शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

इजरायलले भत्काउन थाल्यो पूर्वी जेरुसेलमस्थित यूएन एजेन्सीको मुख्यालय

बुधबार, ०७ माघ २०८२, १३ : ३८
बुधबार, ०७ माघ २०८२

तेल अभिभ । इजरायलले पूर्वी जेरुसेलमस्थित प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सी यूएनआरडब्ल्यूएको मुख्यालय भत्काउन सुरु गरेको छ। यस महिनाको सुरुमा एजेन्सीका गतिविधि प्रतिबन्धित गर्ने कानुन पारित भएपछि इजरायलले यो कदम चालेको हो।

मंगलबार इजरायली प्रहरी र इजरायल ल्यान्ड अथोरिटीका कार्यान्वयन अधिकृतहरू बुलडोजर र इन्जिनियरिङ उपकरणसहित यूएनआरडब्ल्यूएको मुख्यालय परिसरमा प्रवेश गरी भवन भत्काउन थालेका छन्।

कानुन कार्यान्वयन निकायले सम्पत्तिमाथि पूर्ण नियन्त्रण लिएको र परिसर सफा गर्ने काम सुरु गरिएको इजरायल ल्यान्ड अथोरिटीले विज्ञप्तिमार्फत जनाएको छ। यस कदमप्रति यूएनआरडब्ल्यूएले कडा आपत्ति जनाएको छ। एजेन्सीले यसलाई संयुक्त राष्ट्रसंघीय एजेन्सी र त्यसको परिसरमाथिको अभूतपूर्व आक्रमण भनेको छ।

यूएनआरडब्ल्यूएले माइक्रोब्लगिङ वेबसाइट एक्समार्फत यस कदमलाई अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघका विशेषाधिकार र उन्मुक्तिको खुला उल्लङ्घनको नयाँ तह भएको टिप्पणी गरेको छ।

सन् १९४९ मा इजरायलले अनुमोदन गरेको संयुक्त राष्ट्रसंघीय विशेषाधिकार तथा उन्मुक्ति सम्बन्धी महासन्धिअनुसार संयुक्त राष्ट्रसंघका परिसरहरू अस्पृश्य रहने र खोजतलास, कब्जा वा अन्य हस्तक्षेपबाट सुरक्षित हुने व्यवस्था छ।

इजरायलले सन् १९६७ को युद्धमा जोर्डनबाट पूर्वी जेरुसेलम कब्जा गरी सन् १९८० मा गाभेको थियो। अन्तर्राष्ट्रिय समुदायले यसलाई अधिग्रहित भूभागका रूपमा मान्दै आएको छ भने प्यालेस्टिनीहरूले यसलाई भविष्यको स्वतन्त्र राष्ट्रको राजधानीका रूपमा दाबी गर्छन्।

इजरायलले भने सम्पूर्ण जेरुसेलमलाई आफ्नो शाश्वत राजधानी मान्दै आएको छ। इजरायली विदेश मन्त्रालयले उक्त परिसर इजरायलको स्वामित्वमा रहेको र यूएनआरडब्ल्यूएले त्यहाँका गतिविधि पहिल्यै बन्द गरिसकेको दाबी गरेको छ। मन्त्रालयले यूएनआरडब्ल्यूएलाई आतङ्कवादको केन्द्र भन्दै आलोचना गरेको छ, जसलाई एजेन्सीले पटक–पटक अस्वीकार गर्दै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप