झापा–५ मा युवा फकाउँदै बालेन, विकास देखाउँदै ओली
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्वाधिक चासोको रूपमा हेरिएको क्षेत्र हो, झापा–५ । निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका दुई पात्र केपी शर्मा ओली र बालेन शाह (बालेन्द्र) एकै निर्वाचन क्षेत्रबाट भिडन्तमा उत्रिएपछि झापा–५ सर्वाधिक चासोको क्षेत्र बनेको हो ।
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एमालेको माघ ३ गते बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको रूपमा अघि सारेको थियो । यस्तै पुस १३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेनबिच ७ बुँदे सहमति हुँदा बालेन चुनावपछि रास्वपाको संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमति भएको थियो ।
सोही सहमतिअनुसार काठमाडौँ महानगरपालिकाकाको मेयर त्यागेर बालेन रास्वपाको वरिष्ठ नेताको हैसियतमा ओलीसँग चुनाव लड्न झापा पुगेका हुन् । ओलीविरुद्ध बालेनको उम्मेदवारसँगै झापा–५ मा कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ ।
उम्मेदवारी मनोनयन दर्ता गरेको भोलिपल्टदेखि नै ओली र बालेन दुवै जना चुनाव जित्ने रणनीतिका साथ सक्रिय भएका छन् । मतदातालाई आफ्नो पक्षमा पार्ने रणनीति अनुसार बुधवार बिहानैदेखि दुवै नेताले स्थानीय मतदातासँग भेटघाट र छलफललाई तीव्रता दिएका हुन् । प्रधानमन्त्रीको उम्मेदवार भएकै कारणले ओली र शाह दुवैका लागि यो निर्वाचन प्रतिष्ठाको विषय समेत बनेको छ ।

चुनाव प्रचारका लागि रास्वपाले दमकमा भाडामा लिएको घरमा बसेर बालेनले भेटघाट गरिरहेका छन् । झापाका लागि नयाँ अनुहार भएपनि बालेनलाई भेट्न बालबालिकादेखि वृद्धहरूसम्मको घुइँचो लागेको छ ।
चुनाव जित्ने रणनीति बनाइरहेका बालेनको ध्यान रास्वपाका नेता कार्यकर्तासँगको भेटघाट बाहेक अन्य पार्टीका युवा नेता कार्यकर्तामाथि पनि देखिएको छ ।
विशेष त कांग्रेस र एमालेका युवा नेताहरूलाई फकाउने रणनीति बालेनको देखिएको छ ।
बुधबारमात्रै एमाले र कांग्रेसका केही स्थानीय नेता कार्यकर्ताले बालेनलाई समर्थन गर्ने भन्दै पार्टी छाडेको घोषणा नै गरेका छन् । कांग्रेसका दमक सभापति प्रकाश प्रसाईं र कमल गाउँपालिकाका सचिव महेन्द्र बुढाथोकीले बालेनलाई समर्थन गर्न भन्दै बुधवार रास्वपामा प्रवेश गरेका हुन् ।
यस्तै ओलीको निर्वाचन क्षेत्रका केही युवाहरू पनि बालेनलाई चुनाव जिताउन भन्दै रास्वपा प्रवेश गरेका छन् । नेकपा (एमाले) निकट युवा संघका दमक नगर कमिटी अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङ पनि रास्वपा प्रवेश गरेका हुन् ।
बालेन झापामा चुनावी माहौल बनाउन अबको एक साता निरन्तर रहने रास्वपा नेता यज्ञमणि न्यौपानेले रातोपाटीलाई बताए ।
युवामाझ लोकप्रिय रहेका बालेन आफ्नो निर्वाचन क्षेत्रका युवाहरूलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा लागिरहँदा ओलीले पनि सक्रियता बढाएका छन् ।
मंगलबार उम्मेदवारी दर्तासँगै स्थानीय नेता कार्यकर्तासँग भेटघाटमा व्यस्त ओलीले बुधवार पनि सोही क्रमलाई निरन्तरता दिएका छन् । शुक्रबारसम्म झापामै बस्ने योजनामा रहेका ओलीले स्थानीय मतदाता र कार्यकर्तासँगको भेटमा आफूले झापामा गरेका विकासका काम, राष्ट्रियताप्रति एमालेले लिएको नीति तथा युवाहरूको भविष्यका बारेमा चर्चा गर्ने गरेका छन् ।
बुधवार झापाको कमल गाउँपालिकाका कार्यकर्ताहरूसँगको भेटमा ओलीले एमालेले ७० प्रतिशत भोट ल्याएर चुनाव जित्ने दावीमात्रै गरेनन् उच्च मनोबलका साथ अघि बढ्न निर्देशन समेत दिए । कांग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाताहरू समेत एमालेमै भोट हाल्ने मनस्थितिमा रहेका भन्दै ओलीले कुल खसेको दुई तिहाइ भन्दा बढी मत ल्याएर एमालेले चुनाव जित्ने दाबी गरे ।

‘हामीले भने अनुसार चल्नुपर्छ भन्ने पनि आउलान् । दबाब देलान्’ अध्यक्ष ओलीले भने, ‘त्यस्तो दबाबलाई स्विकार्ने कुरा आउँदैन ।’
अस्थिरताको खेती गर्नेहरूबाट देशलाई जोगाउनु पर्ने अध्यक्ष ओलीको भनाइ थियो । ‘त्यो त आपराधिक घटना हो नि । नगरपालिका किन जलाएको, बिजनेस कम्प्लेक्स किन जलाएको ?’ ओलीले प्रश्न गर्दै भने, ‘दमक नमुना सहरको रूपमा विकास भइरहेको छ । त्यो भवनमा भ्यूटावरमा होइन, आइटी हबको रूपमा विकास गर्न सकिन्थ्यो । यसरी देश जलाएर, जनता आतङ्कित पारेर पनि हुन्छ ?’
त्यसक्रममा ओलीले दमक, कमल, गौरादह, गौरीगञ्ज लगायतका क्षेत्रमा भएका विकास र प्रगति सवैका आँखा अघि प्रस्ट रहेकाले जनमत आफ्नो विपक्षमा नजाने विश्वास व्यक्त गरेका थिए । झापा ५ मा एमालेबाट ओली र रास्वपाबाट बालेनको अलवा नेपाली कांग्रेसबाट मन्धरा चिमरिया र नेकपाबाट रञ्जित तामाङसहित २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
४ प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण