बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
ओखलढुङ्गा एमालेमा विद्रोह

केन्द्रले उम्मेदवार लादेको भन्दै जिल्ला कमिटीले गर्‍यो ‘असहयोग’ घोषणा

आइतबार, ०४ माघ २०८२, १७ : ३२
आइतबार, ०४ माघ २०८२

विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयनको विषयलाई लिएर नेकपा एमाले ओखलढुङ्गामा तीव्र असन्तुष्टि र विद्रोहको स्थिति सिर्जना भएको छ । एमाले जिल्ला कमिटीले पार्टीको केन्द्रीय सचिवालयले गरेको निर्णय गुटगत र कार्यकर्ताको भावना विपरीत भएको भन्दै आधिकारिक उम्मेदवारलाई नसघाउने औपचारिक घोषणा गरेको छ ।

जिल्ला कमिटीले निर्वाचनका लागि १८ जना आकांक्षीहरूको नाम संकलन गरेको थियो । जसमा ईश्वर पोखरेल, अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवार, ज्ञानबहादुर खड्का (जीबी), नानीबाबु बुढाथोकी, सञ्जय खत्री लगायतको नाम थियो । तीमध्ये ९५ प्रतिशत नेता–कार्यकर्ताले अम्बिरबाबु गुरुङलाई उम्मेदवार बनाउनुपर्ने माग गरेका थिए ।

जिल्लाले गरेको सहमति र सिफारिसका आधारमा ईश्वर पोखरेल, अम्बिरबाबु गुरुङ, यज्ञराज सुनुवार र ज्ञानबहादुर खड्का जीबी र नानीबाबु बुढाथोकीको नाम केन्द्रमा पठाइएको थियो ।

तर केन्द्रले उम्मेदवार घोषणा गर्दा भने जिल्लाले पठाएका ती १८ जना आकांक्षी र ५ जना सिफारिस गरिएका व्यक्तिहरूमध्ये कसैलाई पनि टिकट दिएको छैन । बरु चुनाव लड्न अनिच्छा देखाएका र आकाक्षीको सूचीमै नभएका व्यक्तिलाई केन्द्रीयताको नाममा उम्मेदवार बनाइएको जिल्ला नेतृत्वको आरोप छ ।

‘१८ जना आकांक्षी र ५ जना सिफारिस गरिएका कोही पनि होइनन् । चुनावै लड्दिनँ भन्ने मान्छेलाई ओलीले माथिबाट पठाए । यो एमालेको उम्मेदवार होइन, केपी ओलीको उम्मेदवार हो,’ एमाले ओखलढुंगाका एक नेताले भने ।

‘जिल्ला कमिटीको विधिवत् एवं सर्वसम्मत निर्णयहरूलाई उल्टाउने र व्यक्तिगत गुटका लागि गरिएको निर्णयप्रति असहमत प्रकट गर्दछौँ । सिफारिस विपरीत आएका उम्मेदवारलाई सहयोग गरेर जान नसकिने व्यहोरा केन्द्रीय नेतृत्व र आम शुभचिन्तकहरूलाई जानकारी गराउँदछौँ,’ जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्काद्वारा प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कार्यकर्ताको व्यापक समर्थन रहेका अम्बिरबाबु गुरुङलाई टिकट नदिएपछि ओखलढुङ्गा एमालेमा निराशा छाएको अर्का एमाले नेताले बताए । गुरुङलाई अन्य विकल्पबाट चुनाव लडाउनेसम्मका आन्तरिक तयारीहरू भइरहेको सो पक्षले जनाएको छ ।

निर्वाचनको संघारमा जिल्ला कमिटीले नै आधिकारिक उम्मेदवारविरुद्ध असहयोगको नीति लिएपछि ओखलढुङ्गामा एमालेको चुनावी नतिजा प्रभावित हुनसक्ने एमालेवृत्तमै चर्चा सुरु भएको छ ।

केन्द्रले पठाएकी अस्मिता थापा को हुन् ?

उता, ओखलढुंगाबाट टिकट पाएकी अस्मिता थापा लिखु गाउँपालिकाकी उपाध्यक्ष हुन् ।  ओखलढुंगामा यसअघि वरिष्ठ नेता ईश्वर पोखरेलसहितको नाम सिफारिस भए पनि पार्टीले थापालाई टिकट दिएको हो । थापा पालिका उपाध्यक्षबाट जिल्ला उपाध्यक्ष हुँदै एमालेको केन्द्रीय सदस्यसम्म पुगेकी महिला नेतृ हुन् । ओखलढुंगामा पार्टीभित्र पोखरेल समूहको वर्चश्व रहे पनि संस्थापन पक्षकी थापाले टिकट पाएपछि जिल्लाको समीकरण रोचक बनेको छ । 

यद्यपि, उनले आफू सबैको साझा उम्मेदवार भएको र पार्टीमा कुनै गुटगत अवस्था नरहेको दाबी गरेकी छन् । ‘‘म अहिले काठमाडौंमा छु, जिल्ला फर्केपछि पार्टीका साथीहरूसँग थप छलफल गरेर अगाडि बढ्नेछु,’ थापाले भनिन् ।

जिल्लाले पठाएका १८ आकांक्षीको सूची
१. ईश्वर पोखरेल
२. अम्बिरबाबु गुरुङ
३. यज्ञराज सुनुवार
४. ज्ञानबहादुर खड्का जिवी
५. नानीबाबु बुढाथोकी
६. सञ्जय खत्री
७. कमलप्रसाद न्यौपाने
८. अशोककुमार थापा
९. शान्ता ढुङ्गेल
१०. शकुन्तलाराज भण्डारी
११. अर्जुन गिरी 
१२. सुनिल खड्का
१३. हर्कबोल राई
१४. राधा निरौला
१५. मोहन श्रेष्ठ
१६. तीर्थ सुवेदी
१७. गोपाल नेपाल
१८. राजन खत्री

सहमतिमा सिफारिस भएका पाँच नाम
१. ईश्वर पोखरेल
२. अम्बिरबाबु गुरुङ
३. यज्ञराज सुनुवार
४. ज्ञानबहादुर खड्का जीबि 
५. नानीबाबु बुढाथोकी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप