बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतको हिमाचलमा सल्यानका ९ जनाको मृत्यु, नेपाल–भारत समाजद्वारा गहिरो दुःख व्यक्त

मङ्गलबार, २९ पुस २०८२, १८ : ०९
मङ्गलबार, २९ पुस २०८२

काठमाडौँ । भारतको हिमाचल प्रदेशको सोलन जिल्लास्थित अर्की बजारमा जनवरी ११ को राति भएको ग्यास सलिन्डर विस्फोट घटनामा सल्यान शिद्धकुमाख गाउँपालिका–२, टाकुराका दुई परिवारका ९ जनासहित १० जनाको निधनप्रति नेपाली समाज भारतले गहिरो दुःख व्यक्त गरेको छ । 

रोजगारीको सिलसिलामा भारत पुगेका नेपाली नागरिकहरूको आगलागीमा परी मृत्यु भएपछि नेपाली समुदायमा गहिरो शोक छाएको छ । नेपाली समाज भारत, केन्द्रीय समितिले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । समितिले भारत सरकार, हिमाचल प्रदेश सरकार तथा सम्बन्धित निकायसँग मृतक परिवारलाई यथोचित क्षतिपूर्ति, राहत तथा आवश्यक सहयोग शीघ्र उपलब्ध गराउन अनुरोध गरेको छ।

घटना सोलन जिल्लाको अर्की उपमण्डल पुरानो बस स्ट्यान्ड क्षेत्रमा रहेको एक पसलमा भएको थियो । राति अचानक आगलागी भई त्यहाँ रहेका ग्यास सिलिन्डरहरू विस्फोट हुँदा ठुलो क्षति भएको बताइएको छ । विस्फोट अत्यन्तै शक्तिशाली भएकाले शवहरू संकलन गर्नसमेत कठिनाइ भएको नेपाली समाज भारतको केन्द्रीय समितिले जनाएको छ । 

मृत्यु हुनेमा सल्यान शिद्धकुमाख गाउँपालिका–२, टाकुराका धन बहादुर विक, कविता विक, राधा विक, रेनुका विक, राजन विक, काशिरम कामी, अनु विक, टिका विक र किरण विक रहेका छन् । उनीहरू एउटै स्थानका दुई परिवारका सदस्यहरू भएको वडाध्यक्ष मेक बहादुर बुढाथोकीले जानकारी दिएका छन् ।

यस घटनामा १ जना भारतीय नागरिकको पनि निधन भएको छ । 

आफ्ना नागरिकको मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका–२ को वडा कार्यालयले मंगलबार शोक बिदा घोषणा गरेको छ ।

हाल हिमाचल प्रदेश, सोलन जिल्लाका सुरक्षाकर्मीहरूको टोली र नेपाली समाज भारत – हिमाचल प्रदेश राज्य समिति घटनास्थलमा खटिएर उद्धार तथा शव संकलन कार्यमा संलग्न रहेको जनाएको छ । नेपाली समाज भारतले यस दुःखद घडीमा पीडित परिवारहरूसँग ऐक्यबद्धता प्रकट गर्दै सबै प्रकारको मानवीय सहयोगका लागि प्रतिबद्ध रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप