विमानस्थलको गोल्डेनगेट अगाडि प्रदर्शन : ठुला सवारी गौशाला र तीनकुनेबाटै डाइभर्सन
सारांश
- काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै राजावादीहरूले प्रदर्शन गरे, जसले गर्दा यातायात अवरुद्ध भयो।
- ट्राफिक प्रहरीले गौशाला र तीनकुने चोकबाट ठूला सवारी साधनलाई डाइभर्सन गरेको छ भने साना सवारीलाई भित्री मार्गबाट पठाएको छ।
- प्रदर्शनका कारण गौशाला, पुरानो बानेश्वर, भत्केको पुल लगायतका क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ।
काठमाडौँ । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोल्डेनगेट अगाडिको सडकमा राजावादीहरू भेला भएर प्रदर्शन गरेपछि त्यस क्षेत्रको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ। भिडभाडका कारण सुरक्षा र ट्राफिक व्यवस्थापनलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले ठूला सवारी साधनलाई गौशाला र तीनकुने चोकबाटै डाइभर्सन गरिदिएको छ।
यस्तै साना सवारी साधनलाई सिनामंगल र तिलगंगाको भित्री सडक हुँदै पठाइएको छ भने मालबहाक सवारी साधनलाई चावहिलबाट सुकेधारातर्फ र कोटेश्वरबाट बालकुमारीतर्फ मोडिएको छ।
सडकमा मानिसहरूको बाक्लो उपस्थितिका कारण गौशाला, पुरानो बानेश्वर, भत्केको पुल, सिनामंगल र तीनकुने क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ। यी क्षेत्रमा सवारी साधनहरू निकै सुस्त गतिमा (क्युमा) चलिरहेका छन् जसले गर्दा यात्रुहरू मर्कामा परेका छन्।
ट्राफिक प्रहरीले गौशाला, सिनामंगल र तीनकुने हुँदै यात्रा गर्ने चालकहरूलाई अनावश्यक जामबाट बच्न र समयमै गन्तव्यमा पुग्नका लागि वैकल्पिक मार्गको प्रयोग गर्न विशेष अनुरोध गरेको छ।
अहिले सो क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ र स्थिति सामान्य बनाउने प्रयास भइरहेको छ। गोल्डेनगेट क्षेत्रमा भेला भएका व्यक्तिहरूको कारण मुख्य सडक ठप्प प्रायः भएपछि त्यसको प्रत्यक्ष असर आसपासका अन्य लिङ्क रोडहरूमा समेत देखिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण