कविता : अग्नि परीक्षा
अहिले पनि नारी जिवनले लिन्छ अग्नि परीक्षा,
समय, काल र खण्ड- खण्ड हुँदै,
विपत्तिमा भित्ताहरू चर्किन थाल्छन,
र आगोको लप्कोले झैं निल्न थालिन्छ्न
एक एक सपनाहरू,
जल्न थाल्छन्,
भविष्यका योजनाहरू,
मेटिन थाल्नेछन कलिला
हातले निर्माण गरेका अक्षरका
सुनौला भविष्य सम्झेर कोरेका
रंगिन योजनाका चित्रहरू ।
कसले किन गरायो यो अवस्था,
सायद भाविको लेखनलाई
दोष दिन सजिलो हुन्छ,
समय चक्रमा आफन्त बनेर आएका
ती बलबान भेषहरूलाई भन्दा,
उनिहरूको शक्तिशाली
पर्खाल र बगैंचाको फूल पनि चुँडेर
आफ्नो शिरमा सिउरी सुन्दर बन्नुथिएन मलाई,
उनीहरूको दौलतबाट भविष्य कोर्नु थिएन
मलाई,
उनिहरूको दौलतबाट सित्तैमा
गरीबिको आगो निभाएर तृप्त पार्नुथिएन मलाई,
तैपनि चौबाटोमा बसेर मेरो सबै हालखबर
बुझ्ने मानिस,
जन्मदेखि पछि जोडिएका
आफ्नो वरपर घुमेको मानिसलाई
मेरै हो सोच्नु मेरो गल्ती होइन, विश्वास थियो,
मलाई दैनिक हेर्ने,
त्यो आफ्नो नबनेको आफन्त,
त्यो बाध्यताले जोडिएको नाता,
जसको नजरमा उस्को सन्तान र मबिच
आकाश जमिनको फरक थियो,
कहाँ शिरफूलमा सजाएको उसको परी
राजकुमार,
कहाँ म अभावको चपेटामा चेपिएको जन्तु,
सिर्फ उस्को अरौटे,
त्यो धन र स्वार्थ कुण्डमा
नुहाएको मालिकको नजरमा
बल्ल तल्ल सास फेर्न आँटेको जीव !
यसको झुठो मुस्कानको तलाउमा
एक-एक गरी मेरा भविष्यका डुंगाहरू
डुबाउने रहर छ,
त्यो मेरो सोचभन्दा टाढाको
विषय थियो ।
अहंकार बीस पिएर बसेको कुटिल प्राणीलाई
मेरो शब्द बेकारको,
आँसु अभिनयको,
थकान बहानाको,
बिमारीसमेत पनि बेइमानी झैँ
लाग्दथ्यो,
आवरणमा मात्र नजिक बन्ने यो भीमकाय
चौबाटोमा आफ्नो जस्तो बनेर
उभिएको जीव यति निर्मम
बन्छ, त्यो मेरो
कोमल हृदयले कहिले सोचेन,
मलाई लागिरह्यो ऊ र उनीहरू मेरा आफ्ना नै
हुन् !
जुन विश्वासको आगो ताप्न खोज्नुले
नै आज म जीवनको यो कठिन बिन्दुमा
दनदनी बलिरहेको अग्नि कुन्डमा
जिउँदै दन्किरहेछु,
वरपरबाट पानी हालेर शितल पार्छन्
कि भनेर बोलाउन पनि
मेरो भित्ता साँघुरो भइरहेछ,
सीताको धर्ती प्रस्थानजस्तो,
द्रौपदीको भारी सभामा
वस्त्रहरणजस्तो,
त्यहाँ पनि दुर्जनको कर्तुतलाई
अन्देखा एवम् समर्थन गर्ने हृदयमा दयाको केशिका
नभएका आफ्ना या पराईघरका विद्वानहरू नै
थिए,
जसले सत्ता र शक्तिको मोहमा परी सत्यपथका
लागि आवाज उठाउन सकेनन् ।
मेरो चिच्चाहट, बिलौना, आत्मकुण्ठाका
आवाजहरूमा यिनीहरू यति मौन छन्,
मानौ यहाँ दुष्टको मनपर्ने धुन बजिरहेछ,
आगोका लप्काहरू,
उर्लिरहेछन्,
अपमानको भुमरी,
अभावको हुरी,
अन्यायको कठघरा,
बलिदानको पराकाष्ठा,
त्यागको पाठ घोकाइ,
स्व-अस्तित्वको उपहासपछि पनि
अतृप्त भएका छन्, मानवता नभएका
मानवहरू जो न्युनतम प्राणीको आत्माको
जति पनि प्रदर्शन गर्दैनन्,
ममताको रंग जुन
आफ्नो जीवनदाता मातृको काखमा
मिलेको थियो,
शून्यतामा अलौकिक सुख ।
समयसँगै अग्नि परीक्षाका गाताहरू
फेरिएका छन्,
श्लोगानहरू फेरिएका छन्,
युगको चेतना जागृत भएको भान पार्न,
अब त शिक्षितकै सभामा
पारित हुन्छ,
नयाँ योजना र गरिन्छ अग्निपरीक्षा समाप्त
भएको घोषणा,
तर अनौठो छ स्वरुप,
महिला हिंसा र लैङ्गिक
विभेदको अन्त्य नै विकासको मूल आधार भएको भाषण गरेर
आउँछ, महासभा र सभामा एउटा पुरुष प्राणी,
आएर थचक्क बस्छ सोफामा घरको,
भान्साको भित्ताबाट आउँछ आवाज,
नववधुलाई ढोगाइ मिलेन र दाइजो पुगेन
भनेर कराउँदै हुन्छिन् उसकी अर्धाङ्गिनी
सहितका अन्य परिवार,
पानी लिने बहानामा हेर्छ भान्सातर्फ,
चुपचाप फर्किन्छ सोफामा,
अर्को हुन्छ प्राइभेट स्कुलको छोटेराजा
जसले वर्षौंको झरीबादल खपेको
महिला कर्मचारीलाई बिनाकारण हटाएको
खुशीको खबर अर्धाङ्गिनीलाई दिँदैछ,
र भन्छ, आज स्कुलमा विदेशीहरूको
कार्यक्रम थियो,
'महिला साक्षरता र हिंसारहित समाजको
पुर्स्थापना'को अभियान,
भोलि स्काउटबाट 'शिक्षा र रोजगारमा महिला
सहभागिता' विषयको गोष्ठीमा पनि जानुछ ।
र आजैको दिन तिमीले मन नपराएको
एउटा महिला स्टाफलाई हटाएँ आज प्रिया ।
बस्छ थचक्क र थिच्न थाल्छ रिमोर्ट,
अनि पुनः नजर लगाउँछ टीभीतर्फ,
दिनभरि आफूले गरेको
एजेन्डाका भाषण जहाँ
युगको परिवर्तनलाई साक्षी राखेर,
महिला अधिकार सुनिश्चित गरेर,
उसले अग्नि परीक्षा समाप्त गरेको
घोषणापत्रमा हस्ताक्षर गरी
पाँचतारे होटलमा राष्ट्रिय जनसभामा
वक्तव्य पारित गरेर आएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण