हेनाको अग्निपरीक्षा : एउटै नाटकमा ‘ट्रिपल’ रोल
काठमाडौँ । फिल्मको पर्दामा एउटै कलाकारले दुई वा तीन भूमिका निभाउनु नौलो होइन । प्रविधिको विकासले कलाकारलाई समय लिएर मेकअप बदल्न र क्यामराको कोणबाट ‘डबल’ वा ‘ट्रिपल’ रोलमा प्रस्तुत हुन सजिलो छ । तर जब रङ्गमञ्चको कुरा आउँछ, त्यहाँ न त ‘रिटेक’को सुविधा हुन्छ, न त लामो समयको विश्राम नै । दर्शकको आँखा अगाडि एउटा चरित्रबाट अर्कोमा पूर्ण रूपले रूपान्तरित हुनु भनेको फलामको चिउरा चपाए जस्तै हो ।
यस्तै कठिन तर रोमाञ्चक कर्मको तयारीमा छिन् अभिनेत्री हेना नगरकोटी । उनी सर्वनाम थिएटरमा मञ्चनको तयारीमा रहेको नाटक ‘अग्नि चक्षु’मा एकसाथ तीनवटा भिन्न चरित्रमा देखिँदैछिन् । एक घण्टा २० मिनेट लामो यो नाटकमा उनी कहिले सामान्य महिला, कहिले देवी त कहिले योद्धाको रूपमा प्रस्तुत हुनेछिन् ।
माघ ११ गतेदेखि मञ्चन हुन लागेको नाटकमा हेनाले निभाउने तीन पात्रहरू आफैँमा भिन्न पृष्ठभूमि र स्वभावका छन् । उनले पहिलो भूमिकाको रूपमा ‘अष्टलक्ष्मी’ अर्थात् एक पूर्व कुमारी (सामान्य केटी)को चरित्र निभाउनेछिन् । दोस्रो भूमिकामा उनी ‘तलेजु भवानी’को रूपमा देखिनेछिन् भने तेस्रो भूमिका ‘मेजुलांनी’को रहनेछ ।
यी तीनवटै चरित्रमा एउटा साझा ‘इमोसन’ रहेको उनी बताउँछिन् । ‘त्यो मायालाई व्यक्त गर्ने लेभल भने तीनैमा फरक,’ उनी भन्छिन्, ‘मायासँगै क्रोधको स्तर पनि भिन्न छ ।’ अष्टलक्ष्मी सामान्य मानव हो भने तलेजु भवानी देवी । मेजुलांनीको चरित्र त अझै फरक छ, जसमा करिब एक मिनेटको एक्सन समेत आफूले गर्नुपर्ने हेना सुनाउँछिन् ।
_yCcyWWIvSo.jpg)
नाटक चल्दै गर्दा एउटा सिनबाट अर्कोमा पुग्न हेनासँग मात्र ४–५ मिनेटको समय हुन्छ । यति छोटो अवधिमा उनले आफ्नो लुक्स मात्र होइन, कस्ट्युम र ज्वेलरी पनि पूर्ण रूपमा बदल्नुपर्छ । पूर्व कुमारीको सामान्य लुक्सबाट देवीको भव्य शृङ्गार र त्यसपछि ढाडमा खुकुरी र हातमा खड्ग बोकेकी योद्धा ‘मेजुलांनी’ बन्नु प्राविधिक रूपमा निकै चुनौतीपूर्ण छ । त्यो चुनौतीमै आफूले मज्जा देखेको उनी सुनाउँछिन् ।
एउटै समयमा तीन फरक अवतारमा प्रस्तुत हुनु एक किसिमको ‘अग्निपरीक्षा’ नै हो । यो परीक्षामा खरो उत्रिन उनी विगत डेढ महिनादेखि रिहर्सलमा मिहिनेत गरिरहेकी छन् ।
नाटक हेनाका लागि नयाँ भने होइन । करिब दुई वर्षअघि नै उनले यो नाटकमा अभिनय गरिसकेकी छन् । फरक यति मात्र हो, त्यतिबेला उनले दुईवटा भूमिका निभाएकी थिइन्, अहिले तीनवटा । पहिले तलेजु भवानीको भूमिका गर्ने कलाकार अहिले नभएकाले उनले यो चुनौती आफैंले स्वीकारेकी हुन् । तीन भूमिका सहज त पक्कै पनि हुँदैन होला ।
‘जब म मञ्चमा उभिन्छु र कस्ट्युम लगाउँछु, म आफ्नो वास्तविक पहिचान बिर्सिन्छु’, उनी अगाडि भन्छिन्, ‘मेजुलांनीको भूमिका गर्दा म होसैमा हुन्नँ जस्तो लाग्छ । त्यो मन्त्र, टीका र जाँड खाने जस्ता संस्कारगत दृश्यहरूले मलाई चरित्रको यस्तो ऊर्जामा पुर्याउँछ कि म हेना नगरकोटी हुँ भन्ने नै भुल्छु ।’ चरित्रमा विलीन हुँदा असहज परिस्थितिमा पनि अभिनय सहज हुने उनी बताउँछिन् ।
मल्ल के सुन्दरद्वारा लिखित र चन्द्र पाण्डेले पुनर्लेखन गरेको नाटक ‘अग्नि चक्षु’का निर्देशक झकेन बिसी हुन् । नाटकले जीवित देवी कुमारीको ऐतिहासिक पक्ष, कुमारी शब्दको उत्पत्ति र सानै उमेरमा बच्चालाई कुमारी बनाइनुको कारण जस्ता गम्भीर सामाजिक र सांस्कृतिक विषयवस्तुलाई समेटेको छ ।
नेवारी समुदायको पृष्ठभूमिमा बुनिएको यो कथामा हेनासँगै कृष्णभक्त महर्जन र मञ्जु श्रेष्ठ जस्ता दिग्गज कलाकारहरूको पनि सशक्त अभिनय रहनेछ । नाटक केवल एक मनोरञ्जन मात्र नभई नेपाली संस्कृतिको गहिरो अन्वेषण भएको उनी बताउँछिन् ।
_z7DkOlvVRc.jpg)
- बुवाको प्रेरणाले थिएटरमा
हेनाको अभिनय यात्रा सन् २०१७ बाट सुरु भएको हो । पहिले उनको लक्ष्य अभिनेत्री बन्ने थिएन । मोडलिङमा नाम कमाउन चाहन्थिन् । तर उनका बुबा, जो नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा कार्यरत थिए, उनले छोरीको भविष्य रङ्गमञ्चमा देख्न थाले ।
‘बुबाले नै मलाई एक्टिङ क्लासमा भर्ना गरिदिनुभएको हो,’ हेना सुनाउँछिन्, ‘मोडलिङ नगर, बरु एक्टिङ सिक ।’
सुरुवाती दिनमा उनलाई थिएटरका अभ्यास अनौठो र पट्यारलाग्दो लागेको थियो । ‘बच्चा बन्नुपर्छ भन्थे, इन–आउटका खेलहरू खेलाउँथे, मलाई बोर लाग्थ्यो,’ उनी ती दिन सम्झिन्छिन्, ‘जब एउटा नाटक ‘थाङ्ग्ला’ हेरेँ, मेरो सोच बदलियो ।’ मञ्चमा सानो बच्चाको भूमिका निभाउने कलाकार नाटक सकिएपछि बाहिर निस्कँदा पाको मान्छे भएको देख्दा उनी चकित परिन् । ‘एउटा मान्छेले कसरी यति विश्वासिलो ढंगले अर्को चरित्र बाँच्न सक्छ ? भन्ने जिज्ञासाको उत्तर खोज्दै जाँदा थिएटरको गहिराइमा पुगेँ,’ हेना भन्छिन् ।
नेपाली समाजमा अझै पनि छोरीहरूलाई कलाकारिता क्षेत्रमा लाग्न परिवारबाट उति साथ मिल्दैन । हेनाको हकमा परिवार सधैं उनको रुचिमा साथ रह्यो । ढिलो गरी कामबाट फर्कँदा होस् वा संघर्षका दिनमा, आमाबुबाको साथले सधैं बलियो बनाएको उनी बताउँछिन् । करिब आठ वर्षको थिएटर यात्रामा उनले आठवटा पूर्ण नाटक र दर्जनौँ सडक तथा सामाजिक नाटकहरू गरिसकेकी छन् ।
_qfO0ZWxMbJ.jpg)
- फिल्म खेल्न चार पटक अडिसन
हेनाको अभिनय यात्रा नाटकदेखि सुरु भएर म्युजिक भिडियो हुँदै फिल्मसम्म पुगेको छ । ‘खेल’बाट उनले फिल्म अभिनयमा डेब्यु गरिन् । दोस्रो फिल्म हो ‘होस्टेल ३’ । तर ‘खेल’ भन्दा अघि ‘होस्टेल’ रिलिज भयो । २०८१ चैतमा प्रदर्शनमा आएको ‘होस्टेल ३’ ले बक्स अफिसमा राम्रो व्यापार गर्यो । हेनाले फिल्ममा गरेको अभिनयले प्रशंसा बटुलिन् ।
‘होस्टेल ३’ को चर्चा सेलाउन नपाउँदै गत वैशाखमा उनको डेब्यु अभिनय रहेको फिल्म ‘खेल’ प्रदर्शनमा आयो ।
हेनाको फिल्म यात्रा पनि कम रोचक छैन । पहिलो फिल्म ‘खेल’ का लागि उनले चार पटकसम्म अडिसन दिनुपरेको थियो । तर सुरुमा गरेको दुःख पछि सुखमा परिणत भयो । यो फिल्मको भारत र हङकङमा समेत प्रिमियर गरियो, जहाँ उनले सोचेभन्दा धेरै माया पाइन् ।
फिल्मको अनुभव थिएटरको भन्दा फरक लाग्यो हेनालाई । ‘थिएटरमा पर्फमेन्सको हिसाबले बढी गाह्रो छ, किनकि त्यहाँ गल्ती सच्याउने ठाउँ हुँदैन,’ उनी भन्छिन्, ‘फिल्ममा पटक-पटक रिटेकका अलावा सम्पादनमा पनि सच्याउन सकिन्छ ।’
पछिल्लो समय नेपाली फिल्ममा सामाजिक सञ्जालमा ‘भाइरल’ व्यक्तिहरूलाई कास्ट गर्न थालिएको छ । फिल्म उद्योगको यो प्रवृत्ति उनलाई चित्त बुझेको छैन ।
‘नेपालमा कलाकारको क्षमता वा उसको क्यारेक्टर सुहाउँदो लुक्सभन्दा पनि सोसल मिडिया फलोअर्स र चर्चालाई हेरेर कास्टिङ गरिन्छ,’ हेना भन्छिन्, ‘कतिपय अवस्थामा यो कलाकारले यो भूमिका गर्दैन भनेर आफैं जज गर्छन् ।’ उनी निर्माता-निर्देशकलाई कामको प्रस्ताव सिधै कलाकारसँग गर्न सुझाउँछिन् ।
बलिउड वा हलिउडमा काम गर्ने सपना धेरैको हुन्छ, उनको पनि नहुने कुरै भएन । पछिल्लो समय नेपाली कलाकारहरू बलिउडमा देखिन थालेकोमा उत्साहित उनी अवसर पाए आफू पनि तयार रहेको बताउँछिन् । भविष्यमा फिल्म निर्माणका लागि केही कथा समेत तयारी अवस्थामा राखेकी छन् ।
‘मसँग तीन–चारवटा कन्सेप्ट छन्, जसले नेपाली फिल्ममा केही नयाँपन दिन सक्छन्,’ उनी भन्छिन्, ‘यदि राम्रो लगानीकर्ता भेटिए भने हामीसँग उत्कृष्ट स्क्रिप्ट र टिम तयार छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण