शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
चुनावी GROUND ZERO

चुनावी GROUND ZERO सुर्खेत–२ : बदलियो मतदाताको मन, नयाँतिर आकर्षण

रास्वपाको त्रासमा पुराना दल
आइतबार, १० फागुन २०८२, १२ : ११
आइतबार, १० फागुन २०८२

सारांश

  • सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एमालेको पकड कमजोर हुँदै गएको छ, मतदाता नयाँ राजनीतिक शक्तिप्रति आकर्षित भएका छन्।
  • विभिन्न दलका नेताहरूले चुनावी प्रतिस्पर्धाका लागि दाबी गरे पनि मतदाता पुरानो नेतृत्वप्रति असन्तुष्ट छन्, र रास्वपाप्रति आकर्षण बढेको छ।
  • रास्वपाले यस क्षेत्रमा चुनावी माहोल बनाइरहेको छ, तर पुराना दलहरूले अझै पनि यसलाई गम्भीर प्रतिस्पर्धी मानेका छैनन्।

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका—४, भैरवस्थान क्षेत्र एमालेको लाल किल्ला रहँदै आएको छ । हाल कर्णालीको मुख्यमन्त्री रहेका यामलाल कँडेलको निजी निवास क्षेत्र यही नै हो । 

नगरपालिकाको उपप्रमुखको गृह वडा पनि यही हो र वडाको नेतृत्वमा पनि एमाले नै छ ।  सार्वजनिक रूपमा एमालेका नेताहरूले उक्त वडाको मत कतै विभाजन नहुने बताउने गरेका छन् । यद्यपि स्थलगत चुनावी रिपोर्टिङका क्रममा मतदाताको मन अहिले विभाजित भएको पाइयो । 

विगतमा एमालेमै आबद्ध भएका कतिपय मतदाताहरूले नयाँ राजनीतिक शक्तितर्फ समर्थन जनाइरहेका छन् । ३३ वर्षीय कमल थापाले विगतमा एमालेलाई नै मत दिँदै आएको भए पनि यो पटक नयाँलाई हेर्ने योजना बनाएको बताए ।

उनी मात्र होइन यस वडामा ५० भन्दा बढी मतदातासँग औपचारिक र अनौपचारिक रूपमा कुरा गर्दा अधिकांशले नयाँलाई मतदान गर्ने बताए । विगतमा एमालेकै नेताका रूपमा चिनिएका एक ६० वर्षीय मतदाताले (उनले नाम खुलाउन नचाहेकाले नखुलाइएको) भने, ‘हेर्नुस् ! विगतमा एमाले—एमाले भनेर मरिमेटेर लागेकै हो, अघिल्लो चुनावमा पनि चुनावी अभियानमै खटियो तर यो पटक मेरो मन बदलिएको छ ।’

एमाले मतदाता मात्र होइनन्, कतिपय कांग्रेस निकट मतदाताहरू पनि नयाँतर्फ आकर्षित भएको पाइयो । पञ्चायतकालमै जनप्रतिनिधि भएका एक पुराना कांग्रेसी मतदाताले अहिले नयाँलाई रोज्ने योजना बनाएको बताए ।

‘कति पुरानालाई मत दिनु ? दिँदा दिँदा वाक्कै भइयो, अहिले देशको परिस्थिति हेरेर मत हालौँ कि भन्ने सोचेको छु,’ उनले भने, ‘अहिले केटाकेटी सबैले नयाँ–नयाँ भनेका छन् ।’

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानीको नगर हो, यहाँ ७१ हजार ८४० मतदाता छन् । यहाँका १५ र १६ नम्बर वडा बाहेक सबै सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत पर्दछन् । यस्तै ५६ हजार ९७९ मतदाता रहेका पश्चिमका बराहताल, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिका पनि २ नम्बर क्षेत्रमा पर्दछन् ।

वीरेन्द्रनगर सहरिया जनमत भएको क्षेत्र हो । विकासको अग्रपथमा लम्किएको वीरेन्द्रनगरका मतदाता र अझै पनि दुर्गमता झेलिरहेका पश्चिम क्षेत्रका मतदाताका माग र आवश्यकता फरक–फरक रहेका छन् ।

बराहताल गाउँपालिका—४, साँझघाटका कतिपय मतदातालाई चुनावबारे खासै मतलब नै नरहेको पाइयो । उनीहरूलाई बिहान–बेलुका छाक टार्ने चिन्ता छ । त्यहाँका स्थानीयको माग सिँचाइ, खानेपानी, विद्युत् र लालपुर्जा छ ।

खेतीयोग्य जमिन भए पनि सिँचाइ अभावमा बाँझो छ । ०७८ सालमै विद्युत्का पोलहरू ठोकिए पनि विद्युत् जोडिएको छैन । तर पनि ती मतदाताहरू नयाँ अनुहार रोज्ने बताउँछन् । पुरानै राजनीतिक दलहरूमा आबद्धता भएका कार्यकर्ता समेत दल र आस्था नबदल्ने तर मत बदल्ने प्रतिक्रिया दिन्छन् । ‘विगतमा जति भोट हाले पनि हामीलाई हेर्ने कोही होइन, यो पटक सबै मत बदल्ने भन्छन्,’ स्थानीय मदन घर्तीले रातोपाटीसँग भने ।

birendranagar (1)

पश्चिमका बराहताल, पञ्चपुरी र चौकुनेका नागरिकका माग भने अझै परम्परागत नै छन् । सडक, शिक्षा, स्वास्थ्य र रोजगारी नै उनीहरूका प्रमुख माग हुन् । 

यसअघि चुनावी एजेन्डाका रूपमा रहेको मदन भण्डारी राजमार्गले अहिले गति लिएको छ । स्थानीय सरकार बनेपछि गाउँ–गाउँमा सडक त खनिएका छन् तर स्तरोन्नति नहुँदा गाडी चल्दैनन् । कतिपय काम भइरहेका पनि लापरबाहीका कारण विलम्ब भइरहेका छन् । राजधानीसँगै जोडिएका यी स्थानीय तहका कतिपय बस्ती अझै पनि स्वास्थ्य, शिक्षा, सडक र विद्युत्को पहुँच बाहिर छन् । बराहतालकै भेरी पारीका तरङ्गा लगायतका बस्ती सडक पहुँच बाहिर छन् । 

चौकुनेका रेक्चा, तालागाउँ लगायतका दुर्गत बस्तीहरू छन् । पश्चिमका नागरिकका मागहरू यिनै विषयमा केन्द्रित छन् । उनीहरू खाद्यान्नदेखि हरेक कुरामा वीरेन्द्रनगरसँगै निर्भर छन् ।

वीरेन्द्रनगरको प्रमुख समस्या खानेपानीको हो, १३२ केभीए विद्युत् प्रसारण लाइनको काम सम्पन्न भएसँगै राजधानीको अनियमित विद्युत्को समस्या समाधान उन्मुख छ । त्यस बाहेक स्वास्थ्य, शिक्षा र भौतिक पुर्वाधारका हिसाबले वीरेन्द्रनगरमा हबका रूपमा स्थापित छ । यहाँका नागरिकमा विकास भएन भन्ने गुनासो छैन, विधि, प्रक्रिया र नेताहरुबिच राजनीतिक खिचातानीप्रति वितृष्णा छ । 

जहाँ जाँदा पनि राजनीतिक पहुँच चाहिने, वडाको सिफारिस लिन पनि पावर चाहिने, नातावाद, कृपावाद चल्ने जस्ता कुराहरूमा दिक्दारीपना देखाइरहेका छन् । वीरेन्द्रनगर नगरपालिका—४, चिसापानीकी टीका तिवारी (३४) हरेक ठाउँमा पहुँच हुनेहरूको मात्रै हालीमुहाली हुने, पहुँचकै भरमा जागिर लगाउने परम्पराप्रति वितृष्णा प्रकट गरिन् ।

‘राम्रै पढेलेखेकाहरूले पावर नहुँदा जागिर पाउँदैनन्, राजनीति दल निकट मान्छे खासै नपढे पनि जागिर खान्छ,’ उनले भनिन्।

०००००

मतदाताका सोच र आवश्यकतालाई उम्मेदवारहरूले चुनावी एजेन्डाका रूपमा एकीकृत गर्न सकेका देखिँदैन । अहिलेसम्म कुनै पनि उम्मेदवारले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छैनन् । स–साना टुक्रामा आ–आफ्नो सामाजिक सञ्जालमा राख्ने गरेका छन् । पुराना दलका उम्मेदवारहरूले यसअघि भएका कामहरू पनि आफूहरूले नै गरेको र बाँकी काम पनि आफूहरूले नै गर्ने भन्दै मत मागिरहेका छन् । त्यसैलाई आधार मानेर आफूले चुनाव जित्दै बताउँदै आएका छन् । 

पुराना राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले रास्वपाप्रति सहरिया क्षेत्रमा केही आकर्षण देखिए पनि ग्रामीण बस्तीमा परम्परागत मत रहेको बताउँदै आएका छन् । तर, स्थलगत रिपोर्टिङका क्रममा विगतजस्तो पुराना दलहरूप्रति मतदाताका आकर्षण खासै देखिँदैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अहिले यो क्षेत्रमा जबरजस्त चुनावी माहौल बनाइरहेको छ । 

तर पनि पुराना राजनीतिक दलहरूले उक्त दललाई यो क्षेत्रमा प्रतिस्पर्धी नै मानेको अवस्था छैन । उनीहरूले रास्वपालाई खहरे खोलाका रूपमा व्याख्या गर्ने गरेका छन् । तर उनीहरू भित्रभित्र रास्वपाको त्रासमा देखिन्छन् । 

  • सबै नयाँ उम्मेदवारबिच प्रतिष्ठाको लडाइँ 

 यो क्षेत्रमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्, जसमा पुरानादेखि नयाँ दलका सबै उम्मेदवारहरू ‘फ्रेस फेस’ नै छन् । एमालेबाट कुलमणि देवकोटा, कांग्रेसबाट नारायण कोइराला, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट झकबहादुर मल्ल ‘सुदीप’ र रास्वपाबाट रमेशकुमार सापकोटा उम्मेदवार छन् । 

उनीहरू सबै पहिलो पटक चुनावी मैदानमा होमिएका नेताहरू हुन् । यी चार उम्मेदवारहरूबिच नै कडा चुनावी भिडन्त हुने आकलन गरिएको छ अहिले । 

राजधानीकै क्षेत्र भएकाले पनि होला, उम्मेदवारहरूले यो क्षेत्रलाई प्रतिष्ठाकै विषय बनाएका छन् ।

रास्वपाका उम्मेदवार सापकोटा विगतमा कांग्रेसको राजनीति गर्थे । अहिले रास्वपाको जिल्ला सभापति छन् भने उनी यातायात व्यवसायी हुन् ।

एमाले उम्मेदवार देवकोटा सुर्खेत उपत्यका खानेपानीको अध्यक्ष भएर काम गरेका र सबै उम्मेदवार भन्दा पाका छन् । देवकोटा यो पटक आफूले चुनाव जित्ने दाबी गर्छन् । ‘यहाँ एमालेले नजिते कसले जित्छ, ?’ उल्टै उनले प्रश्न गरे ।

kulmani devkota UML-skt-2

उनी यामलाल कँडेलका विश्वासपात्र हुन् भने एमाले सुर्खेतका अध्यक्ष पनि हुन् । उनलाई चुनाव जिताउन कँडेल अहिले युद्धस्तरमै लागेका छन् । वीरेन्द्रनगरमा हुने एमालेका हरेक चुनावी कार्यक्रममा कँडेलले भाषण गर्ने र मतदाता आकर्षित गर्ततर्फ अग्रसर छन् ।

Jhak bdr malla Ne ka pa -skt-2

यता नेकपाबाट पूर्व जनमुक्ति सेनाका कमान्डर तथा सुर्खेत ‘जेलब्रेक’का नेतृत्वकर्ता मल्लले आफू अहिलेसम्म कुनै पनि अन्य गतिविधिमा संलग्न नरहेको युवा भएकाले जनताले पनि सकारात्मक रूपमा लिएको बताए ।

‘म सानै उमेरमा समाज परिवर्तनका लागि युद्धमा हिँडेको हो, १० वर्षे जनयुद्धमा हाम्रै त्याग र संघर्षका कारण व्यवस्था बदलियो,’ उनले भने, ‘तथापि जनताको अवस्था भने बदलिएको छैन, हामी अवस्था बदल्न पुनः रूपान्तरित भएर आएका छौँ ।’ 

त्यसैले पनि उनले आफूलाई जनताले जिताउने विश्वास छ । साथै, मल्लले पश्चिम सुर्खेतमा यसअघि माओवादीको अगुवाइमा भएका विकासे गतिविधिलाई समेत चुनावी मुद्दा बनाएका छन् । ०७४ यता पश्चिम क्षेत्रबाट माओवादीका विन्दमान विष्ट प्रदेश सांसद हुँदै प्रदेशको अर्थमन्त्री बन्दा उक्त क्षेत्रमा भए गरेका विकासका कामलाई देखाइरहेका छन् । साथै, उनले हरेक स्थानीय तहमा आइटी कलेज, रणनीतिक सडक जस्ता कुराहरू आफ्नो प्रतिबद्धता पत्रमा राखेका छन् ।

यहाँ पूर्वमाओवादी कार्यकर्ताहरूले ८ वर्षदेखि आफ्ना उम्मेदवारलाई मतदान गर्न पाएका थिएनन् । ०७४ मा वाम गठबन्धन हुँदा एमालेका नवराज रावतलाई सहयोग गरेको माओवादीले ०७९ मा वाम—लोकतान्त्रिक गठबन्धन हुँदा कांग्रेसका हृदयराम थानीलाई सघायो । यी दुवैले चुनाव जिते । यो पटक आफ्नै उम्मेदवारलाई भोट हाल्न पाउँदा कार्यकर्ताहरू समेत उत्साहित भएको मल्ल बताउँछन् ।

कांग्रेसका कोइरालाले पनि चुनाव जित्ने दाबी गरे । ‘म यहाँका हरेक गाउँठाउँ बुझेको मान्छे हो, यहाँ भएका विकासका हरेक गतिविधिमा कांग्रेसको भूमिका महत्त्वपूर्ण नै छ,’ उनले भने, ‘अहिले कांग्रेस रूपान्तरण भएर आएको हुँदा हामी जित्नेमा ढुक्क छौँ ।’ 

Narayan koirala Congress skt-2

पूर्व पत्रकार समेत रहेका उनी सुर्खेतमा बौद्धिक र शालीन युवा नेताका रूपमा चिनिन्छन् । तर, उनले अहिले कांग्रेसभित्रैबाट पूर्ण समर्थन पाउँछन् वा पाउँदैनन् भन्ने विषयबारे चर्चा हुने गरेको छ । उनी विगतमा इतर पक्षधर नेता हुन् ।

यद्यपि कोइरालाले पार्टीभित्र कुनै समस्या नरहेको बताए । पुराना दलहरूले विगतमा पाएको जनमत र साङ्गठनिक अवस्थालाई आफ्नो चुनाव जित्ने आधार मानेका छन् । 

रास्वपा उम्मेदवार सापकोटा अहिले परिवर्तनको पक्षमा देखिएको जनलहरलाई आफ्नो चुनाव जित्ने आधार मान्छन् ।

उनी भन्छन्, ‘पुराना दलहरूले विश्वासै गरेका छैनन् कि भित्रभित्रै जनता परिवर्तनको पक्षमा जागिसकेका छन् ।’ 

Ramesh sapkota  RSP-skt -2 (1)

रास्वपा केन्द्रले कर्णालीमा सुर्खेत—२ लाई नै आफ्नो चुनाव जित्ने क्षेत्रका रूपमा राखेको छ । सोही कारण यसअघि बिहीबार वीरेन्द्रनगरको घण्टाघरमा आयोजित चुनावी सभामा रास्वपाले जबरजस्त शक्ति प्रदर्शन ग¥यो । ‘उक्त प्रदर्शनले पनि रास्वपा यो क्षेत्रमा चुनाव जित्नेमा उत्साहित भएको देखाउँछ,’ सापकोटा भन्छन् ।

सापकोटा पूर्व कांग्रेसी भएकाले सोही दलको मतलाई प्रभावित पार्ने आकलन गरिए पनि उनले भने सबै दलको भोट रास्वपालाई आउने दाबी गरे । साथै, विगतमा दलहरूले पाएको मतले अहिलेको चुनावी माहौलसँग मेल नखाने पनि बताए । 

०७९ मा यहाँ प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी २५ हजार ८६, कांग्रेसले २३ हजार १०, माओवादीले १० हजार ५९ र रास्वपाले ६ हजार १४६ मत पाएका छन् । तर प्रत्यक्षतर्फ माओवादीको समर्थनमा प्रतिनिधि सभा कांग्रेसका हृदयराम थानीले ३४ हजार ६२५ मतसहित चुनाव जितेका थिए । एमाले उम्मेदवार अमृत बिसीले २९ हजार ५५८ मत पाएका थिए । यस्तै रास्वपाका उम्मेदवारले ४ हजार ६०१ मत पाएका थिए ।

पुराना दलहरूले बाहिर रास्वपालाई चुनावी प्रतिस्पर्धी नै नमाने पनि भित्रभित्र भोट रास्वपातर्फ क्रस हुने चिन्तामा देखिन्छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप