सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

देशकै पहिलो पोषणमैत्री बन्दै बडिगाड गाउँपालिका

सोमबार, ०८ असार २०८३, १३ : १०
सोमबार, ०८ असार २०८३

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाका सबै वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । सबै वडा पोषणमैत्री घोषणासंगै गाउँपालिका पनि पोषणमैत्री घोषणाको चरणमा छ ।

बडिगाड गाउँपालिका देशकै पहिलो पोषणमैत्री बन्ने तयारीमा जुटेको हो । देशभरको तथ्याङ्कअनुसार बागलुङको बडिगाड गाउँपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिका पोषणमैत्री वडा घोषणा गरेर पालिका घोषणाको चरणमा पुगेका छन् ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले समेत सबै वडा पोषणमैत्री घोषणा गरिसकेकाले ती दुइ मध्ये जस्ले पहिला घोषण गर्छ त्यो नै देशको पहिलो पोषणमैत्री गाउँपालिका हुने पोषण र बालमैत्री विषयका राष्ट्रिय प्रशिक्षक बिष्णुप्रसाद चौबेले जानकारी दिए ।

बडिगाड गाउँपालिकाले सङ्घीय सरकारको सहयोगमा तीन वर्ष यता पोषणमैत्री गाउँपालिका बनाउने अभियान सफलता पाएको पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् ।

थापाका अनुसार जेठ २८ गते बडिगाड गाउँपालिका–९ दर्लिङलाई पहिलो वडाको रुपमा घोषणा गरिएको र असार ५ गते सम्म सबै वडा घोषणा गरिएको छ । पोषणमैत्री गाउँपालिका निर्माणका लागि आवश्यक ३४ वटै सूचक पूरा भएपछि पोषणमैत्री वडा घोषणा भएको हो ।

बडिगाड गाउँपालिकामा तीन वर्ष यता पोषण सुधारमा थुप्रै काम भएको स्थलगत अनुगमनमा देखिएको र विभिन्न समूह गठनगरी पोषण सचेतना सहित आवश्यक सबै तयारी पूरा उपाध्यक्ष भिमसेन वनले जानकारी दिए ।

कार्यविधिले तोकेका ३४ वटै सूचक पूरा भइसकेको जिल्ला स्तरीय अनुगमन समितिले प्रमाणीकरणपश्चातु वडा घोषणा भएको वनको भनाइ छ ।

बडिगाड गाउँपालिकामा २०७९÷०८० देखि गाउँपालिकाले पोषणमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयनमा ल्याएर वडा–वडामा सहजकर्ता खटाउने, तालिम दिने, करेशावारी, भान्सा, गोठ सुधार संगै रैथाने अन्नबालीको उपयोगमा जोड दिएपछि गाउँपालिका पोषणमैत्री बनेको हो ।

पालिकाभित्रका विद्यालयका विद्यार्थीलाई फाष्टफूड निषेध गरेर सातु, कोदोको हलुवा, खिर, चना र अण्डा लगायतका खाजा खुवाउन थालिएको छ ।

अहिले विद्यालयमा शुद्ध खानेपानीदेखि तौल गर्न स्वास्थ्यचौकी आएका बालबालिकालाई अण्डा उपहार समेत दिन थालिएको बडिगाड गाउँपालिका–१० स्थित दुर्गममा रहेको दर्लिङ आधारभूत स्वास्थ्य केन्द्रका भीमकुमारी बुढा मगरले जानकारी दिए ।

बडिगाडका सबै विद्यालयमा पत्रु खाना (जङ्क फुड) लैजान रोक लगाइएको छ । विद्यार्थीले घरबाटै ल्याउनुपरेमा पनि पोषणयुक्त खाना मात्र विद्यालयमा ल्याउन पाइने नियम छ । विद्यालयबाहेकको समयमा पनि घर र समुदायमा पुगी पोषणयुक्त खानेकुराको महत्व र प्रयोगका बारेमा सचेतना जगाउने काम भइरहेको बडिगाड गाउँपालिका–१ का पोषण सहजकर्ता टीका गिरीले बताए ।

गाउँपालिकाका पोषणमैत्री घोषणा गर्न दसवटै वडामा पोषण प्रवद्र्धन तथा सुधारका गतिविधि सञ्चालन सम्पन्न भइसकेको छ । स्वास्थ्य, शिक्षा, कृषि, पशु, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका र शासकीय प्रबन्धका क्षेत्रमा तोकिएका सूचक पूरा भएको कार्यक्रमका संयोजक शेरबहादुर बुढाले बताए ।

गाउँपालिकाभित्र रहेका ६९ टोल पूर्ण सरसफाइ युक्त घोषणा, सबै स्वास्थ्य संस्था समेत पोषणमैत्री बनिसकेको उनको भनाइ छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ल्याएको ‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि–२०८०’ ले पोषणमैत्री स्थानीय तह घोषणाका लागि ३४ वटा सूचक तय गरेकामा सबै सूचकमा नतिजा हासिल भइसकेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप