बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
उम्मेदवार

काठमाडौं-६ : रास्वपाका शिशिर खनालविरुद्ध एमालेका अमन मास्के

सोमबार, ०५ माघ २०८२, १४ : ०६
सोमबार, ०५ माघ २०८२

सारांश

  • एमालेले काठमाडौंमा २०७९ को निर्वाचनमा ९ वटा क्षेत्र गुमायो, तर प्रदेशमा केही सिट जित्यो।
  • एमालेले आगामी निर्वाचनका लागि काठमाडौं-६ बाट प्रदेशसभा सदस्य अमन मास्केलाई उम्मेदवार बनाउने निर्णय गर्यो।
  • काठमाडौं-६ मा मास्केको प्रतिस्पर्धा रास्वपाका शिशिर खनालसँग हुने सम्भावना छ, जसले यो निर्वाचनलाई रोचक बनाउनेछ।

हेटौंडा ।  २०७९ सालको निर्वाचन काठमाडौंमा नेकपा एमालेका लागि निकै भारी पर्‍यो । काठमाडौंका अधिक क्षेत्रमा एमाले उम्मेदवार पराजित भए । काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ९ वटा क्षेत्रमा एमालेका उम्मेदवार पराजित भएका थिए । अर्थात् एमालेले काठमाडौं–९ बाहेक कुनैपनि क्षेत्रमा चुनाव जित्न सकेन । उक्त क्षेत्रमा कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए । 

काठमाडौं–१ बाट किरण पौडेल, काठमाडौं–२ बाट मणिराम फुयाल, काठमाडौं–३ बाट कृष्णबहादुर राई, काठमाडौं–४ बाट राजन भट्टराई, काठमाडौं–५ बाट ईश्वर पोखरेल, काठमाडौं–६ बाट सर्वेन्द्र खनाल, काठमाडौं–७ बाट श्यामकुमार घिमिरे, काठमाडौं–८ बाट शिवसुन्दर राजवैद्य र काठमाडौं–१० बाट हिमेश केसी पराजित भए । 

संघमा चुनाव हारेको एमालेले प्रदेशमा भने केही आशलाग्दो नतिजा निकालेको थियो । एमालेले काठमाडौंमा प्रदेशतर्फको २० सिटमध्ये ४ सिटमा जित निकालेको थियो । एमालेले काठमाडौं-४ (ख), ६ (ख), ७ (ख) र ९ (ख)बाट क्रमशः जयराम थापा, अमन मास्के, प्रकाश श्रेष्ठ र केशवप्रसाद पोखरेलले चुनाव जितेका थिए ।

यो पृष्ठभूमि किन बाँधिएको हो भने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेले २०७९ को प्रदेशसभामा चुनाव जितेकामध्ये अमन मास्केलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । विगतमा गुमाएको क्षेत्रमा जित निकाल्ने रणनीतिमा एमालेले काठमाडौं–६ बाट प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री मास्केलाई प्रतिनिधिसभा उम्मेदवारको टिकट दिएको छ । 

पूर्व आईजीपी सर्वेन्द्र खनालले चुनाव लडेको काठमाडौं–६ बाट मास्केलाई एमालेको बिंडो थमाइएको छ । नयाँ र पुराना दलबिचको अस्तित्वको लडाइँको रुपमा व्याख्या गरिएको आगामी चुनाव उनका लागि सहज पक्कै छैन । बलियो संगठन बोकेको एमालेको अवस्था जेनजी आन्दोलनपछि जनमानसमा खस्किँदो छ । 

मास्के चुनावी अभियानमा सक्रिय हुँदै गर्दा उनको अर्को चुनौती भनेको विपक्षी प्रतिस्पर्धी हो । विगतका साझेदार दलहरु पनि आगामी चुनावमा गठबन्धनमा छैनन् । तत्कालीन साझेदार दल कांग्रेसले एकल उम्मेदवार उठाउने तयारी गरेको छ भने नेकपा पनि एकल रुपमा चुनावी दौडमा छ । त्यस क्षेत्रबाट कांग्रेसका भीमसेनदास प्रधानले गत चुनाव लडेका थिए । आगामी निर्वाचनका लागि सो क्षेत्रमा नेकपा र कांग्रेसले उम्मेदवार टुंग्याइसकेका छैनन् ।

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि उर्भर भूमि हो । अझ काठमाडौं–६ रास्वपाको उदगम क्षेत्रमध्येको एक हो । रास्वपाले छोटो समयमा संगठन संरचना बिना नै सो क्षेत्रमा चुनाव जितेको थियो । हाल रास्वपाले सो क्षेत्रमा संगठन संरचना तयार गरिसकेको छ । गत निर्वाचनमा सो क्षेत्रमा रास्वपाका शिशिर खनालले चुनाव जितेका थिए । खनाल कार्यकालको सुरुवाती चरणमा केही समय मन्त्री समेत बने । पछि रास्वपा सरकारबाट बाहिरिएपछि उनी पर्दा पछाडि नै रहे । 

आगामी निर्वाचनमा रास्वपाले खनाललाई नै सो क्षेत्रबाट उम्मेदवार बनाएको छ । खनालले सरकारमा रहँदा उल्लेखनीय काम गर्न नसकेपनि रास्वपाको ‘क्रेज’का कारण उनी बलियो उम्मेदवार हुन् । सोही कारण आगामी संसदीय निर्वाचनमा काठमाडौं–६ को चुनावी प्रतिस्पर्धा निकै रोचक हुने देखिन्छ । रास्वपाका केन्द्रीय नेता तथा पूर्व शिक्षामन्त्री खनालसँग बागमती प्रदेशसभा सदस्य एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री मास्केबिचको चुनाव प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ । मासेक पेसाले आर्किटेक्ट इन्जिनियर हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप