लागुऔषधको जालोमा जेलिँदै वीरेन्द्रनगर !
सारांश
- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएको छ, जसमा प्रहरीले धेरै व्यक्तिहरूलाई पक्राउ गरेको छ।
- प्रहरीले चालक, कारोबारी र युवतीहरूलाई समेत लागुऔषधसहित पक्राउ गरेको छ, जसमा युवा पुस्ताको संलग्नता बढेको पाइएको छ।
- प्रहरीले लागुऔषध नियन्त्रणका लागि विशेष अप्रेसन चलाएको छ र परीक्षण किटमार्फत सेवनकर्ता पहिचान गरी कानुनी कारबाही अघि बढाएको छ।
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई लागुऔषधको जालोले भित्रभित्रै जेल्न थालेको छ । वीरेन्द्रनगरभित्र लागुऔषधको कारोबारी तथा प्रयोगकर्ता बढ्न थालेको हालै यससँग सम्बन्धित व्यक्ति पक्राउ परेका घटनाले पनि देखाउँछन् ।
सोमबारमात्रै प्रहरीले एकै पटक ६ जना लागुऔषध सेवनकर्ता र दुई जना कारोबारीलाई पक्राउ ग¥यो । पक्राउ परेका लागु औषध प्रयोगकर्ता सबै सवारी साधनका चालक हुन् । ‘ड्रग्स टेस्ट किट मार्फत गरेको परीक्षणका क्रममा ती सवारी चालकले लागुऔषध सेवन गरेको पाइयो,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले रातोपाटीसँग भने, ‘यो एकदमै भयावह स्थिति हो ।’
पक्राउ परेका चालकहरूमा पर्साको वीरगंज महानगरपालिका—८ का २८ वर्षीय अजय थापा, वीरेन्द्रनगर नगरपालिका—११, का २५ वर्षीय कासीराम डाँगी, दैलेख चामुण्डा विन्द्रासैनी नगरपालिका–७ का २४ वर्षीय हिक्मत शाही, २५ वर्षीय जीवन शाही छन् ।
यस्तै, वीरेन्द्रनगर नगरपालिका—११ का २५ वर्षीय प्रकाश विक र दैलेख गुराँस गाउँपालिका—४ का २५ वर्षकै डिलबहादुर विक पनि पक्राउ परेका छन् ।
लागुऔषध कारोबारीहरू ८ ग्राम १८० मिलिग्राम लागुऔषधसहित सोमबार बिहान १० बजेतिर वीरेन्द्रनगर नगरपालिका–११ बाट पक्राउ परेका थिए । पक्राउ पर्नेमा वीरेन्द्रनगर—१ का २० वर्षीय सौरभ सुनार र दैलेख दूल्लू नगरपालिका—१३ का नरेन्द्र तिरुवा छन् ।
यो एउटा उदाहरणमात्रै हो । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट प्रायः हरेक दिन लागुऔषधका कारोबारी र सेवनकर्ताहरूलाई नियन्त्रणमा लिने गरेको छ । पछिल्लो १५ दिनमा (माघ ११—२६) मात्रै प्रहरीले १८ जना लागुऔषध कारोबारी र सेवनकर्ताहरूलाई पक्राउ ग¥यो । २२ गते यतामात्रै १४ जना पक्राउ परेका छन् ।
प्रहरीको तथ्याङ्क अनुसार, पक्राउ परेकाहरूबाट कुल ३५ ग्राम ६६९ मिलिग्राम लागुऔषध बरामद भएको छ । पछिल्लो चार दिनमा मात्रै १५ ग्राम १६० मिलिग्राम लागुऔषध र ३१ वटा नाइट्राजेपाम ३१ ट्याब्लेट बरामद गरेको डीएसपी बुढ्थापा बताउँछन् ।
माघ २२ गते १ युवतीसहित चार जना १ ग्राम ५६० मिलिग्राम लागुऔषध र ३१ ट्याब्लेट नाइट्राजेपामसहित पक्राउ परेका थिए ।
प्रहरीका अनुसार, विशेषगरी युवा पुस्ता अर्थात् १८ वर्षदेखि ३० वर्ष उमेर समूहका युवायुवती अत्यधिक मात्रामा लागुऔषध कारोबारमा संलग्न हुने गरेका छन् ।
प्रदेश राजधानीका सामान्यतया सबै क्षेत्रमा लागुऔषध कारोबार हुने गरेको देखिए पनि विशेषगरी बसपार्क क्षेत्र, एरिचोक, भैरवस्थान, तातापानी लगायतका क्षेत्रमा बढी हुने गरेको छ । केही समयअघि एरिचोकको सानो पान पसलमै लागुऔषध कारोबार भइरहेको अवस्थामा प्रहरीले छापा हानेको थियो ।
यस्तै, वीरेन्द्रनगरका कतिपय मेडिकलबाट प्रतिबन्धित औषधिसमेत प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (एसपी) सुधीरराज शाहीले जिल्लाभरका विभिन्न ठाउँबाट लागुऔषधबारे गुनासो आउने गरे पनि अधिकांश वीरेन्द्रनगरभित्रबाट कारोबारी र सेवनकर्ताहरू भेटिने गरेको बताए । ‘लागुऔषधबारे व्यापक गुनासो पनि आइरहेका छन्, हामीले सकेसम्म त्यसलाई मसिनो गरी नियन्त्रणका प्रयास पनि गरिरहेका छौँ,’ शाहीले थपे ।
यद्यपि वीरेन्द्रनगरमा लागुऔषधको आयातबारे भने गम्भीर रूपमा अनुसन्धानको विषय बनाइनुपर्ने र सोही अनुसार ‘एक्सन’ चालिनुपर्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् ।
एक अनुसन्धान अधिकृतका अनुसार, हालसम्मको अनुसन्धानले भारतसँग सीमा जोडिएको नेपालगञ्ज हुँदै वीरेन्द्रनगरमा लागुऔषध भित्रिने अनुमान गरिएको छ । यद्यपि स–सानो मात्रामा विक्री वितरण हुने भएकाले त्यसको मुख्य मुहान नियन्त्रणमा कठिनाइ भइरहेको उनी बताउँछन् ।
‘शंका गर्ने क्षेत्रहरूम बबई, छिन्चु लगायतका नाकामा कडाइ गरिएकै हुन्छ,’ ती अनुसन्धान अधिकृतले भने, ‘तर पनि स–सानो मात्रामा लागुऔषधको कारोबारो भइरहेकै हुन्छ ।’
उनका अनुसार, सानो परिमाण भएकाले लुकाई–छिपाइ गरेर भित्र्याउने र बजारमा लगेर विक्री गर्ने गरिएको छ । सरोकारवालाहरू राजधानी वीरेन्द्रनगरमा लागुऔषध प्रमुख समस्या बनेको भन्दै सार्वजनिक मञ्चहरूमा चिन्ता व्यक्त गरिरहेका छन् ।
‘विशेषगरी पहाडबाट अध्ययन वा कामको खोजीमा वीरेन्द्रनगर झरेकाहरू चाँडै पैसा कमाउने लोभमा लागुऔषधको जालोभित्र फस्ने गरेका पाइन्छन्,’ अर्का एक प्रहरी अधिकृतले भने, ‘घरबाट आमाबुबाले उनीहरूले चाहे अनुसार पैसा दिन नसक्ने, अनि बजारको अवस्था अनुसार चल्नका लागि उनीहरू लागुऔषधमा आफ्नो जीवन बर्बाद पारिरहेका हुन्छन् ।’
पछिल्लो समय कारोबारीहरूले गाउँका युवतीहरूलाई समेत ललाई–फकाई लागुऔषधको जालोमा फकाउने गरेको पाइएको उनी बताउँछन् । मन्दिरको छेउछाउ, पार्कहरूमा लागुऔषध सेवन गरेर अस्वाभाविक हर्कतहरू गरिरहेको सूचना प्रहरीकहाँ गइरहन्छन् ।
- प्रहरीले चलायो ‘विशेष अप्रेसन’
वीरेन्द्रनगरमा लागुऔषध दुर्व्यसनी प्रमुख चुनौती बनेपछि प्रहरीसमेत यसमा चिन्तित बनेको छ । आम गुनासोलाई मध्यनजर गरेर अहिले प्रहरीले लागुऔषधबारे ‘विशेष अप्रेसन’ नै चलाएको छ ।
लागुऔषध दुर्व्यसनीलाई नियन्त्रण गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘द्रुत लागुऔषध परीक्षण किट’ सञ्चालनमा ल्याएको छ । उक्त विधिमार्फत सेवनकर्ता पहिचान गर्न सहज हुने एसपी सुधीरराज शाही बताउँछन् ।
‘प्रमुख समस्यामध्ये लागुऔषध दुर्व्यसनी एक हो, यहाँका किशोर–किशोरीहरू यसमा फसे,’ शाहीले भने, ‘यसले व्यक्तिगत, सामाजिकदेखि पारिवारिक जीवनसमेत प्रभावित भएको छ । यो विभिन्न अपराधको कारणसमेत हुने गरेको छ भने यसले समाजको शान्ति सुरक्षामै चुनौतीसमेत थप्यो ।’
वीरेन्द्रनगरमा दिनानुदिन लागुऔषध सेवनकर्ताहरू बढिरहेको उनी बताउँछन् । यसलाई रोक्नका लागि समुदाय, प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सबैको समन्वयमा ‘लागुऔषध परीक्षण किटमार्फत’ लागुऔषध सेवनकर्ताको पहिचान गरी कानुनी कारबाही गरिने एसपी शाहीले बताए ।
उनका अनुसार, यो विधिले व्यक्तिले लागुऔषध सेवन गरेको छ वा छैन भन्ने छिटो, सरल र वैज्ञानिक तरिकाले पत्ता लगाउँछ । चार वटा विधिबाट लागुऔषधको नियन्त्रण र दुर्व्यसनी रोक्न प्रहरी अग्रसर भएको हो ।
अहिले वीरेन्द्रनगरभित्रिने सुब्बाकुना, बाङ्गेसिमल, पिपिरा, छिन्चु, बाबियाचौर तथा बसपार्कलाई परीक्षण क्षेत्र तोकेर परीक्षणका काम भइरहेका छन् ।
- के छन् कानुनी प्रावधान ?
नेपालमा लागुऔषध नियन्त्रण ऐन, २०३३ बनेको छ । सोही अनुसार, प्रहरीले लागुऔषध सम्बन्धी गतिविधिलाई नियमन गर्ने गरेको छ ।
लागुऔषध अन्तर्गत गाँजा, औषधोपयोगी गाँजा, अफिम, कोकाको झारपात जस्ता पर्दछन् । यस अन्तर्गत गाँजाको खेती, उत्पादन तथा खरिदविक्री गर्न पाइँदैन ।
ऐनको परिच्छेद—३ मा गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजारसम्म जरिबाना तोकेको छ भने अफिम, कोका वा सोबाट बनेका लागुऔषध सेवन गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना तोकिएको छ ।
यस्तै लागुऔषधको विक्री, पैठारी गर्नेहरूलाई परिणाम अनुसार तीन महिनादेखि १० वर्षसम्म कैद सजायदेखि २५ लाखसम्म जरिबाना तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
-
घट्यो हेटौँडा उपमहानगरपालिकाको बजेट, आगामी वर्षका लागि २ अर्ब ८५ करोडको बजेट पेस
-
रास्वपा महाधिवेशनः एक जनाले एक उम्मेद्वारको मात्र प्रस्तावक बन्न पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण