बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

सिङलिङलाई हराउँदै झापा–११ सेमिफाइनलमा

सोमबार, २६ माघ २०८२, १८ : २४
सोमबार, २६ माघ २०८२

झापा । आयोजक झापा–११ बिर्तामोडमा जारी सातौँ झापा गोल्डकप फुटबल प्रतियोगितामा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

साेमबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा झापा–११ ले सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो । टाइब्रेकरमा झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र बिवेक मगरले गोल गरे ।

सिङलिङका तर्फबाट सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङले गोल गरे । सिङलिङका सुजन सुब्बाको प्रहार झापाका गोलकिपर विवेक मगरले बचाउ गरे । यस्तै दीपेश क्षेत्रीको प्रहार पोष्टबाट बाहिरिएको थियो ।

त्यसअघि खेल अवधिभर झापा–११ ले सिङलिङमाथि निरन्तर दबाब बनाएको थियो । झापा–११ का प्रहार गोलमा परिणत हुन सकेनन् । खेलको २८औँ मिनेटदेखि झापाले आक्रामक खेल प्रस्तुत गर्न थालेको थियो । विदेशी खेलाडी ओलावाले अफिजको शक्तिशाली प्रहार सिङलिङका गोलकिपर विल्सन शेर्पाले रोक्दै टोलीलाई सङ्कटबाट जोगाएका थिए ।

सिङलिङले खेलको ५९औँ मिनेटमा कप्तान उत्तम राईमार्फत उत्कृष्ट अवसर सिर्जना गरे पनि झापा–११ का गोलकिपरले त्यसलाई रोक्न सफल भए । खेलको ‘प्लेयर अफ दी म्याच’ झापा–११ का गोलकिपर बिवेक मगर घोषित भए । उनले रु २५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत मङ्गलबार दोस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र लालिगुँरास एशोसिएसन पोखराबीच हुने छ । झापा गोल्डकपको विजेताले रु १५ लाख तथा उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ । साथै विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही रु ३५ हजार पुरस्कार प्रदान गरिने झापा गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप