बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
गोलार्द्ध

जेनजीले ‘तानाशाह’लाई ढाले, तर चुनावमा पुरानाकै जित हुने सङ्केत

बिहीबार, २२ माघ २०८२, १३ : ११
बिहीबार, २२ माघ २०८२

सारांश

  • बंगलादेशमा युवा विद्रोहको क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भयो, जसले देशव्यापी जनआन्दोलन निम्त्यायो।
  • शेख हसिनाको सरकार पतन भएपछि, विद्यार्थी नेताहरूले अन्तरिम सरकार गठन गरे, तर उनीहरूको राजनीतिक दल विभाजित भयो र महिलाहरूलाई किनारा लगाइयो।
  • आगामी चुनावमा विद्यार्थी दलले जमात-ए-इस्लामीसँग गठबन्धन गरेपछि, देशको भविष्यको प्रशासनमा उनीहरूको भूमिकालाई लिएर प्रश्न उठेको छ।

ढाका । बंगलादेशको इतिहासकै सबैभन्दा रक्तपातपूर्ण मानिएको युवा विद्रोहका क्रममा आफ्ना साथीलाई बचाउने प्रयास गर्दा राहत हुसेन झन्डै मारिएका थिए।

प्रहरीको गोली लागेका साथी इमाम हसन तैम भुइँयालाई तानेर सुरक्षित स्थानमा लैजाँदै गरेको उनको भिडियो, देशको शासकलाई सत्ताच्युत गर्ने क्रान्तिका क्रममा भाइरल भएको थियो।

२० जुलाई २०२४ मा भएको प्रदर्शनमा प्रहरी दमनका क्रममा २४ वर्षीय हुसेन र १९ वर्षीय भुइँयाले ढाकाको एउटा चिया पसलमा ओत लिएका थिए। तर प्रहरीले उनीहरूलाई बाहिर थुतेर कुटपिट गर्दै भाग्न आदेश दिए।

त्यही क्रममा भुइँयालाई गोली लाग्यो। साथी भुइँमा लडेको देखेपछि हुसेनले उनलाई घिसार्दै लैजान खोजे, तर प्रहरीले गोली चलाउन रोकेनन्। आफ्नै खुट्टामा गोली लागेपछि हुसेनले भने, ‘मैले उनलाई त्यहीँ छोड्नुपर्‍यो।’ पछि भुइँयालाई अस्पतालमा मृत घोषणा गरियो।

9f39a2e0-01e1-11f1-88cc-958b71e0ce18.jpg

यस्तै हिंसाले विद्यार्थीको नेतृत्वमा सुरु भएको प्रदर्शनलाई देशव्यापी जनआन्दोलनमा परिणत गर्‍यो, जसको केन्द्रबिन्दु राजधानी ढाका थियो। दुई हप्ता नबित्दै सरकार सत्ताबाट हट्यो र प्रधानमन्त्री शेख हसिना देश छोड्न बाध्य भइन्।

संयुक्त राष्ट्रसंघका अनुसार, हसिनाले आदेश दिएको सुरक्षा कारबाहीमा परी आन्दोलनका क्रममा करिब १,४०० मानिसको मृत्यु भयो।

हसिनाको पतनले नयाँ युगको सङ्केत गरेको थियो। यो विद्रोहलाई विश्वभरका ‘जेनजी’ द्वारा गरिएको आन्दोलनमध्ये पहिलो र सबैभन्दा सफल मानिएको थियो।

बंगलादेशमा केही विद्यार्थी नेताहरू अन्तरिम सरकारको महत्त्वपूर्ण पदमा पुगे र जुन देशका लागि उनीहरू सडकमा लडेका थिए, त्यसलाई नयाँ आकार दिने प्रयास गरे। दशकौँदेखि हसिनाको अवामी लिग र प्रतिद्वन्द्वी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को शासनपछि, देशको भविष्यको प्रशासनमा उनीहरूको भूमिका रहने अपेक्षा गरिएको थियो।

तर, अर्को साता हुने आम निर्वाचन नजिकिँदै गर्दा विद्यार्थीहरूको नवगठित राजनीतिक दल नराम्ररी विभाजित भएको छ भने आन्दोलनमा सहभागी महिलाहरू प्रायः किनारामा पारिएका छन्। अवामी लिग प्रतिबन्धित भएकाले लामो समयदेखि स्थापित अन्य पुराना दलहरूले त्यो खाली ठाउँ भरिरहेका छन्।

हुसेन २०२४ को विद्यार्थी नेतृत्वको प्रदर्शनमा सहभागी भएका थिए। सुरुमा निजामती सेवाका जागिरमा नयाँ कोटा प्रणालीको विरोध गर्न युवा–युवती, धर्मनिरपेक्ष र धार्मिक सबै एकै ठाउँमा आएका थिए। तर पछि यो आन्दोलन ‘निरङ्कुश शासन’ अन्त्य गर्ने ‘एउटै साझा उद्देश्य’ मा परिणत भयो।

तथापि, अन्तरिम सरकारले आफूले आशा गरेको ‘शान्ति, समानता, न्याय र निष्पक्षतामा आधारित सुन्दर बंगलादेश’ निर्माण गर्न नसकेको हुसेनले बीबीसीलाई बताए।

विद्यार्थी नेतृत्वको नेसनल सिटिजन पार्टी (एनसीपी) धेरै अनुभवहीन भएको ठान्ने उनी एक्ला होइनन्। बरु, उनी अर्को धेरै पुरानो पार्टी ‘जमात-ए-इस्लामी’ बाट प्रभावित छन्।

यो एक इस्लामी पार्टी हो, जुन साना गठबन्धन साझेदारको रूपमा रहँदै आएको थियो। तर अवामी लिग प्रतिबन्धित भएको अवस्थामा, १२ फेब्रुअरीमा हुने चुनावको पूर्वसन्ध्यामा यसले आफ्नै गति लिएको छ।

सन् १९४१ मा स्थापित जमात सधैँ सन् १९७१ को पाकिस्तानबाट बंगलादेशको स्वतन्त्रता युद्धको समयमा आफ्नो भूमिकाका कारण विवादित रह्यो। त्यस युद्धमा लाखौँ मानिस मारिएका थिए भने १ करोडभन्दा बढी विस्थापित भएका थिए। जमातका केही नेताहरूलाई तत्कालीन पश्चिम पाकिस्तानसँग मिलेमतो गरेको आरोप लगाइएको थियो।

तर हुसेनलाई यो इतिहासले खासै फरक पारेको छैन, उनी जमात आधुनिकीकरण भएको विश्वास गर्छन्। उनी भन्छन्, ‘जमातले जुलाई विद्रोहका कमरेडहरू र विद्यार्थीहरूलाई विभिन्न तरिकाले साथ दियो।’

763e0d40-01e6-11f1-9199-abe6787bfb38.jpg

जमातका नेता शफिकुर रहमानले बीबीसीलाई बताएअनुसार पार्टीले भ्रष्टाचार अन्त्य गर्ने र न्यायपालिकाको स्वतन्त्रता पुनर्स्थापना गर्ने वाचा गरेको छ। ऐतिहासिक रूपमा उच्च भ्रष्टाचार रहेको देशमा यी वाचाहरू पूरा गर्न गाह्रो भए पनि धेरैलाई यसले आकर्षित गरेको छ।

ढाकाको नर्थ साउथ युनिभर्सिटीका प्राध्यापक तौफिक हकका अनुसार सन् १९७१ पछि जन्मेका अधिकांश युवा मतदाताहरूले जमातलाई यसको इतिहासबाट अलग गरेर हेर्छन् र यसलाई निषेधको विषय मान्दैनन्।

‘यो पुस्ताको कुरा हो,’ उनी भन्छन्, ‘उनीहरू यो बहसमा फस्न चाहँदैनन्।’

प्राध्यापक हकका अनुसार युवा मतदाताहरूले जमातलाई हसिनाको शासनको पीडितका रूपमा हेरेका छन्, जसलाई राजनीतिबाट प्रतिबन्ध लगाइएको थियो र जसका धेरै नेताहरू जेलमा थिए।

जमाततिर आकर्षित हुने हुसेन मात्र होइनन्। गत सेप्टेम्बरमा बंगलादेशका शीर्ष विश्वविद्यालयहरूमा भएको विद्यार्थी चुनावमा जमात समर्थित उम्मेदवारहरूले भारी जित हासिल गरेका थिए, जसलाई राष्ट्रिय मनोभावनाको संकेतका रूपमा हेरिएको थियो।

स्मरणीय कुरा के छ भने, स्वतन्त्रता पछि पहिलो पटक बंगलादेशको प्रतिष्ठित ढाका विश्वविद्यालयको विद्यार्थी युनियनमा कुनै इस्लामी पार्टीले नियन्त्रण जमाएको थियो। ३७ वर्षभन्दा कम उमेरका करिब ४० प्रतिशत मतदाता रहेको देशमा विद्यार्थी नेताहरूका लागि यो समस्याको पहिलो ठुलो सङ्केत थियो।

  • एक विवादास्पद सम्झौता

एनसीपी प्रतिको अविश्वास विद्यार्थी नेताहरूका लागि ठुलो धक्का हो। अन्तरिम सरकारका पूर्व सल्लाहकार तथा हाल एनसीपीको निर्वाचन समितिका अध्यक्ष २७ वर्षीय असिफ महमुद स्विकार्छन्, ‘हामीले धेरै राम्रो गर्ने आशा गरेका थियौँ।’

तर उनी तर्क गर्छन् कि परिस्थिति उनीहरूको प्रतिकूल थियो: ‘विगत ५० वर्षमा केवल दुई पार्टीले बंगलादेशको नेतृत्व गरेका छन्... हामी आफूलाई प्रमाणित गर्ने प्रयास गरिरहेका छौँ।’

त्यसैले एनसीपीले एउटा निर्णय गर्‍यो। डिसेम्बरमा उनीहरूले जमात-ए-इस्लामीसँग बहुदलीय गठबन्धनको घोषणा गरे।

जमात जस्तै, एनसीपीले पनि भ्रष्टाचार निर्मूल पार्ने वाचा गरेको छ। यसको घोषणापत्रमा युवा मतदाताहरूलाई लक्षित गर्दै अन्य वाचाहरू पनि छन्: विद्रोहमा मारिएकाका परिवारलाई न्याय, मतदानको उमेर १६ वर्षमा झार्ने, र कर तथा आर्थिक सुधारमार्फत रोजगारी सिर्जना गर्ने।

महमुद तर्क गर्छन् कि एनसीपीलाई जमातको तल्लो तहको संगठनको सहयोग आवश्यक थियो, भलै उनीहरू केही मुद्दामा असहमत किन नहोउन्। ‘हामीले सधैँ भनेका छौँ कि हामी इस्लामी पार्टी होइनौँ,’ उनले भने, ‘यो वैचारिक गठबन्धन होइन।’

तर जमातले एनसीपीलाई उठाउन दिएका ३० उम्मेदवारमध्ये २ जना मात्र महिला छन्। उता जमातले २०० भन्दा बढी उम्मेदवार उठाएको छ, ती सबै पुरुष हुन्।

यो यस्तो सम्झौता हो जसलाई एनसीपीका तस्निम जारा जस्ता वरिष्ठ महिला सदस्यहरूले ‘नैतिक रेड लाइन’ भन्दै पार्टीबाट राजीनामा दिएका छन्।

आन्दोलनको नेतृत्व गर्न सघाएकी २५ वर्षीया विद्यार्थी सीमा अख्तर भन्छिन्, ‘उनीहरूले हामीलाई पाखा लगाउन चाहे।’

विद्रोहमा महिलाहरूले अग्रणी भूमिका खेले पनि, मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारमा अझै पनि पुरुषहरूको वर्चस्व रहेको सीमाको तर्क छ।

c6a30d80-01e1-11f1-88cc-958b71e0ce18.jpg

‘महिलाहरू खोइ त?’

विद्रोह पछि, सीमा र अन्य महिला कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा निशाना बनाइयो।

‘केही मिम भिडियोहरू निकै हिंसात्मक र निराशाजनक थिए,’ उनी सम्झिन्छिन्, ‘हाम्रो चरित्रहत्या गरियो, ट्रोल बनाइयो।’

उनीहरूको बौद्धिकतालाई होच्याउने, विवाहको सम्भावना सकियो भन्ने दाबी गर्ने भिडियोहरू भाइरल भए, र कतिपयले त सीमालाई उनको छालाको रङलाई लिएर समेत आक्रमण गरे।

दुवै पार्टीले महिलालाई पाखा लगाएको कुरा अस्वीकार गर्छन्, र उम्मेदवारमा महिलाको सङ्ख्या कम हुनुलाई बंगलादेशको ‘सामाजिक संरचना’ को परिणाम बताउँछन्। जमातका शफिकुर रहमानले यो अवस्था परिवर्तन हुने आशा व्यक्त गरे।

सीमा यसलाई ‘पितृसत्तात्मक बहाना’ भन्दै खारेज गर्छिन्।

उनी बीएनपीतिर ढल्किँदै छिन्, जसले २५० भन्दा बढी उम्मेदवारमध्ये १० जना महिला उठाएको छ। उनी भन्छिन्, ‘खराबमध्ये अलि राम्रो ।’

  • के वंशवादी राजनीति कायमै रहनेछ?

एनसीपीको कमजोर समर्थन र अवामी लिगमाथिको प्रतिबन्धले बीएनपीलाई फाइदा पुगेको छ, जसले आफूलाई उदार लोकतान्त्रिक शक्तिका रूपमा पुनः प्रस्तुत गरेको छ।

अवामी शासनकालमा हजारौँ समर्थक र वरिष्ठ सदस्यहरू जेल परेको देखेको बीएनपी अहिले प्रतिस्पर्धामा रहेको सबैभन्दा ठुलो दल बनेको छ र यसले विद्यार्थी पार्टीलाई थप दबाबमा पारिरहेको छ।

अवामी लिग (जसकी नेता हसिना देशका संस्थापक मानिने शेख मुजिबुर रहमानकी छोरी हुन्) जस्तै, बीएनपी पनि राजनीतिक वंशवादसँग जोडिएको छ।

यसका नयाँ नेता तारिक रहमान स्वर्गीय खालिदा जियाका छोरा हुन्, जो बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री थिइन्। जिया आफैँ पनि पूर्व राष्ट्रपति रहेका आफ्ना पतिको सैनिक कूमा हत्या भएपछि सत्तामा आएकी थिइन्।

56bf63e0-01e8-11f1-b5e2-dd58fc65f0f6.jpg

बीएनपीका पूर्ववाणिज्य मन्त्री तथा हालका उम्मेदवार अमिर खसरु महमुद चौधरीले बीबीसीलाई भने, ‘तपाईं वंशबाट आउनुभएको हो कि होइन भन्ने कुरा असान्दर्भिक छ।’

विडम्बनाको कुरा के छ भने, यो वंशवादी चक्र विद्यार्थी नेतृत्वको विद्रोहकै कारण सम्भव भएको हो, जसपछि रहमान १७ वर्षको निर्वासनपछि स्वदेश फर्कन सके। हसिनाको बहिर्गमनले उनलाई र उनकी आमालाई भ्रष्टाचारको आरोपबाट सफाइ पाउने बाटो खोलिदियो, जसलाई उनीहरूले राजनीतिक रूपमा प्रेरित बताउँदै आएका थिए।

उनले भोट जित्न धार्मिक भावना प्रयोग गरेको भन्दै जमातको आलोचना गरेका छन् र आर्थिक तथा लोकतान्त्रिक सुधारको वाचा गरेका छन्। साथै उनले ‘इन्द्रेणी राष्ट्र’ को परिकल्पना गरेका छन्, जहाँ नयाँ राष्ट्रिय मेलमिलाप आयोगले देशलाई विभाजनबाट अघि बढ्न मद्दत गर्नेछ।

हसिनाले बंगलादेशमा १५ वर्ष शासन गरिन्। उनले आर्थिक प्रगति त गरिन्, तर राजनीतिक रूपमा प्रेरित गिरफ्तारी, बेपत्ता र गैरन्यायिक हत्याहरूमार्फत विपक्षीलाई दबाउने प्रयास गरिन्। बंगलादेशको युद्ध अपराध न्यायाधिकरणले सन् २०२४ को दमनका लागि गत वर्ष उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

f3634b40-01e7-11f1-9199-abe6787bfb38.jpg

निर्वासनबाटै उनले आफ्नो पार्टीमाथिको प्रतिबन्धको निन्दा गरेकी छिन्। अन्य धेरै वरिष्ठ अवामी नेताहरू पनि उनीसँगै भारतमा शरण लिइरहेका छन् भने केही स्वदेशमै गिरफ्तार भएका छन्।

बीबीसीले भूमिगत रहेका पार्टीका एक जिल्ला नेतासँग कुरा गर्दा उनले भने, ‘अवामी लिगलाई बाहिर राखेर स्वतन्त्र र निष्पक्ष चुनाव सम्भव छैन।’

यदि शेख हसिनाले आदेश दिएमा पार्टी र यसका समर्थकहरूले चुनावको ‘प्रतिरोध’ गर्ने उनले चेतावनी दिए। ‘यदि उहाँले जनता मतदान केन्द्रमा जानु हुँदैन भन्नुभयो भने हामी जाने छैनौँ। यदि उहाँले चुनावमा अवरोध गर्नुपर्छ भन्नुभयो भने हामी अवरोध गर्नेछौँ।’

उनले सत्तामा रहँदा राजनीतिक प्रेरित गिरफ्तारी र गैरन्यायिक हत्या भएको भन्ने स्वतन्त्र मानव अधिकार संस्थाहरूको आरोपलाई झूटो र मनगढन्ते बताए।

अर्को साता हुने मतदानपछि विद्यार्थीहरूले थाहा पाउनेछन् कि उनीहरूको क्रान्ति र रक्तपात सार्थक थियो वा थिएन।

142418f0-01e3-11f1-88cc-958b71e0ce18.jpg

ढाकाको जात्राबारी फ्लाइओभर नजिकै, जहाँ उनले आफ्नो साथी गुमाएका थिए, हुसेन अझै पनि सबै प्रहरी अधिकारीहरू विरुद्धको मुद्दाको टुङ्गो लाग्ने प्रतीक्षामा छन्।

भुइँयाका आफ्नै बुबा पनि प्रहरी अधिकृत हुन्। जब उनले आफ्नो छोराको शव पहिचान गरे, उनले बलका एक वरिष्ठ अधिकृतलाई फोन गरेर सोधे, ‘सर, एउटा केटोलाई मार्न कति गोली चाहिन्छ?’

हुसेन भन्छन् कि साथीलाई गोली लागेको त्यो दिनले उनलाई अझै तर्साउँछ।

उनले आठ दिनपछि देशमा इन्टरनेट सेवा सुचारु हुँदा त्यो भिडियो हेरेका थिए। ‘मेरो चिच्याएको आवाज सुन्न सकिन्छ... म धरधरी रोएँ।’

एक वर्षपछि, ५ अगस्टमा उनले आफ्ना अन्य ‘विद्रोहका कमरेडहरू’ सँग मिलेर हसिनालाई हटाएको पहिलो वार्षिकोत्सव मनाए।

तर हुसेन स्विकार्छन् कि उनीहरूको ‘नयाँ बंगलादेश’ अझै आएको छैन। निर्वाचित सरकारले देशको सुधार नगरेसम्म त्यो हुन नसक्ने उनको विश्वास छ।

उनी भन्छन्, ‘तित्रीको बोटबाट आँपको आस गर्न सकिँदैन।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आजादेह मोशिरी
आजादेह मोशिरी
लेखकबाट थप