बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

गुजरातलाई पछार्दै दिल्ली लगातार चौथोपटक महिला प्रिमियर लिगको फाइनलमा

उपाधिका लागि साबिक विजेता बेंगलुरूसँग भिड्ने
बुधबार, २१ माघ २०८२, ०९ : ३०
बुधबार, २१ माघ २०८२

सारांश

  • दिल्ली क्यापिटल्सले गुजरात जायन्ट्सलाई ७ विकेटले हराएर महिला प्रिमियर लिगको फाइनलमा स्थान बनाएको छ।
  • गुजरातले दिएको १६९ रनको लक्ष्य दिल्लीले १५.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो, जसमा लिजेल ली र शेफाली वर्माको राम्रो योगदान रह्यो।
  • फाइनलमा दिल्लीले साबिक विजेता रोयल च्यालेन्जर्स बेङ्गालुरूसँग प्रतिस्पर्धा गर्नेछ, खेल वडोदरामा नै हुनेछ।

वडोदरा । दिल्ली क्यापिटल्स महिला प्रिमियर लिग (डब्लूपीएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार सम्पन्न रोमाञ्चक एलिमिनेटर खेलमा गुजरात जायन्ट्सलाई ७ विकेटले स्तब्ध पार्दै दिल्लीले उपाधि भिडन्त पक्का गरेको हो।

वडोदरास्थित कोटाम्बी स्टेडियममा गुजरातले दिएको १६९ रनको चुनौती दिल्लीले मात्र १५.४ ओभरमा ३ विकेट गुमाएर सहजै पूरा गर्‍यो। दिल्लीको जितमा माथिल्लो क्रमका ब्याटरहरूले उत्कृष्ट प्रदर्शन गरे।

ओपनर लिजेल लीले ४३ रन र शेफाली वर्माले ३१ रन जोड्दै टोलीलाई विस्फोटक सुरुवात दिलाए। यी दुईबिच भएको अर्धशतकीय साझेदारीले रन चेजलाई सहज बनाएको थियो। कप्तान जेमिमा रोड्रिग्जले ४१ रनको कप्तानी पारी खेलिन् भने लाउरा वोलवार्ट ३२ रनमा अविजित रहँदै टोलीलाई जितसम्म पुर्‍याइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरात जायन्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको थियो। गुजरातका लागि बेथ मुनीले ५१ बलमा ६२ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याटरले ठुलो स्कोर बनाउन सकेनन्।

जर्जिया वेयरहमले ३५ रनको योगदान दिइन्। गुजरातलाई मध्यम स्कोरमा रोक्न दिल्लीकी शिनेल हेनरीले घातक बलिङ गर्दै ३ विकेट लिइन् भने नन्दिनी शर्माको भागमा २ विकेट रह्यो।

अब उपाधिका लागि दिल्ली क्यापिटल्सले आगामी फेब्रुअरी ५ मा साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरूसँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणको समाप्तिमा अङ्क तालिकाको शीर्ष स्थानमा रहँदै बेंगलुरु सिधै फाइनल पुगेको थियो।

फाइनल खेल पनि वडोदरामा नै हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप