मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाइजेरियाको क्वारा र काट्सिना राज्यमा बन्दुकधारीद्वारा २०० जनाको हत्या

बिहीबार, २२ माघ २०८२, ११ : ३६
बिहीबार, २२ माघ २०८२

काठमाडौँ । पश्चिम र उत्तरी नाइजेरियामा भएको बन्दुकधारीहरूको शृङ्खलाबद्ध आक्रमणमा करिब २०० सर्वसाधारणको ज्यान गएको स्थानीय अधिकारी र प्रत्यक्षदर्शीहरूले बताएका छन् । मंगलबार साँझ पश्चिमी क्वारा राज्यको वोरो समुदायमा भएको आक्रमण सबैभन्दा घातक रहेको भन्दै स्थानीय सांसद साइडु बाबा अहमदले कम्तीमा १७० जनाको हत्या भएको जानकारी दिएका छन् । उत्तरी काट्सिना राज्यमा पनि घर–घर पसेर गोली प्रहार गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् ।

क्वाराको घटनालाई हालैका महिनामा यस क्षेत्रकै सबैभन्दा ठूलो नरसंहार मानिएको छ । प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीहरूले गाउँलेहरूलाई नियन्त्रणमा लिएर हात पछाडि बाँधेर त्यसपछि गोली हानेर हत्या गरेका थिए । आक्रमणपछि उनीहरूले घर तथा पसलमा आगजनी पनि गरे । गाउँलेहरू ज्यान जोगाउन झाडी र आसपासको क्षेत्रमा भागेका थिए आक्रमणपछि सैनिकसहितको सुरक्षा टोली घटनास्थलमा पुगेको र शव सङ्कलन तथा बेपत्ता खोजी जारी रहेको सांसद अहमदले बताए ।

क्वारा प्रहरीका प्रवक्ताले आक्रमणमा धेरै जनाको मृत्यु भएको मात्र भनेका छन् । उनले मृतकको ठ्याक्कै सङ्ख्या खुलाएका छैनन् । खोज तथा उद्धार कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । नाइजेरियामा बोको हराम र इस्लामिक स्टेटसँग जोडिएका विद्रोही समूहको गतिविधि, साथै उत्तर–पश्चिम र उत्तर–मध्य क्षेत्रमा फिरौतीका लागि अपहरणको घटनाले सुरक्षा संकट गहिरिँदै गएको छ । हालसम्म कुनै समूहले आक्रमणको जिम्मा लिएको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप