अछामका दुवै निर्वाचन क्षेत्रमा तीन दलले टुङ्ग्याए उम्मेदवार, भीम रावल छैटौँ पटक मैदानमा
सारांश
- अछाम जिल्लाका निर्वाचन क्षेत्रहरूमा नेकपा एमाले, नेकपा र रास्वपाले उम्मेदवार टुंग्याएका छन्।
- एमालेबाट भीम रावल र झपट बोहरा, रास्वपाबाट ओमप्रकाश रावल र भूपदेव शाह चुनावी मैदानमा छन्।
- कांग्रेसले भने अझै उम्मेदवार टुंगो लगाएको छैन, तर प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
धनगढी । प्रतिनिधि सभा अन्तर्गत फागुन २१ गते हुने निर्वाचनका लागि दलहरूले धमाधम उम्मेदवार टुङ्ग्याउन थालेका छन् ।
सोही क्रममा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारको टुङ्गो लगाएका हुन् ।
उम्मेदवार घोषणासँगै यी दलहरूले जिल्लामा चुनावी अभियान र छलफललाई समेत तीव्रता दिएका छन् । आसन्न निर्वाचनमा अछाममा पुराना अनुभवी अनुहारदेखि नयाँ तथा वैकल्पिक शक्तिसम्मको रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
अछाम निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका पूर्वउपाध्यक्ष भीम रावल यसपटक फरक दलबाट चुनावी मैदानमा उत्रिएका छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार बनाएको हो । रावलको यो छैटौँ संसदीय चुनावी प्रतिस्पर्धा हो । २०७९ को निर्वाचनमा एमाले जिल्ला कमिटीले एकल सिफारिस गरे पनि पार्टी केन्द्रले टिकट नदिएपछि उनी उम्मेदवार बन्नबाट रोकिएका थिए ।
त्यस्तै, नेकपा एमालेले यो क्षेत्रबाट केन्द्रीय सदस्य झपट बोहरालाई पुनः उम्मेदवार बनाएको छ । बोहरा दोस्रो पटक प्रतिनिधि सभाका लागि भिड्दै छन् । यता, रास्वपाले जिल्ला सभापति ओमप्रकाश रावललाई उम्मेदवार बनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा पनि प्रतिस्पर्धा उत्तिकै रोचक हुने देखिएको छ । एमालेले यहाँ केन्द्रीय सदस्य यज्ञबहादुर बोगटीलाई तेस्रो पटक उम्मेदवार बनाएको छ । २०७४ मा निर्वाचित भएका बोगटी २०७९ को चुनावमा भने पराजित भएका थिए ।
यस क्षेत्रमा रास्वपाले आफ्नो सहमहामन्त्री तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहलाई अघि सारेको छ । शाहले क्षेत्रमा आफ्नो प्रचारप्रसार सुरु गरिसकेका छन् ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीबाट शरदसिंह भण्डारी उम्मेदवार बनेका छन् । २०६४ को संविधान सभा निर्वाचनमा तत्कालीन माओवादीबाट विजयी भएका भण्डारी करिब १८ वर्षपछि पुनः चुनावी प्रतिस्पर्धामा फर्किएका हुन् ।
अछाममा रास्वपाले पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार खडा गरेर आफ्नो उपस्थिति बलियो बनाउन खोजेको छ । अर्कोतर्फ, २०४८ देखि चुनावी राजनीतिमा सक्रिय भीम रावलका लागि यो चुनाव साख जोगाउने चुनौती बनेको छ । रावल २०५१, २०७० र २०७४ मा निर्वाचित भएका थिए भने २०४८ र २०५६ मा पराजित भएका थिए ।
जिल्लाका प्रमुख दुई क्षेत्रमा अन्य दल चुनावी रणनीतिमा होमिइसक्दा पनि नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण