तस्बिरमा हेर्नुहोस् ऐतिहासिकता एवं धार्मिक महत्वसँग जोडिएको गोरखा दरबार
सारांश
- गोरखा दरबार धार्मिक र पर्यटकीय रूपमा महत्त्वपूर्ण छ, जहाँ ऐतिहासिक संरचनाहरू छन्।
- पृथ्वीनारायण शाह जन्मेको कोठा, राजकन्या कोठा, सिंहासन कोठा लगायतका कोठाहरूको जानकारी दिइएको छ।
- गोरखकाली मन्दिर, रंगमहल, गोरखनाथ मन्दिर र दमाईपाटी जस्ता संरचनाबारे वर्णन गरिएको छ।
गोरखा । नेपाल एकीकरणको गौरवशाली इतिहाससँग जोडिएको गोरखा दरबार धार्मिक रूपमा पनि अत्यन्त महत्त्वपूर्ण रहेको छ । गोरखकाली मन्दिरप्रतिको आस्था र नेपालको गरिमामय इतिहासको सुरुआत भएको ठाउँका रूपमा रहेका कारण पनि पर्यटकीय आकर्षण केन्द्रको रूपमा गोरखा दरबार रहेको छ ।
मन्दिर परिसरमा नै रहेका विसं १६१६ अघिका तोप तथा नगराले यहाँको ऐतिहासिकतालाई थप उजागर गरेका छन् । पृथ्वीनारायण शाहकालीन इतिहासलाई पछिल्लो पुस्तासम्म पुर्याउने उद्देश्यका साथ गोरखा दरबार र परिसरमा तत्कालीन समयमा सैनिकले लगाउने गरेका पोसाक र हातहतियारसहित सुरक्षाकर्मी खटाइएको छ ।
राजा रामशाहको पालामा निर्माण गरिएको गोरखा दरबार परिसरमा रहेको संरचनाहरू मध्ये मूल दरबारको विशेष महत्त्व रहेको छ । बुंईगल सहित यो दरबार ४ तला रहेको छ । दरबारको तेस्रो तला कलात्मक आँखी झ्यालले वरिपरि घेरेर बनाइएको छ । उत्कृष्ट काष्ठकलाका नमुना देख्न सकिने सो मूल दरबार लगायत अन्य विभिन्न संरचनाहरू २०७२ सालको भूकम्पले क्षति गरेपनि हाल पुन निर्माणको काम सकिसकेको छ ।
_F65EYtMIin.jpg)
सो मूल दरबारमा रहेका केही महत्त्वपूर्ण कोठा र दरबार परिसरका केही ऐतिहासिक संरचनाहरूको जानकारी ।
पृथ्वीनारायण शाह जन्मेको कोठा : दरबारको तल्लो अर्थात भुईतलाको दाँयातर्फको कोठामा पृथ्वीनारायण शाह जन्मेको मानिन्छ । हाल यो कोठा बन्द गरेर राखिएको छ । यो कोठा बाहिर रहेको कोठालाई धुनी कोठाभनिन्छ । भनिन्छ पृथ्वीनारायण शाह जन्मेपछि यसै धुनीकोठामा सेकताप गरिन्थ्यो।
_wIq1tyCeRy.jpg)
राजकन्या कोठाः दरबारको मूल प्रवेशद्धारबाट गएपछि भित्री द्धार आउँछ यसै भित्रीद्वाराबाट छिरे पछि बायाँतर्फ एक कोठा रहेको छ जसलाई कन्या कोठा भनिन्छ । यस कोठामा बडा दशैं ८ कन्या र १ कुमारलाई पूजा गरी भोजन गराइन्छ भने वडा दसैँको टिकाको दिन देखि पूर्णिमाका दिनसम्म गोरखकाली र गोरखकालीसंग सम्बन्धित वस्तुहरू यस कोठामा राख्ने प्रचलन रहेको छ ।
सिंहासन कोठा: कन्या कोठाको ठिक अगाडि सिंहासन कोठा रहेको छ । यस कोठाको काठको सिंहासन राखिएको छ जसलाई पृथ्वीनारायण शाहको सिंहासन भन्ने गरिन्छ । यस कोठालाई काठद्वारा निर्माण गरेको जालीदार बार लगाइएको छ ।
_YZJR7Tl8HY.jpg)
कौषीतोषा कोठाः यस कोठाबाट वर्षभरिको पर्वपूजाका सामग्री भण्डारण गरी पूजा सामान तयार गरेर पूजाकोठामा पठाउने गरिन्छ ।
भण्डारकोठाः भण्डारकोठाभित्र ३ वटा कोठामा दरबारसँग सम्बन्धित पर्व पूजामा आवश्यक पर्नेपूजा सामग्री लगायत अन्य पूजा भाँडाहरु, हतियारहरु भण्डार गर्ने गरिन्छ । यी भण्डारण गरिएका वस्तुहरू पर्वपूजाहरुमा निकाल्ने गरिन्छ ।
_nZUhC9MmH6.jpg)
भान्छा कोठा: दरबारको दोस्रो तलामा ठुलो लामो कुनै घेरावारा नगरेको कोठा रहेको छ जसलाई राजपरिवारको भान्छा भन्ने गरिन्छ । यस भान्छाकोठामा हाल पनि चुलो चौका रहेको छ । हाल यस भान्छाकोठामा अष्टमीका दिन कन्यापूजा गर्ने गरिन्छ । भान्छा कोठा सँगैको पूर्वतर्फको कोठाः यस कोठामा गोरखनाथको पूजासँग सम्बन्धित वस्तुहरू राख्ने गरिन्छ ।
कैलाशकोठाः दरबारको तेस्रोतला तथा बुँइगलमा भगवतीको मुख्य गर्भगृह रहेको छ जहाँ मुख्य भगवती र भगवतीसँग सम्बन्धित वस्तुहरू राख्ने गरिन्छ । चैते दसैँको एक दिन र बडादशैंको नवरथाभरि भगवतीलाई कालिका मन्दिरको पूजाकोठामा विराजमान गराईन्छ ।यस कैलाशकोठामा भित्रीया सुसारेहरु बाहेक अन्य प्रवेश गर्न पाइदैन ।
_LSgkiok1Wr.jpg)
रंगमहल: गोरखा दरबार र कालिका मन्दिरलाई जोड्ने गरी एक भवन बनाइएको छ जसलाई रंगमहल भनिन्छ । यो रंगमहल २ तलाको रहेको छ । रंगमहलको बनाउन भूईतलामा छत्रशाहले लगाई कालिकालाई चढाएको वि।सं। १६६६ को अभिलेख सहितको दुईवटा नगरा राखिएको छ । भने एकवटा वि।सं। १७७१ को अभिलेख अंकित तोपको भाग राखिएको । पहिलो तलामा राजपरिवारहरुले रंगमहलको पटांगिनीमा हुने नाचगान उत्सव र वडा दसैँको टीकाको दिन टिका प्रसाद ग्रहण गरिसकेपछि यस स्थानकाबाट रंग भरेको पानी र अविर वर्षाई होली खेल्ने परम्परा रहेको छ । हालसम्म पनि होली खेल्ने परम्परा यथावत कायम रहेको छ । रंगमहलको दोस्रो तला मूल दरबार कालिका मन्दिर जाने भित्रको बाटोको रूपमा प्रयोग गर्ने गरिन्छ भने कन्या पूजा र कन्यालाई भोजन पनि यसै तलामा गर्ने गरिन्छ ।
गोरखकाली मन्दिर: अलौकिक शक्तिशाली देवताको रूपमा मान्दै आएको यी देवीको प्रतीकलाई कास्की, लमजुङ गर्दै गोरखासम्म ल्याएको लोक विश्वास रहेको छ । द्रव्य शाहले गोरखामा राज्य प्राप्त गरेपछि लमजुङ दरबारबाट उक्त शक्ति चोरेर ल्याइएको भन्ने एकखालको किंवदन्ती पाइन्छ भने वंशावलीमा सो प्रतीकलाई बत्तीमा जागा गराएर गोरखा दरबारको पूजाकोठामा ल्याई पुर्याउने प्रयास तेस्रो पटक मात्र सफल भएको आदि कुरा लेखिएको छ । गोरखकालीको प्रतीकलाई गोप्य पूजाकोठामा राखिने हुँदा दर्शनार्थी र भक्तजनहरूले मन्दिर खण्डको दक्षिणतर्फको ढोकामा पूजाआजा गर्ने चलन छ । गोरखकालीको नामले प्रसिद्ध यो मन्दिर पूर्वाभिमुख रहेको छ ४ तला रहेको यो मन्दिर भनिएता पनि मूल दरबारको वास्तुशैली जस्तै गरी बनाइएको छ यसको छानामा धातुको गजुर राखिएकोले मन्दिर भन्ने बुझिन्छ । कालिका मन्दिरभित्र पनि विभिन्न कोठाहरू रहेका छन् ।
_LVIKgXjpml.jpg)
पूजाकोठा: टीकापाती कोठाको पूर्वतर्फ अर्को कोठा रहेको छ जसलाई मुख्य पूजाकोठा भन्ने गरिन्छ । यस पूजाकोठामा दैनिक नित्य पूजा गर्ने गरिन्छ । यस पूजाकोठामा चैतेदशैको एक दिन र बडा दसैँको नौरथाभरि कालिभगवतीलाई कैलाशकोठाबाट ल्याई विराजमान गराइन्छ । यस पूजाकोठमा मूल ब्राह्मण पुजारी र भिरकोटे सुसारे र भित्रिया सुसारेहरु बाहेक अन्य प्रवेश गर्न पाईदैन
गोरखनाथ मन्दिरः गोरखा मूल दरबारको पूर्वपट्टि एउटा गुफामा मन्दिर बनाइएको छ जसलाई गोरखनाथ मन्दिर तथा गुफा भनिन्छ । यस गोरखनाथ गुफासंग पृथ्वीनारायण शाहको कथा जोडिएको छ । एक दिन पृथ्वीनारायण शाह झ्यालमा बसी राखेको समयमा कसैले बोलाएको सुनी उनी भर्याङबाट नओर्ली सिधै आवाज आएको ठाउँतिर गएर हेर्दा एकजना जोगीले उनलाई बोलाई दही ल्याउन लगाएको र पृथ्वीनारायण शाहले दही ल्याई जोगीलाई दिएको जागीले सो दही खाई पुनः ओकली पृथ्वीनारायण शाहलाई हात थाप्न लगाइए ओकली दिएपछि खान आग्रह गर्दा पृथ्वीनारायण शाहले दिगमिग मान्दा खुट्टामा खसेको र जोगीले यो दही खाएको भए जे बोल्यो त्यही पुग्ने थियो तर यो तिम्रो खुट्टामा खस्यो तिमी जुन भूमिमा टेक्छौ त्यो तिम्रो हुनेछ भनी आशीर्वाद दिएको भनी किंवदन्ती रहेको छ । ठुलो ढुंगा मुनि रहेको गोरखनाथ मन्दिरको मूल गर्भगृहमा दैनिक कनफट्टा योगीहरुद्धारा गोरक्षसहस्रनाम पाठ र पूजा हुन्छ । त्यसैगरी श्रावण महिनामा ४ दिनसम्म र शिवरात्री तथा चण्डीपूर्णीमाका दिनसमेत ती योगी तथा अन्य साधु सन्तहरुलाई गोरखा दरबारमा भण्डारा खुवाइन्छ ।
_wSiuV1f4Nj.jpg)
दमाईपाटीः दरबार प्रवेश गर्ने दक्षिण तर्फको गेट अगाडि एउटा सानो पाटी रहेको छ जसलाई दमाई पाटी भनिन्छ । यस पाटीमा कालिका मन्दिर र गोरखनाथ मन्दिरमा पूजा हुने समयमा बाजा बजाउने गरिन्छ ।
शीतलपाटी : दरबार प्रवेश गर्ने दक्षिण तर्फको गेट अगाडि एउटा ज्यादै आकर्षक घर रहेको छ जसलाई शीतल पाटी भनिन्छ । यस शीतल पाटी विश्रामस्थलका रूपमा प्रयोग गरिन्छ । सर्वसाधारणलाई यसमा प्रवेश गर्न रोक लगाइएको छ । भनिन्छ तत्कालीन राज परिवारका सदस्यहरू आउँदा यस स्थानमा विश्राम गरेपछि कालिका मन्दिर दर्शन जाने गर्दथे । तस्बिर : प्रकाश चन्द तिमिल्सेनार नेपाल फोटो लाइब्रेरी
_yzsLg1SNX4.jpg)
_aRZiubD7ZZ.jpg)
_6ErgM7ESUe.jpg)
_SK8OBBUNnB.jpg)
_yTok5YStlk.jpg)
_nOcnMUQbwS.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण