‘३० वर्षको भारी बिसाएर नेतातन्त्रविरुद्ध नयाँ यात्रामा हिँडेको हुँ’
काठमाडौं । मनऋषि धितालले ३० वर्ष माओवादीमा सक्रिय राजनीति गरे । लेखक तथा पत्रकारको पहिचान बनाएका धिताल आगामी निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट जुम्लामा उम्मेदवार बनेका छन् ।
दशवर्षे जनयुद्धमा पटक-पटक जेलनेल भोगेका उनका जनयुद्धकालीन अनुभव सँगालेका दशवटा पुस्तक प्रकाशित छन् । निर्वाचनमा केन्द्रित रहेर धितालसँग रातोपाटीको ‘वारपार’मा कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न सकिन्छ) :
निर्वाचनका जुम्ला नै किन रोज्नुभयो ?
जुम्ला मेरो मातृभूमि हो । मातृभूमिको माया साँच्चै गहिरो नै हुँदोरहेछ । दश वर्षको उमेरमा जुम्लाबाट बाध्यताले बसाइँ सर्नुपर्यो । तैपनि जहाँ जता पुगे पनि मैले देख्ने हरेक सपना जुम्लाकै हुन्थ्यो । जुम्लाले १० वर्षसम्म जसरी हुर्कायो, बुझायो अब मेरो कर्तव्य बाँकी समय मैले जुम्लाकै लागि दिनुपर्छ भन्ने पनि लाग्यो । त्यसबेलाका १० वर्षका बच्चाहरुको अवस्था जे छ अहिले पनि त्यही छ भन्ने मलाई अनुभूति भयो । मेरो बाबा–आमाको निधन त्यही नै भएको थियो । आमा-बाबा जलाएको त्यो आगोको लप्काले अहिले पनि मलाई जुम्ला जान प्रेरित गर्छ । हाम्रो पार्टीले पनि जुम्ला जानका लागि निर्णय गर्यो ।
संसारकै विकसितमध्येको देश अस्ट्रेलिया बस्नुभयो । एक हिसाबले सम्पन्नताको जीवन बिताउन सक्ने अवस्थाको मान्छे फेरि जुम्ला फर्किनुभयो । फेरि दुःखको बाटो किन रोज्नुभयो ?
यो दुःख होइन । चेतनास्तरको विकास भएपछि राजनीति रोजेँ । २०५२ मा जनयुद्ध रोजियो । मुक्तिको बाटो अलि टाढाको कुरा थियो । त्यसपछि भनेको कि मृत्युको बाटो थियो कि जेलको बाटो । संयोगवश मृत्यु त चुन्न पाइएन । तर जेलचाहिँ बसियो । सबै जेल, जंगल, प्रवास अर्थात् यी सबै जहाँ–जहाँ गए पनि राजनीतिक रूपमा, सामाजिक रूपमा आफूले गर्नुपर्ने कर्तव्य निर्धारण गरियो । त्यो कर्तव्यअन्तर्गत मलाई आफ्नो मातृभूमिको र आफूलाई त्यो माटोले सम्झिरहेको छ । मैले जेसुकै गतिलो जीवन देखे पनि त्यो जीवनप्रतिको मलाई छुट्टै खालको आकर्षण भएन ।
बरु त्यहाँ छुटेको जीवन जुन छ, म सँगै बाल्यकालमा हुर्केका जो साथीहरू हुनुहुन्छ, अहिले पनि उहाँहरू आफ्नो हिसाबले संघर्ष गरिरहनुभएको छ । उहाँहरूको संघर्षको जीवन सुन्दर लाग्यो । त्यसपछि उहाँहरूसँगै नै मलाई सहकार्य गर्न मन लाग्यो र मेरो आफ्नै जीवनको कर्तव्य त्यो बाँकी छ भन्ने लागेर फेरि मलाई त्यो बाटो हिँड्न मन लाग्यो ।
उर्वर उमेरमा लगानी गरेको पार्टी त छोड्नुभयो नि ?
१० वर्ष एउटा भीषण संघर्षको चरण रह्यो । अर्को १० वर्ष हामीले शान्ति प्रक्रिया भनेर अर्को चरण बितायौँ । अर्को १० वर्षमा नयाँ संविधान बन्यो । त्यसपछि शान्ति र समृद्धिको बाटो सरसर अगाडि बढ्छ भन्ने सोचियो । त्यसपछिका १० वर्ष पनि बित्यो । पछिल्लो दशकमा चाहिँ अलि बढी नै सोच्न बाध्य भइयो ।

खासगरी ७२ र ८२ को दशक जुन छ, यसमा लोकतन्त्र, गणतन्त्र चाहिँ अर्कै तन्त्रले कब्जा गरिदिएको छ । त्यो तन्त्र स्थापित भएको हामीलाई थाहै भएन । र, यो तन्त्र स्थापना गर्ने फेरि हाम्रै आदरणीय नेताहरू भइदिनुभयो । उहाँहरूले पार्टीलाई, लोकतन्त्रलाई नेतातन्त्रमा परिणत गर्नुभयो । पार्टीभित्र अभिव्यक्ति स्वतन्त्रता रहेन । धेरै खराबी र भ्रष्टाचारको केन्द्र पार्टी भए । अनि त्यो पार्टी र नेताहरूका हामी कार्यकर्ता हौँ भनेर जनतामाझ उभिएर भन्न गाह्रो हुने परिस्थिति आयो । हाम्रै नेतृत्वको टिमले नै यो सब बनायो भन्ने मलाई लाग्छ । त्यसैले ३० वर्षको भारी बिसाएर नेतातन्त्रविरुद्ध नयाँ यात्रामा हिँडिएको हो ।
जुम्लाबाट १० वर्षको उमेरमा काठमाडौँ आउँदा एउटा जोखिम थियो होला । २०५२ सालमा युद्धमा होमिँदा अर्को जोखिम । काठमाडौँबाट अस्ट्रेलिया जाँदा पनि अर्को खालको जोखिम थियो होला । ४० वर्षपछि फेरि जुम्ला फर्केर अर्को जोखिम उठाएँ भन्ने लाग्दैन ?
मलाई जोखिम नै मनपर्छ । अर्को कुरा साथीहरूले, मेरा शुभचिन्तकहरूले मलाई अलि बढी नै माया गरेर त्यसो भन्नुभएको हो जस्तो लाग्छ । म त्यस्तै जोखिमको बाटो हिँड्न रुचाउने भएकाले माया गर्नुभयो होलाजस्तो लाग्छ । तर म चाहिँ आफूलाई फेरि पनि जोखिमको बाटो भन्दिनँ ।
किन नि ?
इमानदारीपूर्वक भन्नुपर्दा म जेल त परेँ । तर मेरा धेरै साथीहरूले जुन चरम यातना भोग्नुभएको थियो, त्यो स्तरको यातना मैले चाहिँ भोग्नु परेन । मानसिक यातना त भयो होला तर शारीरिक यातना पाइनँ । त्यस हिसाबले म साँच्चैको क्रान्तिकारी हुन्थें कि होइन भन्ने कुरामा मैले मलाई नै शंका गर्थें । किनकि मेरा मित्रहरू, मेरा कमरेडहरूले पाएको चरम यातना मैले पाएको भए म के गर्थेँ भनेर आफैंलाई प्रश्न सोध्थें ।
४० वर्षपछि तपाईंले त जुम्ला खोज्नुभयो, तर जुम्लाले चाहिँ तपाईंलाई खोजेको छ कि छैन ?
मलाई लाग्छ जुम्लाले खोजेको छ । किन खोजेको छ भने यसका दुई–तीनटा कारण छन् । जुम्लामा सरल मान्छेहरू पनि छन् । नितान्त जुम्ली जनताको अभिमत लिएर काठमाडौँमा व्यक्तिगत नायकत्व मात्रै स्थापित गर्ने वा कोही बाहुबली मान्छेहरू नै यहाँका मुक्तिदाताहरू हुन् भन्ने खालको जुन भाष्य निर्माण गरिएको छ, त्यो ठाउँमा म जस्ता पात्रहरू जाँदा त्यस्तो होइन है भन्ने भएको छ । हामी जस्तै सरल मान्छे पनि, हाम्रै भाइछोरा पनि, पैसा आदि इत्यादि नहुने मान्छे पनि हाम्रो नेता हुनसक्छ । हाम्रो प्रतिनिधि हुनसक्छ भन्ने कुरा निकै राम्रोसँग चर्चा भएको छ ।
म यहीँ जन्मेको, यहीँ हुर्केको, पछिल्लो जनयुद्धकालमा पनि यात्रा गरेको हिसाबले निरन्तर बसोबास नगरे पनि जुम्लामा म एक हिसाबले व्यक्तिगत रूपमा माया गर्ने पात्र नै हो । यसबाट चाहिँ चुनावकै रूपमा, प्रतिनिधिकै रूपमा जाँदा वास्तवमा गाउँगाउँमा एउटा चर्चा–छलफल चाहिँ सुरु भएको छ ।
जुम्लामा निर्वाचनमा उम्मेदवार भइरहँदा तपाईंको मुद्दा चाहिँ के–के हुन् ?
पछिल्लो नवयुवाहरूको आन्दोलन पछाडि जुन परिस्थिति सिर्जना भएको छ, त्यो परिस्थितिबाट देशलाई निकास दिन हाम्रो प्रतिनिधित्व चाहिन्छ भन्ने कुरा बुझाउन खोजिरहेका छौँ । किनकि कर्णालीकै धेरै नवयुवाहरू त्यो आन्दोलनमा सहभागी हुनुभएको थियो । ती नवयुवाहरूले गरेको आन्दोलनको मर्म के हो ? त्यो मर्मलाई समात्ने मान्छेहरू को हुन् भन्ने कुराको बहस पनि सुरु भएको छ र म मुख्यतया त्यही नै लिएर गएको छु ।
नेता भनेको देवता, भगवान् जस्तो मान्ने जुन प्रवृत्ति पछिल्लो १० वर्षमा अलि विशेषगरी हाबी भयो । त्यो सत्य होइन । देवता वा भगवानलाई आफ्नो स्थानमा राखौँ तर नेता भनेको मान्छे हो भन्ने कुरा स्थापित गर्ने कुरा छ । दोस्रो, नेताहरू भ्रष्टाचारको यस्तो सञ्जालका निर्माताहरू भए, माथिको नेताले बनाएको भ्रष्टाचारको सञ्जालको नेटवर्क तल–तलसम्म पुगेको छ । त्यो तोड्नु छ ।
तपाईंले जेनजी विद्रोहको कुरा गर्नुभयो । जुम्लाको इतिहास पञ्चायतकालदेखि नै विद्रोही–विद्रोही खालको देखिन्छ । अब जेनजी विद्रोहपछि त त्यसको नेतृत्व गर्ने दल र तिनका प्रतिनिधिले नै गरिहाल्लान् नि ? तपाईंको आवश्यकता पर्ला र ?
जुम्लामा अरू वैकल्पिक राजनीतिक पार्टी भन्न रुचाउने साथीहरू पनि मैदानमा हुनुहुन्छ । तर हरेक पटक म क्रान्तिको पक्षधर रहेछु । त्यसैले पछिल्लो जुन नवयुवाहरूको आन्दोलन भयो, विध्वंश पनि भयो त्यो दुर्भाग्यपूर्ण छ । तर पनि क्रान्तिमा, आन्दोलनमा विध्वंशहरू हुन्छन् । तर चेतनाको हिसाबले म त्यो क्रान्ति हो भन्छु । कस-कसले घुसपैठ गरे, कहाँ के भयो त्यो म धेरै बुझ्दिनँ । तर नवयुवाहरूले नेता तन्त्रले जबर्जस्ती ढंगले हाम्रो समाजमा थोपर्न खोजेको थियो र लोकतन्त्र, गणतन्त्र हाइज्याक गरेर केही सीमित नेताहरू, केही सीमित व्यक्तिहरूले मात्रै उनीहरूको वरिपरि सारा संसार चल्नुपर्ने हिजोका दिनमा हामीले फालिसकेका तन्त्र जस्तै तन्त्र स्थापना गर्न खोजिरहनुभएको थियो । त्यसको अन्त्य गर्न पनि हामी जानुपर्ने भयो र त्यो गयौँ ।
तपाईंले भनेका यी मुद्दाहरू त एकदमै जनरालाइज वा देशभरिकै लागि काम लाग्ने सैद्धान्तिक खालको भयो । तर स्थानीय मुद्दा जस्तै सडक खोज्लान्, आफ्नो श्रमको मूल्य खोज्लान्, त्यहाँको उत्पादनको बजार खोज्लान् नि होइन र ?
जुम्लामा काम गर्न बाँकी धेरै कुरा छन् । धेरै अधुरा कुरा देखेँ मैले । ती अधुरा कुरा संसद्ले गर्ने हो कि होइन, त्यो त हामीले फेरि छलफल गर्नुपर्ने हुन्छ । एउटा सांसदले गर्न सक्ने हो कि होइन ? गर्न मिल्ने हो कि होइन, पर्ने हो कि होइन ? त्यो कुरा छँदैछ । जुम्ला प्रवेश गर्ने नागमाबाट सिन्जा लाग्ने बाटोघाटो बनेको छैन । ट्रयाक त छ तर अप्ठ्यारो । त्यो बाटो कहिले राम्रो होला भन्ने जनताको मुद्दा छ । धारा पुगेको देखिन्छ तर पानी आउँदैन । बिजुलीका पोलहरू ठाउँ–ठाउँमा ठडिएको देखिन्छ तर चाहिने बेला बिजुली छैन ।

त्यसैगरी सञ्चारको नेटवर्कको समस्या छ । किसानको उत्पादनको बजारको कुरा छ । स्याउ हामीसँग राम्रो उत्पादन हुन्छ तर त्यो काठमाडौँसम्म आइपुग्न गाह्रो छ । आइपुगेपनि त्यसले मूल्य प्राप्त गर्न गाह्रो छ । मार्सी धान बाहिर बजारसम्म अथवा अन्तर्राष्ट्रिय बजारसम्म कसरी पुर्याउने होला भन्ने बहस जनतामा छ । त्यसैगरी पशुपालनका सम्भावना पनि छन् जुम्लामा । रोजगारीमा एकदम समस्या छ । भेडाको ऊनको व्यापार र पर्यटनको सम्भावना पनि उत्तिकै छ । दक्ष जनशक्ति छैन हामीसँग । त्यसका लागि काम गर्नुपर्ने छ ।
समस्या नै समस्या देखाउनुभयो । यसअघिका जनप्रतिनिधिको कुरा सुन्दा त जुम्लामा गर्न बाँकी केही छैन जस्तो लाग्थ्यो त ?
छैन भने जस्तो गरेर उहाँहरूले भन्नुहुन्थ्यो । मैले पनि भनेको सुन्थेँ ।
त्यति समस्या रहेछन् । मनऋषि धितालले चाहिँ जुम्लाका लागि अहिलेसम्म के योगदान गर्नुभयो भनेर प्रश्न त जनताले सोध्लान् तपाईंलाई पनि ?
२०६३ सालयता जुम्लामा जे जति काम भएका छन्, त्यसबारे म जानकार छु । जस्तै, सबभन्दा ठुलो काम भनेको जुम्लामा अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । कर्णाली विकास आयोग पनि थियो कुनै बेला । ती दुवै निर्माण गर्ने प्रक्रियामा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँ हामी नजिक बसेर कुराकानी सुन्ने, छलफल गर्ने, योजनामा काम गर्ने गर्थ्यौं ।
जुम्लाभर कुनै पक्की पुल थिएन । त्यहाँका युवा साथीहरूसँग मिलेर हामीले हजारौँ जनतालाई जोड्ने हिमाल नदीमा पक्की पुल पनि बन्यो । यी कामबारे म जानकार चाहिँ छु । तर त्यो नेपाली जनताको करले, झापाको जनताले वा इलामको जनताले तिरेको वा कोही कर्मचारीले, प्रहरीले, व्यापारीले राष्ट्रलाई तिरेको करबाट निर्माण भएका हुन् । त्यो नेपाली जनताकै खल्तीको पैसाले बनेका हुन् । मैले योगदान गरेर बन्यो भन्नु त्यो अनैतिक हुन्छ । त्यस्तो अनैतिक कुरा म भोलिको दिनमा पनि भन्ने छैन । व्यक्तिको पहल चाहिँ हुन्छ । त्यत्ति हो ।
तपाईंका प्रतिस्पर्धी धेरै आक्रामक देखिन्छन् । तपाईं यति नरम हुनुहुन्छ । चुनाव त नरम भएर जितिँदैन भन्छन् नि ?
जनता नरम छन् । जुम्लाका जनता सभ्य र सिभिलाइज्ड जनता हुन् । तर विद्रोही पनि छन् । सचेत जनता पनि छन् । चर्काचर्का नारा, सपनाका कुरा अब जुम्ली जनताले पत्याउँदैनन् । सरल पात्र, एउटा परिपक्व पात्र, सपना सहितको त्यो पनि निजी सपना होइन, सामूहिक सपना हामी निर्माण गरौँ भन्ने पात्रहरू खोजिरहेको छ जुम्लाले । मेरा केही मित्रहरू भिड लिएर हिँडिरहनुभएको छ । खादा–माला लगाएर विजय जुलुसहरू मनाइरहनुभएको छ । त्यो अहिले गर्ने बेला होइन । देशको अवस्था खुसीयाली मनाउनुपर्ने अवस्था पनि छैन । चुनावमा जित्दा पनि खुसीयाली मनाउनुपर्ने अवस्था छैन भने अहिले त हामी जनताको बिचमा परीक्षा दिन गइरहेका छौँ ।
तपाईंले फेरि जुम्ला छोड्नुहुन्न भनेर जुम्लाका जनताले कसरी पत्याउने ?
मैले जितेँ भने बरु जुम्लाका लागि कम समय दिनुपर्ने हुन्छ । किनकि यता संसद् चल्ने, के-के गर्ने होला ? अन्यथा अवस्थामा मलाई मेरो आफ्नो जीवनको धेरै समय अब जुम्लामा नै बिताउन मन छ । किनकि जुम्लामा २०१ वटा गाउँ छन् । म सबै गाउँमा पाइला टेक्न पाएको छैन । हामीले काम पनि गर्नु छ । त्यो एक्लै गर्ने कुरा छैन, जनतासँग मिलेर गर्नु छ ।
प्रचारको शैली हेर्दा मुख्य मुद्दा नउठाउने, तर एकअर्काको आलोचनामै उम्मेदवारले समय खर्च गर्ने भन्ने आरोप छ नि ?
कतिपय साथीहरूमा राज्यले गरेका कुरा सबै आफैंले गरेको हुँ भ्रम छ । ‘जुम्ला जिल्लाको नाम हामीले अन्तर्राष्ट्रिय रूपमा निकै चर्चित बनायौं । योभन्दा अगाडि नक्सामै जुम्ला भन्ने थिएन । इतिहासमा पनि थिएन ।‘ मानौँ यही दुई–तीन वर्षको बिचमा मात्रै जुम्ला थियो भन्ने जस्ता सस्तो लोकप्रियता र सस्तो प्रचार भइरहेको छ । हामीले चाहिँ साँच्चैका मुद्दाहरूमा केन्द्रित भएर प्रचार गरिरहेका छौं । हामीले जनतासँग गएर छलफल गरिरहेका छौँ । कुरा सुनिरहेका छौँ, रिपोर्ट गरिरहेका छौँ र त्यो समस्या समाधान गर्ने उपाय पनि सामूहिकतामा खोजिरहेका छौं ।
धेरै ठाउँमा दलहरूबिच तालमेलको कुरा आइरहेको छ । जुम्लामा केही त्यस्तो कुरा भएको छ ?
उम्मेदवारी फिर्ता लिने दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीको माथिल्लो नेतृत्वले मलाई फोन गरेको थियो । उहाँहरूले जुम्लाका लागि हामीलाई छोडिदिनुस् भन्नुभएको थियो । तर मैले जुम्लामा तपाईंहरूले हामीलाई छोड्नुस् भनें । किनभने जुम्लामा पछिल्लो वैकल्पिक राजनीतिलाई स्वीकार गर्ने र त्यसलाई स्थापित गर्ने पात्र पनि हुँ म । त्यसैले मलाई स्वीकार गर्दा झन् राम्रो हुन्छ तर मैले चाहिँ छोड्न मिल्दैन भनेर भनेँ । उहाँहरुले स्वीकार गर्नुभएको छैन । म यति कुरामा निश्चिन्त छु कि म यति धेरै गहिरोसँग अब त्यहाँ भिजिसकेँ कि मेरो लागि भोट कति आउँछ अब मेरो विषयको रहेन । म आफू चाहिँ जुम्ली जनताको बिचमा आफैँ आफ्ना लागि पनि भोट हाल्छु ।
प्रगतिशील लोकतान्त्रिक पार्टीको आँखा चिह्न फागुन २१ सम्म जुम्लामा रहनेछ होइन त ?
जुम्लामा फागुन २१ सम्म रहने कुरा त निश्चित नै भइहाल्यो । अब यो धेरै परसम्म रहने देखिन्छ ।
चिसो मौसमका कारण निर्वाचन हुँदैन कि भन्ने आशंका कति छ जुम्लामा ?
जुम्लामा ११० वटा पोलिङ बुथ छन् । हिउँ पर्यो भने अप्ठ्यारो हुन्छ कि भन्ने चिन्ता चाहिँ छ । तर त्यो कुरा अग्रिम रूपमा थाहा पाउने अवस्था पनि छ । अहिले त प्रविधिले कुन बेला कस्तो मौसम हुन्छ भनिदिन्छ । फागुन २१ गते वरिपरि मौसम खराब हुन्छ कि हुँदैन भन्ने कुराको कुनै फोरकास्ट छैन अहिले । तर हिमपात भयो भने अप्ठ्यारो हुनसक्छ ।
निर्वाचन अहिले एकदमै महँगो भइरहेको छ । त्यसमा पनि दुर्गम जिल्लामा लड्नुभएको छ । निर्वाचन लड्ने पैसाको जोहो कसरी गर्नुहुन्छ ?
पहिलो आधार मेरा आफ्ना मित्रहरू हुनुहुन्छ । उहाँहरू आफैँ–आफैँ खटिरहनुभएको छ । मेरो आफ्नो त्यस्तो केही पनि छैन । मसँग मेरो कलमको शक्ति छ । आठ–दशवटा मेरा पुस्तक छन् । त्यो पुस्तकबापत मलाई केही साथीहरुले सहयोग गर्छु भन्नुभएको छ । मलाई पुग्ने खर्च मेरो पुस्तकको बिक्रीबाट होला । मित्रहरू स्वयंसेवी ढंगले खटिदिनुभएको छ ।
भिडियो/फोटो : मनोज खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण