सभामुखदेखि उपसभामुखसम्मको विरासत बोकेको झापा-२ राष्ट्रिय चासोको केन्द्र
सारांश
- आगामी निर्वाचनले झापा क्षेत्र नं २ राष्ट्रिय राजनीतिको केन्द्र बनेको छ, जहाँ १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
- एमालेका देवराज घिमिरे र रास्वपाकी इन्दिरा रानामगर लगायत प्रमुख दलका नेताहरूको प्रतिस्पर्धा रोचक हुने देखिएको छ।
- झापा-२ मा १ लाख ४७ हजार ५२२ मतदाता छन्, जसमध्ये १३ हजार ४३१ नयाँ मतदाता रहेका छन्।
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा क्षेत्र नं २ लाई राष्ट्रिय राजनीतिको चासोको केन्द्र बनेको छ । यस निर्वाचन क्षेत्रमा यसपटक १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्लो निर्वाचनमा एउटै निर्वाचन क्षेत्रबाट सभामुख र उपसभामुख बनेपछि राष्ट्रिय राजनीतिमा यो पटक पनि यो क्षेत्र चर्चा विषय बनेको हो ।
यसपटक पनि प्रमुख दलका नेता तथा पूर्वपदाधिकारी उम्मेदवार रहेकाले निर्वाचनलाई महत्वपूर्ण मानिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे २०७९ को निर्वाचनमा २८ हजार ७१६ मत ल्याएर विजयी भएका थिए । एमालेको सङ्गठनात्मक शक्ति बलियो रहेको यो क्षेत्रमा उनी प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्री एवं पूर्वउपसभामुख इन्दिरा रानामगर प्रत्यक्ष निर्वाचनमार्फत संसद् प्रवेश गर्ने लक्ष्यसहित चुनावी मैदानमा रहेकी छन् । अघिल्लो निर्वाचनमा उनी रास्वपाको समानुपातिकबाट संसद् प्रवेश गर्दै उपसभामुख बनेकी थिइन् ।
सामाजिक अभियानबाट राजनीतिमा प्रवेश गरेकी रानामगरको उम्मेदवारीलाई वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्वका रूपमा हेरिएको छ । अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा दोस्रो स्थान हासिल गरेका भद्रप्रसाद नेपाल (स्वागत) यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् । उनले २०७९ मा सम्पन्न निर्वाचनमा २६ हजार ४५५ मत प्राप्त गरेका थिए ।
नेपाली कांग्रेसकी नेत्री एवं पूर्वमन्त्री सरिता प्रसाईं र नेपाली कम्युनिष्ट पार्टीकी नेत्री एवं पूर्वमन्त्री धर्मशीला चापागाईं पनि प्रतिस्पर्धामा रहेका छन् । अघिल्लो निर्वाचनमा रहेको दलगत गठबन्धन यसपटक नरहेकाले मत विभाजनको सम्भावना देखिएको छ ।
बिर्तामोड र अर्जुनधारा नगरपालिका, कनकाइ नगरपालिकाका दुई वडा तथा बुद्धशान्ति गाउँपालिकाका चार वडा समेटिएको झापा-२ मा कूल एक लाख ४७ हजार ५२२ मतदाता छन् । तीमध्ये १३ हजार ४३१ जना नयाँ मतदाता हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार अकलबहादुर तामाङ, अमृता लावती, अर्जुनकुमार पाण्डे, इन्दिरा रानामगर, केशवकुमार भण्डारी, चन्द्रकुमारी गारु, चुडाकर्ण बेघा, तिलबहादुर राई, देवराज घिमिरे, धर्माशिला चापागाईं, पुण्यप्रसाद आचार्य, भद्रप्रसाद नेपाल, मानबहादुर पुलामीमगर, डा.युवराज सङ्ग्रौला, रमेशकुमार कार्की, रमेशकुमार राजवंशी, श्रीप्रसाद सिटौला र सरिता प्रसाईंसहित १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
-
लुम्बिनी प्रदेश सभा बैठक आधा घण्टाका लागि स्थगित
-
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण