तरकारीको गाडीमा फल्स बटम बनाएर गाँजा तस्करी, १२ किलोमिटर लखेटेर चालक पक्राउ
ललितपुर । धादिङबाट तरकारीको खाली क्रेट बोकेर हेटौँडा जाँदै गरेको गाडीबाट प्रहरीले १५३ केजी गाँजा बरामद गरेको छ। ललितपुरको बागमती गाउँपालिका–३ छपेलीस्थित प्रहरी चौकी भट्टेडाँडाको टोलीले बिहीबार बिहान नियमित चेकजाँचका क्रममा ना ३ च ४०५ नम्बरको हात्ती गाडीबाट उक्त परिमाणको लागुऔषध फेला पारेको हो।
कान्ति लोकपथ हुँदै जाँदै गरेको उक्त गाडीमा शंकास्पद रूपमा 'फल्स बटम' बनाएको देखेपछि प्रहरीले सोधपुछ सुरु गरेको थियो। प्रहरीले खानतलासी गर्न थालेपछि गाडी चालक २८ वर्षीय नगेन्द्र श्रेष्ठ एकाएक भागेर जंगलतर्फ फरार भएका थिए।
प्रहरी टोलीले तत्काल घेराबन्दी गरी उनलाई घटनास्थलबाट करिब १२ किलोमिटर टाढा बागमती गाउँपालिका–२ बगुवाको जंगल क्षेत्रबाट नियन्त्रणमा लिन सफल भयो। पक्राउ परेका श्रेष्ठ रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ घर भई हाल मकवानपुरको हेटौँडा बस्ने खुलेको छ।
गाडीलाई मसिनो गरी चेकजाँच गर्दा भित्र लुकाई छिपाई राखिएका १५ वटा पोकामा जम्मा १५३ केजी गाँजा फेला परेको ललितपुर प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषध र ओसारपसारमा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिएर चालक श्रेष्ठमाथि थप अनुसन्धान अघि बढाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण