बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
निर्वाचन

तीन वर्षमा तेस्रो पटक चुनावी मैदानमा रवि

टाउकोमा कानुनी ‘तरबार’ कायमै
मङ्गलबार, ०६ माघ २०८२, २० : २२
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचन भएको तीन वर्षको छोटो अवधिमै तेस्रो पटक उम्मेदवारी दिएका छन्। वि.सं. २०७९ को निर्वाचनमा पार्टी स्थापनाको पाँच महिनामै ११ लाख ३० हजार मतसहित २१ सिट जिताएर तहल्का मच्चाएका लामिछानेले मंगलबार चितवनमा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन्।

विगतको चुनावी इतिहास हेर्दा, २०७९ सालको निर्वाचनमा उनले ४९ हजार ३०० मत ल्याएर विजय हासिल गरेका थिए। उक्त निर्वाचनमा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत प्राप्त गरेका थिए।

निर्वाचनलगत्तै प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्न सफल लामिछाने दुई महिना नपुग्दै पदमुक्त भएका थिए। दोहोरो नागरिकता प्रकरणमा प्रक्रियागत त्रुटि रहेको ठहर गर्दै सर्वोच्च अदालतको आदेशमा उनी बर्खास्तीमा परेका थिए।

त्यसपछि २०८० साल वैशाख १० गते भएको उपनिर्वाचनमा सोही क्षेत्रबाट पुनः उम्मेदवार बनेका लामिछानेले अघिल्लो पटकको तुलनामा बढी मत प्राप्त गरे। उनले ५४ हजार १७६ मत ल्याएर जित हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत मात्र प्राप्त गरे। लामिछानेले श्रेष्ठलाई ४२ हजार ९६२ को भारी मतान्तरले पराजित गरेका थिए। सो उपनिर्वाचनमा तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत प्राप्त गरेका थिए।

उपनिर्वाचनपछि पुरानै जिम्मेवारी लिएर फेरि प्रचण्ड सरकारमा सामेल भएका उनी, २०८१ साल असार ३१ गते कांग्रेस र एमालेको समर्थनमा केपी ओली प्रधानमन्त्री बनेपछि सरकारबाट बाहिरिए।

त्यसपछि ओली सरकारले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा अदालतमा दायर गरेपछि उनले सांसद पद समेत गुमाउनुपर्‍यो। लामिछानेविरुद्ध काठमाडौँ, चितवन, कास्की, रुपन्देही र पर्सा जिल्ला अदालतमा मुद्दा विचाराधीन छन्।

यिनै मुद्दाका कारण ८ महिना जेल बसेका उनी ‘जेनजी विद्रोह’ को बलमा नख्खु जेलबाट बाहिरिएका थिए। चौतर्फी आलोचनापछि पुनः पुर्पक्षमा गएका उनी उच्च अदालत बुटवल इजलासको आदेशमा धरौटी बुझाएर रिहा भएका हुन्।

रिहाइलगत्तै पुस १३ गते काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहसँग ७ बुँदे सहमति गरी लामिछाने चुनावी मैदानमा होमिएका छन्। आगामी निर्वाचनमा रास्वपाको बहुमतको सरकार बनाउने उद्घोषसहित आक्रामक प्रचारमा उत्रिए पनि उनीमाथिको कानुनी जोखिम भने टरेको छैन। विशेषगरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा महान्यायाधिवक्ताको कार्यालयबाट फिर्ता लिन लगाएको विषयले उनी थप आलोचित बनेका छन्, जसले गर्दा फेरि जेल जाने सम्भावना पनि देखिन्छ।

यसपटक चितवन–२ मा लामिछानेविरुद्ध एमालेका अस्मिन घिमिरे, कांग्रेसका मीनकुमारी खरेल र नेकपाका प्रताप गुरुङ चुनावी मैदानमा उत्रिएका छन्। यो निर्वाचन क्षेत्रमा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ पर्दछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप