‘देउवा नहुँदा विकल्पको ढोका खुल्यो’
सारांश
- डडेलधुरामा शेरबहादुर देउवा बिनाको निर्वाचन हुँदैछ, जसले प्रतिस्पर्धालाई रोचक बनाएको छ।
- स्थानीय मतदाता परिदत्त अवस्थीले देउवाको अनुपस्थितिमा विकास निर्माणमा असर पर्ने चिन्ता व्यक्त गरे।
- अवस्थीले यस निर्वाचनमा नयाँ उम्मेदवारलाई रोज्ने संकेत गर्दै देशको अवस्था बदल्न मतदाता सचेत हुनुपर्ने बताए।
डडेलधुरा । प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसार तीव्र हुँदै गएको छ । उम्मेदवारहरू चुनाव प्रचार अभियानमा सक्रिय देखिन्छन् भने मतदातामा पनि केही संशय, केही आशा र केही विश्वास पाइन्छ ।
२०४८ साल यता हरेक संसदीय निर्वाचन (दुई वटा संविधान सभा निर्वाचनसहित)मा डडेलधुराबाट निरन्तर निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यस पटक प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका छैनन् । देउवाले कांग्रेसको गढका रूपमा स्थापित गरेको यो जिल्लाले ३४ वर्षपछि देउवाविहीन चुनाव सामना गर्दैछ ।
निरन्तर निर्वाचित हुँदै आएका देउवा उम्मेदवार नबन्दा प्रतिस्पर्धी दलहरूमा एक प्रकारको उत्साह देखिन्छ भने कांग्रेसलाई यो जिल्लामा आफ्नो गढ कायम राख्न चुनौती बढेको छ ।
डडेलधुराकै गन्यापधुरा गाउँपालिका–१ निवासी परिदत्त अवस्थी एक सामान्य मतदातामात्र होइनन्, कुनै बेला नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’को जिल्ला सदस्य भएर काम गरेका पात्र पनि हुन् । ०५६ सालमा आफू नेपाल विद्यार्थी संघको जिल्ला सदस्य रहँदा नैनसिंह महर जिल्ला सभापति रहेको अवस्थीले बताए ।
महर अहिले डडेलधुरामा नेपाली कांग्रेसको उम्मेदवार छन् । यद्यपि अवस्थीलाई महरप्रति न सहानुभूति छ, न त कुनै समय आफू सक्रिय राजनीतिमा सामेल रहेको कांग्रेसप्रति नै । यद्यपि शेरबहादुर देउवाप्रति आफ्नो सम्मान भाव रहेको उनी बताउँछन् ।
‘देउवा हुँदा केही न केही बजेट डडेलधुराले बढी नै पाउँथ्यो,’ उनले भने, ‘उहाँ नहुँदा यहाँको विकास निर्माणका काममा स्वाभाविक रूपले प्रभाव पर्छ ।’
अवस्थी पेसाले चालक हुन् । सार्वजनिक यातायातका चालक रहेका उनलाई राजनीतिमा उत्तिकै चासो छ । देशको अवस्थाप्रति उनी चिन्तित छन् । अवस्था बदलिनेमा उनलाई विश्वास पनि छ । यसका लागि मतदाता आफैँ सचेत हुनुपर्ने उनी बताउँछन् ।
‘शेरबहादुर देउवा नै उम्मेदवार भइदिएको भए मैले निःसङ्कोच उहाँलाई नै भोट दिनुपर्थ्यो होला । उहाँलाई म सम्मान पनि गर्छु,’ अवस्थीले भने, ‘उहाँ उम्मेदवार नहुनु नै मेरालागि विकल्पको ढोका खुला हुनु हो ।’
‘शेरबहादुर देउवालाई भोट दिने तर त्यही पार्टीको अर्को उम्मेदवारलाई चाहिँ किन नदिने ?’ अवस्थीलाई प्रश्न गरियो ।

जबाफमा उनले भने, ‘देउवालाई भोट दिनुको धेरै कारण छन् । उहाँकै नाम, प्रतिष्ठाका कारण हामी डडेलधुरावासीमात्र नभएर सुदूरपश्चिमवासीले नै अहिलेसम्म गर्व गर्न पाएका थियौँ । उहाँ सुदूरपश्चिमको मात्र नभएर यो देशकै एक प्रमुख नेता हुनुहुन्थ्यो र उहाँकै क्षेत्रका मतदाताका रूपमा हामी गर्व गर्न सक्थ्यौँ ।’
अब कांग्रेसमा देउवाजत्तिकै राजनीतिक उचाइ भएका सुदूरपश्चिमेली नेता नदेखिएको अवस्थी बताउँछन् । ‘देउवालाई भोट दिनु र अरूलाई दिनुमा धेरै फरक हुन्छ,’ उनले भने, ‘देउवाले हामीसँग भोट नमागे पनि दिन मन लाग्थ्यो, तर उहाँ उम्मेदवार बन्नु भएन । हामीले पनि विकल्प खोज्ने मौका पायौँ ।’
जिते पनि, हारे पनि अन्तिम पटक देउवा उम्मेदवार बनेको भए सुदूरपश्चिममा कांग्रेसले राम्रै स्थान ल्याउन सक्थ्यो भन्ने अवस्थीको बुझाइ छ । ‘देउवा हुँदा केही न केही बजेट डडेलधुराले बढी नै पाउँथ्यो,’ उनले भने, ‘उहाँ नहुँदा यहाँको विकास निर्माणका काममा स्वाभाविक रूपले प्रभाव पर्छ ।’
अवस्थी आफैँ १० वर्ष वैदेशिक रोजगारीका क्रममा मलेसियामा बसे । जीवनको अमूल्य एक दशक विदेशमा रहेर काम गर्दा पनि अहिले गुजाराका लागि गाडी चलाउनु परेको उनको गुनासो छ ।
पार्टी परिवर्तन नगरे पनि धेरैले यो निर्वाचनमा आफ्नो मत परिवर्तन गर्ने अवस्थीको दाबी छ । उनले भने, ‘तीन–साढे तीन दशकसम्म पुरानालाई हेरियो । अब पाँच वर्षका लागि नयाँलाई हेर्ने हो । तिनले केही गर्छन् कि भन्ने आश छ ।’
देशले के मागेको छ र त्यसलाई कसले पूरा गर्न सक्छ भन्ने हेक्का राखेर मतदान गर्ने अवस्थीको अठोट छ । ‘हामीलाई भ्रष्टाचारमुक्त शासन चाहिएको हो,’ उनले भने, ‘रोजगारीका अवसर स्वदेशमै सिर्जना भइदिए यहाँका युवा विदेश जानै पर्दैनथ्यो ।’
अवस्थी आफैँ १० वर्ष वैदेशिक रोजगारीका क्रममा मलेसियामा बसे । जीवनको अमूल्य एक दशक विदेशमा रहेर काम गर्दा पनि अहिले गुजाराका लागि गाडी चलाउनु परेको उनको गुनासो छ । उनले भने, ‘चालक पेसाबाट पनि खासै कमाइ हुँदैन । पाँच रोपनी जमिन छ । त्यसबाट पुग–नपुग गुजारा हुन्छ । गाडी चलाएको पैसाले बालबच्चालाई पढाउने, औषधि उपचारका लागि जोहो हुन्छ, अरू त के हुनु र ?’
आफू चालक भएकाले दैनिक नयाँ–नयाँ मान्छेसँग भेट्नुपर्ने, विभिन्न ठाउँका मानिससँग कुराकानी हुने जिकिर गर्दै अवस्थीले देउवाको अनुपस्थितिमा यो चुनाव खल्लो लागेको प्रतिक्रिया धेरै जनाले व्यक्त गरेको सुनाए ।
प्रतिनिधि सभा अन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा नेपाली कांग्रेसबाट नैनसिंह महर, नेकपा एमालेबाट चक्रप्रसाद स्नेही, नेपाली कम्युनिस्ट पार्टीबाट मानसिंह माल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ताराप्रसाद जोशी उम्मेदवार छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र राज भट्ट, राष्ट्रिय जनमोर्चाबाट चक्रदेव विक, जय मातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट, श्रम संस्कृति पार्टीबाट महेन्द्र पुन मगर, आम जनता पार्टीबाट खडक बहादुर ठकुराठी उम्मेदवार छन् । यहाँ गोरखबहादुर ऐर, तीर्थराज उप्रेती र सुरेन्द्र रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण