४, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का बृहस्पति अधिकारी र जनमोर्चाबाट मल्लरानी गाउँपालिका–२, प्युठानका बोमबहादुर खत्रीबिच प्रतिस्पर्धा हुनेछ ।
उम्मेदवारहरूले आ–आफ्नो ढङ्गबाट मतदाताहरूसँग भेटघाट गर्ने, फोन सम्पर्क गरी मत माग्न थालेको बताएका छन् ।
लुम्बिनी प्रदेशमा ८७ प्रदेश सभा सदस्य र स्थानीय तहका २१७ प्रमुख र उपप्रमुख गरी ३०४ मतदाता छन् । यहाँ एमालेबाट निर्वाचित गोपाल भट्टराई, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे र तत्कालीन माओवादी केन्द्रका जगप्रसाद शर्माको पदावधि फागुन २० गते सकिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण