शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
ब्याटल ग्राउन्ड डोल्पा

डोल्पामा भाइको वर्चस्व तोड्न दाइ मैदानमा !

दाजुभाइको भिडन्तबाट फाइदा लिने ध्याउन्नमा एमाले
शुक्रबार, ०१ फागुन २०८२, १८ : ००
शुक्रबार, ०१ फागुन २०८२

सारांश

  • कर्णबहादुर र धनबहादुर बुढा दाजुभाइ आगामी निर्वाचनमा फरक-फरक दलबाट उम्मेदवार बन्दै प्रतिस्पर्धा गर्दैछन्।
  • कर्णबहादुर कांग्रेसबाट र धनबहादुर नेकपाबाट उम्मेदवार छन्, भने एमालेले लंकबहादुर रोकायालाई उम्मेदवार बनाएको छ।
  • कर्णबहादुरले भाइको एकाधिकार तोड्ने दाबी गरेका छन्, भने एमालेले दाजुभाइको प्रतिस्पर्धाबाट फाइदा लिने रणनीति बनाएको छ।

सुर्खेत । कर्णबहादुर बुढा र धनबहादुर बुढा दाजुभाइ हुन् । प्रतिनिधि सभाको आसन्न निर्वाचनमा यी दाजुभाइ फरक–फरक दलबाट उम्मेदवार बनेर आपसमै प्रतिस्पर्धा गर्दैछन् ।

कर्णबहादुरलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ भने धनबहादुर नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार छन् । नेकपा एमालेले भने लंकबहादुर रोकायालाई उम्मेदवार बनाएर कर्णबहादुर र धनबहादुरबिचको भिडन्तबाट फाइदा उठाउने रणनीति बनाएको छ ।

कर्णबहादुरले राप्रपाबाट राजनीतिक जीवन सुरु गरेका थिए । ०५१ देखि ०६४ सम्मका ३ वटै चुनावमा उम्मेदवारी दिएका उनी हरेक चुनावमा दोस्रो नम्बरमा मत पाउँथे । ०५१ सालमा राप्रपाबाट लडेका उनलाई स्वतन्त्र उम्मेदवार मोतिप्रसाद पहाडी (कांग्रेसका बागी)ले हराए । ०५६ सालमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनी एमालेका नरबहादुर बुढाथोकीसँग हारे । ०६४ मा फेरि राप्रपाबाट लडेका उनलाई माओवादीका रामबहादुर बोहोराले पराजित गरे ।

माओवादी युद्धबाट प्रभावित डोल्पामा माओवादीका उम्मेदवार बोहोराले ९ हजार ७२३ मत ल्याउँदा कर्णबहादुरले ३ हजार ४२७ मत पाएका थिए ।

कर्णबहादुर लगातार तीन चुनावमा असफल भएपछि उनका भाइ धनबहादुर बुढा जबरजस्त डोल्पाको राजनीतिमा उदाए । डोल्पाका राजनीतिकर्मीहरूका अनुसार बुढा परिवार विगतदेखि नै व्यापारमा संलग्न छ । कर्णबहादुर प्रायः काठमाडौँमै बस्थे भने धनबहादुर जिल्लामै बसेर व्यापार गर्नुका साथै निर्माण व्यवसायमा पनि संलग्न छन् ।

कर्णबहादुर र धनबहादुर मात्रै होइनन्, अहिले कर्णालीका भौतिकमन्त्री रहेका शेरबहादुर बुढा पनि यही परिवारभित्रका हुन् । अन्य दलबाट पनि डोल्पाको राजनीतिमा बुढा समुदाय हावी छ । ०४८ सालको निर्वाचनमा कांग्रेसबाट क्याबु बुढा निर्वाचित भए भने नन्दसिंह बुढा कर्णालीको मन्त्रीसँगै ‘फ्लोर क्रस’बाट चर्चामा आए ।

यद्यपि राजनीतिको केन्द्रमा भने कर्णबहादुर—धनबहादुरकै परिवार छ । सम्पन्न व्यक्ति, त्यसमाथि डोल्पाको राजनीति बुढा परिवारकै वरिपरि । सोही कारण नेकपा एमालेले ०७० को चुनावमा राप्रपामा रहेका धनबहादुरलाई पार्टी प्रवेश गराएर टिकट थमायो । निर्वाचनभन्दा केही समयअघि मात्रै उनी एमाले प्रवेश गरेका थिए । धनबहादुरले ०७० साल यताका सबै चुनाव जितेर डोल्पाको राजनीतिमा वर्चस्व कायम गरे । ०७० को चुनावमा एमालेबाट चुनाव लडेका उनले ६ हजार ९६७ मत ल्याएर निर्वाचित हुँदा माओवादीकी सत्या पहाडीले २ हजार ७७४ मत पाइन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा धनबहादुर नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तारा चुनाव चिह्न लिएर चौथो पटक चुनावी मैदानमा छन् । तर यो पटक उनको बाटो छेक्न उनकै दाइ कर्णबहादुर चुनावी मैदानमा छन् ।

०७४ मा धनबहादुर पुनः वामगठबन्धनका साझा उम्मेदवार बन्दा ११ हजार ७६१ मतसहित निर्वाचित भए, कांग्रेसका अङ्गतबहादुर बुढा पराजित भए । उनी केपी ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा पर्यटनमन्त्री पनि बने ।

उनी एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागे । ०७९ मा एकीकृत समाजवादीबाट चुनाव लडेका उनले माओवादी र कांग्रेसको साथ पाउँदा ११ हजार २९२ मतसहित निर्वाचित भए । एमालेका गणेशबहादुर शाहीले ५ हजार ५०५ मत पाए । धनबहादुरलाई अहिले डोल्पाको राजनीतिका खेलाडी भनेर चिनिन्छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा धनबहादुर नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तारा चुनाव चिह्न लिएर चौथो पटक चुनावी मैदानमा छन् । तर यो पटक उनको बाटो छेक्न उनकै दाइ कर्णबहादुर चुनावी मैदानमा छन् ।

भाइको एकाधिकार तोड्न भन्दै नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् कर्णबहादुर । उनी भर्खरै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका छन् । उनी ०७६ सालमा कांग्रेसमा प्रवेश गरेका थिए । त्यसअघि उनी राप्रपाका केन्द्रीय सदस्य थिए ।

  • भाइको एकाधिकार तोड्छु : कर्णबहादुर

कर्णबहादुरले आसन्न निर्वाचनमार्फत डोल्पाको राजनीतिमा भाइको एकाधिकार तोड्ने दाबी गरे । ‘उसले जिल्लामा राम्रो गरेको भए म चुनावमा आउन पर्थेन,’ चुनावी अभियानकै क्रममा रहेका कर्णबहादुरले रातोपाटीसँग भने, ‘यो पटक म चुनाव जित्छु, भाइको वर्चस्व तोड्छु ।’

धनबहादुरले ठाउँ ओगट्ने काममात्रै गरेको, डोल्पाको समुचित विकास गर्न नसकेको कर्णबहादुरको आरोप छ । ‘म काइके, मुड्केचुला गाउँपालिका र अहिले जगदुल्ला गाउँपालिकामा पुग्दा जनताको प्रतिक्रिया निकै उत्साहजनक छ,’ उनले भने, ‘मप्रति जनताको ठुलो आस्था र विश्वास छ । कसैले पनि नराम्रो भनेका छैनन् ।’

धनबहादुरले पनि आफू चुनाव मैदानमै भएको र सकारात्मक नै प्रतिक्रिया पाइरहेको बताए ।

कर्णबहादुरले आफ्नो चुनावी प्रतिस्पर्धा आफ्नै भाइ धनबहादुरसँग हुने पनि बताए । ‘प्रतिस्पर्धा त हुने नै भयो, पार्टीको प्रणालीमा दाइ—भाइ भन्ने कुरा हुँदैन । म एउटा पार्टीको इमानदार सिपाही हुँ,’ उनले थपे, ‘लोकतन्त्र जोगाउन र पार्टीको हितका लागि मेरो उम्मेदवारी हो । जनताले मलाई एउटा इमानदार र स्वच्छ छविको मान्छेका रूपमा चिन्छन् ।’

तर धनबहादुरलाई चुनाव हराउन कठिन हुने विश्लेषण गर्छन् डोल्पाका बुद्धिजीवी । नेकपाले धनबहादुर बुढालाई नै अघि सार्नुका पछाडि उनले आफ्नो सिट सुरक्षित गर्छन् भनेर नै हो । धनबहादुरले पनि आफू चुनाव मैदानमै भएको र सकारात्मक नै प्रतिक्रिया पाइरहेको बताए । ‘म चुनावी अभियानकै क्रममा छु, सबैले राम्रै प्रतिक्रिया दिनुभएको छ,’ उनले थपे ।

  • दाजुभाइको भिडन्तबाट फाइदा लिने ध्याउन्नमा एमाले

बुढा परिवारभित्रका दाजुभाइमध्ये जसले जिते पनि राजनीति बुढा परिवारभित्रै रहने आकलन डोल्पाका राजनीतिकर्मी र सरोकारवालाले गरेका छन् । यद्यपि आफू एउटा परिवारभित्र रहेको डोल्पाको राजनीतिलाई बाहिर निकाल्ने रणनीतिसहित चुनावी मैदानमा होमिएको बताउँछन् एमालेबाट उम्मेदवार रहेका लंकबहादुर रोकाया ।

३५ वर्षे युवा नेता रोकाया एमाले डोल्पाको अध्यक्ष हुन् । उनी सबैतिर चिनिएका युवा हुन् । सांगठनिकदेखि सबै रूपले डोल्पामा एमाले बलियो रहेको बताउँदै उनले यो पटक एमालेले चुनाव जित्ने दाबी गरे ।

रोकाया ०७४ र ०७९ मा मुड्केचुला गाउँपालिकाको अध्यक्षमा उम्मेदवार थिए । ०७४ मा ५ र ०७९ मा ३७ मतले पराजित भएका उनी यो पटक प्रतिनिधि सभाको उम्मेदवार बनेका हुन् ।

माओवादी—समाजवादीको मत जोड्दा नेकपा बलियो छ ।

रातोपाटीसँगको कुराकानीमा उनले आफ्नो प्रतिस्पर्धी दल नेकपा (धनबहादुर बुढा) भएको बताए । ‘०७९ को स्थानीय निर्वाचन, प्रतिनिधि र प्रदेश सभाको नतिजा र संगठनका हिसाबले पहिलो पार्टी एमाले हो र प्रतिस्पर्धी दल नेकपा हो,’ उनले भने, ‘उहाँहरू (कर्ण—धन) अहिले दुई भाइको प्रतिस्पर्धा पनि छ, त्यो आफ्नो ठाउँमा छ ।’

रोकायाका अनुसार, डोल्पाको तल्लो भेगमा १८ हजार मतदाता छन्, जहाँबाट उनी उम्मेदवार छन् । बुढा परिवारका दाइ—भाइ उम्मेदवार रहेको माथिल्लो भेगमा ६ हजार मतदाता छन् । ‘तल्लो भेगले उम्मेदवार पाएको १५ वर्षपछि हो,’ रोकायाले भने, ‘त्यसैले मप्रति मान्छेले यो पटक सहानुभूति देखाएका छन् ।’

०७९ को प्रतिनिधि सभा चुनावमा समानुपातिकतर्फ सबैभन्दा बढी ६ हजार २९४ मत एमालेले पाएको छ । यस्तै, माओवादीले ४ हजार ७२१, कांग्रेसले ३ हजार ५९१, एकीकृत समाजवादीले १ हजार ८२१ मत पाएका थिए ।

माओवादी—समाजवादीको मत जोड्दा नेकपा बलियो छ । यहाँ ०४८ सालमा कांग्रेसबाट क्याबु बुढाले चुनाव जितेका थिए । त्यसपछि अहिलेसम्म कांग्रेसले चुनाव जित्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप