चुनावका लागि तयार छ मुस्ताङ, ८ जना छन् मैदानमा
सारांश
- मुस्ताङमा फागुन २१ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ, जसमा ४० मतदान केन्द्र तोकिएका छन्।
- मौसम र भौगोलिक विकटताका कारण केही मतदान केन्द्र संवेदनशील सूचीमा राखिएका छन्, बाटो अवरुद्ध हुँदा अनुगमनमा समस्या छ।
- मुस्ताङका मतदाता जाडो छल्न अन्यत्र गएकाले मतदानमा कमी आउन सक्ने अनुमान छ, पोखरामा मतदाता शिक्षा कार्यक्रम जारी छ।
पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिमाल पारीको जिल्ला मुस्ताङ तयार अवस्थामा छ ।
निर्वाचनका लागि कर्मचारी व्यवस्थापन, सुरक्षा योजना र सामग्री ढुवानीको काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ । जिल्लाभर ३९ वटा स्थायी र १ वटा अस्थायी गरी कुल ४० वटा मतदान केन्द्र निर्धारण गरिएको छ । अस्थायी मतदान केन्द्र जिल्ला कारागारमा रहनेछ ।
अस्थायी मतदान केन्द्रबाट कैदीबन्दी तथा कर्मचारी र सुरक्षाकर्मीहरुले मत दिनेछन् । निर्वाचन सम्पन्न गर्नका लागि निजामती तर्फका करिब २ सय ३७ जना कर्मचारी खटिनेछन् भने प्रत्येक केन्द्रमा मतदाता संख्याको आधारमा २ देखि ३ जनासम्म स्वयम्सेवक परिचालन गरिने प्रमुख लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।
निर्वाचनको तयारी पुरा भए पनि मौसम र भौगोलिक विकटता भने चुनौती हुनसक्ने उनले बताए । जिल्ला सुरक्षा समितिले भूगोल, मौसम र अन्य गतिविधिका आधारमा जिल्लाका ९ वटा मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखेको छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ५ स्थित साङ्ता मतदान केन्द्र जाने बाटो हिउँले अवरुद्ध भएकोले अनुगमनमा जाने अवस्था नबनेको उनले सुनाए । उक्त केन्द्रमा ३९ जना मतदाता छन् । ‘अहिले त्यहाँ गोठालाहरू मात्र छन् । बाटो हिउँले छेकेको छ,’ उनले भने, ‘हामी बाटो खुलाउने प्रयासमा छौँ । त्यसबाहेक अन्यत्र खासै समस्या छैन ।’ मौसममा थप खराबी आए आयोगसँग समन्वय गरी तत्काल निर्णय लिइने उनले जानकारी दिए ।
मौसमका कारण मुस्ताङका धेरै बासिन्दाहरू जाडो छल्न पोखरा, काठमाडौँ लगायतका सहरमा झरेका छन् । २०७९ को निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको भए पनि फागुनको चिसोमा सोही अनुपातमा मत खस्न गाह्रो हुने आँकलन गरिएको छ । मतदाताहरू जिल्ला बाहिर रहेकाले निर्वाचन आयोगले पोखरामा समेत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लामा भने दलहरूको चुनावी गतिविधि अझै बाक्लो हुन सकेको छैन ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यसपटकको निर्वाचनमा मुस्ताङबाट ८ वटा राजनीतिक दलका तर्फबाट ८ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन् । कार्यालय प्रमुख ज्ञवालीका अनुसार जिल्लामा ११ हजार ३ सय २८ मतदाता छन् । २०७९ सालको निर्वाचनमा मुस्ताङमा कुल मतदाता १० हजार ४ सय ८४ जना थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण