शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

राजकोटमा न्युजिल्याण्डको ऐतिहासिक जित: मिचेलको शतकमा भारत स्तब्ध, सिरिज १–१ को बराबरी

बिहीबार, ०१ माघ २०८२, ०६ : ०४
बिहीबार, ०१ माघ २०८२

सारांश

  • न्युजिल्याण्डले भारतलाई ७ विकेटले पराजित गर्दै सिरिज १-१ को रोमाञ्चक मोडमा पुर्यायो।
  • न्युजिल्याण्डले २८५ रनको लक्ष्य ४७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो, ड्यारिल मिचेलले अविजित १३१ रन बनाए।
  • भारतका लागि केएल राहुलले ११२ रन बनाए तर टोलीलाई जिताउन सकेन, अन्तिम खेल जनवरी १८ मा हुनेछ।

राजकोट । भारत भ्रमणमा रहेको न्युजिल्याण्डले दोस्रो एकदिवसीय खेलमा घरेलु टोली भारतमाथि सानदार जित दर्ता गरेको छ। बुधबार राजकोटस्थित निरञ्जन शाह स्टेडियममा भएको खेलमा न्युजिल्याण्डले भारतलाई ७ विकेटले पराजित गर्दै सिरिज १–१ को रोमाञ्चक मोडमा पुर्‍याएको हो। 

यो जितसँगै न्युजिल्याण्डले भारतीय भूमिमा आफ्नो सबैभन्दा ठुलो रन चेजको कीर्तिमान समेत बनाएको छ। भारतले दिएको २८५ रनको लक्ष्य न्युजिल्याण्डले ४७.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो। 

किवी टोलीको जितमा मध्यक्रमका ब्याटर ड्यारिल मिचेल नायक बने। उनले ११७ बलमा अविजित १३१ रनको शतकीय पारी खेले। मिचेलको इनिङ्समा ११ चौका र २ छक्का सामेल थियो। उनलाई विल यङले दह्रो साथ दिए। यङले ८७ रनको महत्त्वपूर्ण योगदान दिएपछि न्युजिल्याण्डलाई लक्ष्य भेटाउन सहज भयो।

411885

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८४ रन बनाएको थियो। भारतका लागि विकेटकिपर ब्याटर केएल राहुलले सानदार ब्याटिङ गर्दै ११२ रनको शतकीय योगदान दिए। राहुलले ९२ बल खेल्दै आफ्नो एकदिवसीय करियरको आठौँ शतक पूरा गरे पनि उनको यो प्रदर्शन टोलीलाई जिताउन पर्याप्त भएन।

ओपनर तथा कप्तान शुभमन गिलले ५६ रन बनाए भने रोहित शर्माले २४ र विराट कोहलीले २३ रन जोडे। न्युजिल्याण्डका बलर क्रिस्टियन क्लार्कले कसिलो बलिङ गर्दै ३ विकेट लिएर भारतीय मध्यक्रमलाई दबाबमा राखेका थिए।

तीन खेलको यो सिरिज अब १–१ को बराबरीमा पुगेको छ। पहिलो खेल भारतले जितेको थियो । अब सिरिजको निर्णायक तथा अन्तिम खेल जनवरी १८ मा इन्दोरको होल्कर स्टेडियममा हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप